फागुन १८ गतेदेखि पृथ्वी राजमार्ग बन्द गरी भीर काट्ने

डुम्रे- पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्ड विस्तार भइरहेको छ । उक्त सडकखण्ड चार लेन विस्तार गर्ने कार्यअन्तर्गत भीर काट्न रात्रि समयमा सडक अवरुद्ध गरिने भएको छ । मनसुन लागेपछि भीर कटान तथा सडक विस्तारमा समस्या हुनसक्ने सम्भाव्यतालाई मध्यनजर गरी राति यातायात बन्द गरी कार्य गरिने भएको हो ।

राजमार्गको विमलनगरदेखि घाँसीकुवासम्मको खण्डमा भीर कटान (ब्याक कटिङ) को कार्य छिटोछरितो गर्नका लागि मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डबाट अनुरोध भई आएबमोजिम सो निर्णय भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । उनका अनुसार फागुन १८ देखि २७ गतेसम्म राति पूर्ण रूपमा बन्द गरी काम गर्ने निर्णय भएको छ । 

दश दिन राति १२ बजेदेखि ४ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन दैनिक पूर्ण बन्द गरी काम गरिने प्रजिअ रिजालले बताए । 'मनसुन सुरु हुने बेला भएको छ, मनुसनलाई मध्यनजर गरी निर्माण कार्यलाई सहज, छिटोछरितो बनाउने उद्देश्यले यो निर्णय गरिएको हो,' उनले भने, 'यसले पछिल्ला दिनमा यस राजमार्गमार्फत आवतजावत गर्ने सवारीलाई सहज हुनेछ ।'

राजमार्गको विस्तारको काम सुस्त भएपछि यसबारे गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले प्रदेशसभामा कुरा उठाएका छन् । उनले कामको गति सुस्त रहेकाले समयमै सम्पन्न नहुने हुँदा कामको गति बढाउन प्रदेशसभामार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

यस खण्डमा नाली निर्माण, रिटेनिङ वाल निर्माण, भित्ता काट्ने र सडक फराकिलो बनाउने काम भइरहेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का प्रमुख इञ्जिनीयर नरेन्द्र सुवेदीले जानकारी दिए । विद्युतका खम्बा स्थानान्तरण नहुँदा काम सुस्त भएको सुवेदीले बताए । 

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिने छन् । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । 

सडक चौडा पार्ने क्रममा निस्किएका निर्माण सामग्रीमा स्थानीय तहबाट रोयल्टी माग भएको साथै निर्माण सामग्री ढुवानी गर्दा प्रत्येक स्थानीय तहलाई ढुवानी शुल्क तिर्नुपर्ने अवस्था रहँदा आयोजनाको काममा केही समय ढिलाइ भएको थियो । अहिले उक्त समस्या समाधान भएको बताइएको छ । 

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजार र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । 

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ ।

दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । रासस

सम्बन्धित समाचारहरू

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

काठमाडौं – नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई...

तपाईंले के गल्ती गर्नुभयो भने ५०० रुपैयाँ सम्म जरिवाना हुन्छ ? थाहा पाउनुहोस् कसुर

तपाईंले के गल्ती गर्नुभयो भने ५०० रुपैयाँ सम्म जरिवाना हुन्छ ? थाहा पाउनुहोस् कसुर

सडकमा सवारी चेकजाँचका क्रममा खटिएका ट्राफिक प्रहरीले तपाईबाट सडक संकेत...

कसरी थाहा पाउन सकिन्छ चोरी भएको चारपांग्रे सवारी साधन ? यस्ता छन् बच्ने उपाय

कसरी थाहा पाउन सकिन्छ चोरी भएको चारपांग्रे सवारी साधन ? यस्ता छन् बच्ने उपाय

छिमेकी देश भारतमा निर्मित विभिन्न सवारी साधनहरु भारतमै चोरी गरी अवैध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...