काठमाडौं – नेपाली बजारमा भित्रिए पश्चात पहिलो पटक हस्कभर्ना बाइकको मूल्यमा वृद्धि गरिएको छ । नेपालमा हस्कभर्ना बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले चैत १ देखि लागू हुने गरी यसका दुई मोडलको मूल्यमा वृद्धि गरेको हो ।
नेपाली बजारमा हस्कभर्ना भिटपिलेन २५० र स्भार्टपिलेन २५० गत असोज महिनामा औपचारिक रुपमा भित्रिएका थिए । यी दुवै बाइकको मूल्य ५ लाख ६९ हजार ९ सय रुपैयाँ भएकोमा अब २० हजार रुपैयाँ वृद्धि भएको छ । यी बाइकको मूल्य अब ५ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीको भनाइ छ ।
हस्कभर्ना स्भार्टपिलेन र भिटपिलेनसँग अद्वितीय स्विडेनी डिजाइन छ, जुन अन्डरस्टेटेड, मिनीमलिष्ट, एलीगेन्ट भएको कारणले अन्य प्रिमियम मोटरसाइकल सेग्मेन्टको मोटरसाइकलभन्दा अत्यन्त भिन्न भएको कम्पनीको भनाइ छ ।
स्भार्टपिलेन २५० मा रग्ड डिजाइनको अपराइट स्ट्यान्स हुनुको साथै यो डुअल पर्पज टायरको साथ आउँछ । यो अन र अफ–रोड दुवै यात्राहरूको लागि उपयुक्त छ । भिटपिलेन २५० मा स्पोर्टी डिजाइन, क्लिप भएको ह्याण्डलबार र फ्रन्ट लीन राइडिङ पोजिसन छ ।
२५० सीसीले फ्युल इन्जेक्टेड, लिक्विड कुल्ड सिंगल सिलिन्डर, ४–स्ट्रोक डीओएचसी इन्जिन सुविधा प्रदान गर्दछ, जसले उच्च गतिमा इन्जिन रिफाइनमेन्टको उच्च स्तरमा पन्ची टर्क उत्पादन गर्दछ ।