नेपाललाई दुई वटा बेलिब्रिजका सामग्री हस्तान्तरण
काठमाडौं – चीनको सिजाङ स्वायत्त क्षेत्रले बाढी तथा पहिरो प्रभावित...
सडक यात्रा आधुनिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ । तर यात्राका क्रममा नचाहँदा नचाहँदै पनि कहिलेकाहीँ बिबिध कारणले सवारी दुर्घटना हुन पुग्छ । दुर्घटनापछि उत्पन्न हुने मानसिक तनावका बीच धेरै चालकबाट एउटा गम्भीर गल्ती हुने गर्छ-घटनाबारे तत्काल प्रहरीलाई जानकारी नदिनु ।
सवारी साधनमा सामान्य क्षति भएको देखिएपछि “सामान्य कोतरिएको वा अलिकति ठोकिएको त हो, पछि हेरौँला” भनेर धेरै चालक दुर्घटनास्थलबाट प्रहरीलाई खबर नगरी वा जानकारी नगराई सवारी लिएर हिँड्ने गर्छन् । तर, पछि सवारी साधन मर्मतका लागि वर्कसप पुर्याउँदा ठूलो रकमको बिल आउने देखेपछि मात्र उनीहरू आफूले गरेको सवारी बीमाको सम्झना गर्छन् र बीमा दाबीका लागि सम्बन्धित कार्यालय धाउन थाल्छन् ।
बीमा दाबीको प्रक्रिया अगाडि बढाउने क्रममा सम्बन्धित बीमा कम्पनीले आवश्यक कागजातमध्ये प्रहरी दुर्घटना सिफारिस पत्र वा प्रहरी प्रतिवेदन माग गर्छ । दुर्घटना भएको समयमा प्रहरीलाई जानकारी नगराई लामो समयपछि मात्र प्रहरी कार्यालय पुग्दा घटनाको तत्कालीन आधिकारिक अभिलेख नहुन सक्छ । त्यस अवस्थामा दुर्घटना भएको पुष्टि, घटनाको विवरण तथा क्षतिको वास्तविक अवस्था यकिन गरी आवश्यक प्रक्रिया अघि बढाउन प्रहरीलाई समेत कठिनाइ हुन सक्छ ।
त्यसैले दुर्घटना हुनेबित्तिकै प्रहरीलाई खबर गर्नु बीमा दाबी सहज बनाउन मात्र होइन, कानुनी सुरक्षा र घटनाको सही अभिलेखका लागि पनि अत्यन्त आवश्यक छ । यात्राका क्रममा दुर्घटना भइहालेमा अपनाउनुहोस् यी ५ कानुनी तथा सुरक्षासम्बन्धी सावधानी :-
१. हटलाइन नम्बर १०० वा १०३ मा तुरुन्त सूचना दिने
दुर्घटना हुनासाथ सबैभन्दा पहिले आफू र सवारीमा सवार यात्रुहरूको स्वास्थ्य अवस्था जाँच गर्नुहोस् । कसैलाई चोटपटक लागेको छ भने तत्काल उद्धार तथा उपचारको व्यवस्था गर्नुहोस् । त्यसलगत्तै प्रहरीको हटलाइन नम्बर १०० वा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा फोन गरी दुर्घटनाको स्थान, समय, सवारी साधनको अवस्था र सम्भावित घाइतेबारे स्पष्ट जानकारी दिनुहोस् । यसले घटनाको समयमै प्रहरी अभिलेख कायम गर्न सहयोग पुर्याउँछ ।
२. दुर्घटनास्थल र सवारीको प्रमाण सुरक्षित राख्ने
सम्भव भएसम्म सवारी साधनलाई सुरक्षित स्थानमा पन्छाउनुअघि दुर्घटनाग्रस्त अवस्था, सवारी साधनको क्षति, सडकको अवस्था तथा घटनास्थलका आवश्यक दृश्यहरू फोटो तथा भिडियोमार्फत सुरक्षित राख्नुहोस् । यसले घटनाको वास्तविक अवस्था बुझ्न प्रहरीको अनुसन्धान तथा बीमा सर्भेक्षणमा सहयोग पुर्याउन सक्छ ।
३. नजिकैको प्रहरी इकाईमा घटना टिपोट गराउने
दुर्घटना सामान्य प्रकृतिको छ र प्रहरी टोली तत्काल घटनास्थलमा पुग्न नसक्ने अवस्था छ भने, प्रहरीको निर्देशनअनुसार नजिकैको प्रहरी चौकी, प्रहरी इकाई वा ट्राफिक प्रहरी कार्यालयमा पुगेर घटनाबारे लिखित वा मौखिक जानकारी गराउनुहोस् । घटनाको आवश्यक अभिलेख कायम भएपछि भविष्यमा प्रहरी सिफारिस लिनुपर्ने अवस्थामा प्रक्रिया सहज हुन्छ ।
४. बीमा कम्पनीलाई तत्काल जानकारी गराउने
दुर्घटनापछि प्रहरीलाई जानकारी गराएलगत्तै आफ्नो बीमा कम्पनीको हटलाइन, सम्बन्धित कार्यालय वा अधिकृत प्रतिनिधिलाई पनि घटनाबारे जानकारी गराउनुहोस् । समयमै जानकारी दिँदा बीमा दाबीसम्बन्धी आवश्यक प्रक्रिया, कागजात र सर्भेक्षणबारे सही जानकारी प्राप्त गर्न सकिन्छ ।
५. आवश्यक प्रारम्भिक प्रक्रिया र सर्भेक्षणअघि मर्मत सुरु नगर्ने
सम्भव भएसम्म प्रहरीको प्रारम्भिक प्रक्रिया तथा बीमा कम्पनीको सर्भेक्षण पूरा हुनुअघि सवारी साधनको क्षतिग्रस्त भाग मर्मत गर्न हतार नगर्नुहोस् । बीमा कम्पनीको प्रक्रिया, सर्भेयरको निरीक्षण तथा आवश्यक स्वीकृतिबारे पहिले जानकारी लिनुहोस् । प्रक्रिया पूरा नगरी गरिएको मर्मतका कारण वास्तविक क्षति मूल्याङ्कनमा समस्या आउन सक्छ र बीमा दाबी प्रक्रियामा समेत असर पर्न सक्छ ।
सडकमा दुर्घटना हुनु आफैँमा एउटा अप्रत्याशित र तनावपूर्ण क्षण हो । तर त्यस्तो अवस्थामा देखाइएको सानो सचेतना र जिम्मेवार व्यवहारले पछि हुन सक्ने ठूलो आर्थिक क्षति, प्रमाणसम्बन्धी समस्या तथा कानुनी झन्झटबाट बच्न सहयोग गर्न सक्छ । त्यसैले सामान्य क्षति त हो नि भनेर दुर्घटनालाई बेवास्ता नगरौँ । दुर्घटना हुनासाथ प्रहरीलाई खबर गरौँ ।
ट्राफिक नियम जानौं पनि, मानौं पनि ।
प्रहरी वरिष्ठ नायव निरीक्षक
जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...