काठमाडौं - नेपाल आयल निगमले मंगलबार पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गरेको छ ।
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु ११८ पुगेको छ भने डिजेल, मट्टीतेल प्रतिलिटर रु १०१ पुगेको छ । यस्तै हवाई इन्धन आन्तरिकको साविक मूल्यमा रु दुईले वृद्धि हुँदा प्रतिलिटर रु ७४ पुगेको छ । खान पकाउने एलपी ग्यास तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको छ ।
मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा नौ रुपैयाँ ३५ पैसा, डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ ८० पैसा तथा खाना पकाउने एलपी ग्याासमा प्रतिसिलिण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रहेको छ । त्यसआधारमा अर्धमासिक रुपमा निगमलाई रु एक अर्ब २७ करोड ७० लाख बराबरको घाटा रहेको दाबी गरिएको छ ।