नेटा भीको मूल्यलाई लिएर सामाजिक सञ्जालमा चर्को विरोध, के उपभोक्ता सचेत भएकै हुन् त ?

केहि दिन अघिमात्र नेपाल भित्रिएको चाइनिज इलेक्ट्रिक कार नेटा भीको मूल्यलाई लिएर सामाजिक सञ्जालमा चर्को विरोध भैरहेको छ । यो कार नेपाल आउने चर्चा शुरु भएसँगैै ईभी पारखीको ध्यान मूल्यमै केन्द्रित बनिरहेको थियो । सोही क्रममा आधिकारिक वितरक सीजी मोटर्सले २२ गते गाडी सार्वजनिक गर्दै यसको मूल्य समेत औपचारिक रुपमा वाहिर ल्यायो ।

३७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको यो कार धेरै नै महंगो भएको भन्दै लगत्तै सामाजिक सञ्जालमा वहस चर्किन थाल्यो । अहिले पनि १४ हजार ७ सय भन्दा बढी सदस्य रहेको ईभी पारखीहरुको समाजिक सञ्जाल ग्रुप इलेक्ट्रिक भेइकल ग्रुप–नेपालमा व्यापक असन्तुष्टि व्यक्त भैरहेका छन् । यसरी असन्तुष्टि जनाउनेहरुले यो कारमा सीजी मोटर्सले अत्यधिक नाफा राखेर उपभोक्ताको ढाड सेकेको बताउँदै आइरहेका छन् भने कतिपयले त मूल्य नसच्याएसम्म यो कारलाई वहिस्कार नै गर्नुपर्ने सम्मको आवाज उठाएका छन् ।

चीनमा यो कार खरिद गर्दा भुक्तानी गर्नुपर्ने मूल्यलाई आधार बनाएर नेपालमा अनुमानित मूल्य निर्धारण गरेका उक्त ग्रुपमा आवद्ध सदस्यहरुले ३८ लाख रुपैयाँ कुनै पनि हिसावले मनासिव नदेखिएको दावी गर्दै आइरहेका छन् । चीनमा यो कारको मूल्य १२ हजार डलर आसपास रहेको र उक्त मूल्यमा कर लगायत अन्य शुल्क जोडर आउने रकममा बिक्रेता कम्पनीले २० प्रतिशत नाफा राख्दा पनि यो कारको मूल्य ३५ लाख भन्दा बढी पर्न नहुने उनीहरुको भनाइ छ ।

के उपभोक्ता सचेत भएकै हुन् त ?

हरेक हप्ताजसो कुनै न कुनै ब्रान्डको गाडी अर्थात मोटरसाइकल सार्वजनिक भैरहने नेपाली अटो बजारमा यसअघि पनि मूल्यलाई लिएर चासो व्यक्त हुँदै आइरहेका थिए । नेपाल आउने अधिकांश सवारीसाधन भारतबाट भित्रिने हुँदा त्यहाँको बजारमा बिक्री भएको मूल्यलाई लिएर नेपालमा किन महंगो भयो भन्ने सामान्य चासो व्यक्त हुँदै आएपनि यो स्तरको विरोध र असन्तुष्टि यसअघि सायदै भएको थियो ।

उपभोक्ताबाट निरन्तर विरोध र असन्तुष्टि बढ्दै जान थालेपछि कम्पनीले बाध्य भएर स्पष्टिकरण समेत दिनु परेको छ । उक्त कम्पनीका प्रवन्ध निर्देशक निर्वाण चौधरी र चीनस्थित होजोन मोटर्सका प्रतिनिधिको संयुक्त हस्ताक्षर सहित सार्वजनिक गरिएको सो विज्ञप्तिले विभिन्न कारण खुलाउँदै सो मूल्यलाई जायज ठहराउने कोशिस गरेका छन् ।

विज्ञप्तिमा भनिए अनुसार चीनमा यस्ता गाडी खरिद गर्दा राज्यले अनुदान र सहुलियत प्रदान गर्ने हुँदा सस्तो भएपनि निर्यातमा उक्त अनुदान नरहेको कारण यसको खरिद मूल्य नै महंगो पर्नेछ । जसका कारण चाइनिज बजारमा बिक्री हुँदै आएको मूल्यलाई आधार मानेर नेपाली बजारमा पर्नसक्ने सम्भावित मूल्यको आँकलन गरिनु कुनैपनि कोणबाट उपयुक्त नठहरिने उल्लेख छ । हाल बजारमा कारोबार भैरहेका यही रेन्जका अन्य गाडीको तुलनामा आफूहरुले झनै सस्तो मूल्यमा नेटा भी उपलब्ध गराएको समेत उनीहरुले दावी गरेका छन् ।

कम्पनीले यसरी विज्ञप्ति जारी गरेको केही समय लगत्तै उक्त गाडी आयात हुँदा लाग्ने सम्पूर्ण खर्चको विवरण संलग्न यसको प्रज्ञापन पत्र समेत वाहिरिएको थियो । उक्त पत्र अनुसार यो गाडी ३० लाख हाराहारीमा नेपाल भित्रिएको देखिन्छ । उक्त मूल्यमा अधिकतम २० प्रतिशत नाफा राख्दा पनि ३६ लाख माथि पर्न नहुने भन्दै विरोध भैरहेको छ । यद्यपि उक्त पत्र सार्वजनिक भएपछि विरोधको स्वरुप भने केही लचिलो भएको प्रष्ट हुन्छ ।

यसरी कुनैपनि ब्रान्डको नयाँ गाडी नेपाल आउँदा यो स्तरको विरोध र असन्तुष्टि यसअघि कहिल्यै पनि नभएको बताउँदै एकजना अटोमोबाइल व्यवसायीले नेपाल अटोसँगै भने, ‘सायद बजेटमै गरिएको विभेदको विरोध स्वरुप पनि होला यसपाली नेटा भीको मूल्य एकदमै विवादास्पद वन्न पुग्यो । मूल्यमा भएको विरोधलाई सम्वोधन गर्न यसअघि कुनैपनि कम्पनीले विज्ञप्ति निकालेको थाहा थिएन । तर यसपाली यो गाडीलाई वहिष्कार नै गर्ने सम्मको चुनौती थप भएपछि कम्पनीले बाध्य भएर त्यसको खण्डन गर्नु प¥यो ।’

हालै सार्वजनिक गरिएको बजेट पश्चात यो गाडी नेपाली बजारमा औपचारिक रुपमा सार्वजनिक भएको र बजेटमार्फत यो भन्दा बढी क्षमताका गाडीहरुको मूल्य वृद्धि हुने भएको छ । तर नेटा भी र यस्तै क्षमता भएका सवारी साधनका लागि भने पहिलेकै संरचना अनुसारको कर कायम गरिएको छ । यसले गर्दा धेरै ग्राहकले यो गाडी आफूले सोचे अनुसारको मूल्यमा उपलब्ध हुने आशा गरेका थिए । तर सोचे भन्दा बढी मूल्य कायम भएकाले पनि असन्तुष्टि चुलिएको हुन सक्छ ।

नेपालमा ईभीको बजारले बिस्तारै गति लिन थालेको र यस्ता गाडी खरिद गर्ने ग्राहकहरु विल्कुलै नयाँ पुस्ता र सुझवुझपूर्ण विश्लेषण गर्न सक्ने भएका कारण पनि नेटा भी मारमा परेको अर्का एक व्यवसायीको ठम्याई छ । ‘कम्वस्चन इन्जिन भएका गाडीमा २५० प्रतिशतभन्दा बढी कर लाग्ने कारण यी गाडी यसै महंगो पर्ने उपभोक्ताको बुझाई छ । तर नेटा भीमा जम्मा १० प्रतिशतमात्र भन्सार, १३ प्रतिशत भ्याट र थोरैमात्र अन्य शुल्क लाग्ने हुँदा ग्राहकले यो गाडी सस्तो हुनुपर्छ भन्ने बुझाई बनाएको प्रष्ट देखिन्छ । उनीहरुको बुझाई भन्दा निकै ठूलो अन्तरले मूल्य कायम गरिएपछि विरोध भएको हुनसक्छ’ उनले भने ।

यो घटनाले नेपालमा गाडी खरिद गर्ने ग्राहकहरु मूल्यको सन्दर्भमा सचेत भन्दै गएको र भोलीका दिनमा नयाँ ईभी लगायत अन्य कुनैपनि प्रकारका प्यासेन्जर कार अर्थात वाइक आयात गर्न गैरहेका व्यवसायीलाई समेत सचेत बनाएको अर्थमा लिनुपर्ने उनको वुझाई छ ।

सम्बन्धित समाचारहरू

बजारमा चाइनिज ब्रान्डका ईभी, नयाँलाई स्वागत पुरानालाई कर बढाएर कसिकसाउँ

बजारमा चाइनिज ब्रान्डका ईभी, नयाँलाई स्वागत पुरानालाई कर बढाएर कसिकसाउँ

विश्वको सबैभन्दा ठूलो इलेक्ट्रिक भेइकल अर्थात ईभी उत्पादक राष्ट्र चीन...

ब्रान्ड न्यू डिजाइनमा आयो हुन्डाई कोना, फिचरमा पनि व्यापक परिमार्जन

ब्रान्ड न्यू डिजाइनमा आयो हुन्डाई कोना, फिचरमा पनि व्यापक परिमार्जन

हुन्डाई मोटर्सले आफ्नो लोकप्रिय इभी कोनाको नयाँ जेनेरशेन सार्वजनिक गरेको...

रोबोट्याक्सी सेवा बन्द गर्ने योजनामा जनरल मोटर्स

रोबोट्याक्सी सेवा बन्द गर्ने योजनामा जनरल मोटर्स

अमेरिकी अटोमोबाइल निर्माता कम्पनी जनरल मोटर्स (जीएम) ले आफ्नो क्रुज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...