आज देखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डमा आज देखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडकखण्डमा पर्ने पुलको निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले सवारी रोक्न लागिएको हो । 

एक महिनाका लागि सडक रोकेर काम गर्न लागिएको हो । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार नारायणगढतर्फबाट जाने यात्रुबाहक बस, मिनिबस, माइक्रो बस, साना सवारीसाधनलाई पन्ध्र किलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्न लागिएको हो । मालवाहक ट्रक, लरी, ट्रेलर, टिपर, ट्याङ्करलगायत भारी सवारीसाधनलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः५० बजेदेखि रोकिने छ ।

काठमाडौँतर्फबाट आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुबाहक सवारीसाधनलाई बेनीटारदेखि पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने छ । काठमाडौँतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोकिने छ ।

बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोड्ने छ । पोखरा–काठमाडौँ सञ्चालन हुने सवारीलाई सहज सञ्चालका लागि ट्राफिक कार्यालयले समन्वय गर्नेछ । निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायीले पर्याप्त साधनस्रोत र जनशक्ति परिचालन गर्नेछन् । सडकखण्डको ठाउँठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा २० पुल रहेका छन् । तीमध्ये पाँच पुल बनिसकेका छन् । बाँकी पुल बन्ने चरणमा रहेका छन् । आगामी असारसम्ममा १० पुल निर्माण सक्ने गरी कामअघि बढाइएको नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । विसं २०७६ चैत १० गते ३३ महिनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । यही पुस ९ गते सम्झौताको अवधि सकिँदै छ ।
 
विश्व बैंकको ऋण सहयोगमा पुल निर्माण गर्न लागिएको हो । असारसम्ममा १३ पुल सम्पन्न गर्ने गरी काम भइरहेको उनले बताए । तीमध्ये सेती दोभान, डुम्रे, तोपे, लामो बालुवा र खहरे दुई वटा पुल तीन महिनाभित्रमा सम्पन्न हुने कार्कीको भनाइ छ ।
 
तुइन र जुगेडी पुललाई थप केही समय लाग्ने उनले जानकारी दिए । सो सडक विस्तारको कामसँगै साँघुरा पुल भएका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो । हाल सो सडक नौदेखि ११ मिटर फराकिलो छ । ती पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् । प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोल गरी आठ पुल छन् ।
 
प्याकेज–१ को कूल ठेक्का रकम रु ६७ करोड ९९ लाख छ । दोस्रो प्याकेजको कूल ठेक्का रकम ५९ करोड पाँच लाख छ । विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो । दुवै ठेक्काको काम अनक कन्स्ट्रक्सनले गरिरहेको छ । पुलको गाडी हिँड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो हुनेछ । दुवैपट्टि एक दशमलव पाँच मिटर फराकिलो फुटपाथ र २५ सेन्टिमिटर रेलिङका लागि छुट्याइएको छ । पुल बनाउने ठाउँमा ठाडो कडा पहाड काट्नुपर्ने भएकाले सडक बन्द गरेर काम गर्नुपरेको कार्कीले बताए ।

सम्बन्धित समाचारहरू

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण, केक काटेर खुसी साटे

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण, केक काटेर खुसी साटे

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा...

आज निर्वाचन : यात्रु सुविधाका लागि पर्यटन बोर्डको निःशुल्क सटल बस

आज निर्वाचन : यात्रु सुविधाका लागि पर्यटन बोर्डको निःशुल्क सटल बस

काठमाडौं – निर्वाचनका दिन यात्रुहरूको आवागमन सहज बनाउन नेपाल पर्यटन...

नयाँ वर्ष २०८१ मा यसरी बनौ सडक सुरक्षाप्रति प्रतिबद्ध

नयाँ वर्ष २०८१ मा यसरी बनौ सडक सुरक्षाप्रति प्रतिबद्ध

नयाँ वर्षको पहिलो दिन मीठो खाएमा वा राम्रो ठाउँ घुमेमा वर्षभरको अवधि पनि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...