कर्जा, कर र भन्सारमा छुट दिनु सकारात्मक कदम : नाडा

काठमाडौँ–भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट थलिएको उद्योग, व्यापार तथा व्यवसायलाई पुनः जीवन दिन नेपाल सरकारले घोषणा गरेको पुनरुत्थान प्याकेजप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले पूर्ण समर्थन र स्वागत व्यक्त गरेको छ ।

सरकारले बिहीबार बाढी प्रभावित निजी क्षेत्रलाई लक्षित गर्दै भन्सार तथा कर छुट, कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण, ब्याज सहुलियत, थप कर्जा सुविधा र बीमा दाबी भुक्तानीलाई सहज बनाउने एकीकृत निर्णय गरेको थियो ।

विपद्को यस कठिन घडीमा थलिएका व्यवसायलाई तत्काल राहत दिँदै पुनः सञ्चालनको वातावरण बनाउन सरकारले लिएको यो कदम अत्यन्त सकारात्मक रहेको नाडाको ठहर छ ।

विशेषगरी बाढीका कारण पूर्ण रूपमा क्षति पुगेका वा बगाएर हराएका व्यावसायिक तथा ढुवानीका साधनको दर्ता खारेज गरी सोही प्रकृतिका नयाँ साधन आयात गर्दा भन्सार महसुल छुट दिने निर्णयले अटोमोबाइल तथा ढुवानी व्यवसायीलाई ठूलो राहत पुग्ने नाडाले जनाएको छ ।

यसका साथै क्षतिग्रस्त मेशिनरी तथा उपकरण पुनः आयातमा दिइएको सहुलियतले उद्योगहरूको शीघ्र पुनःस्थापनामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ । बाढी प्रभावित ऋणीहरूका लागि कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण र ब्याजदरमा सहुलियत दिने निर्णयले उद्योगी–व्यवसायीमाथि परेको तत्कालको वित्तीय चापलाई उल्लेख्य रूपमा कम गर्नेछ ।

साथै, क्षतिग्रस्त सवारी साधन तथा उपकरण पुनः खरिदका लागि थप कर्जा उपलब्ध गराउने व्यवस्थाले रोकिएका व्यावसायिक गतिविधिहरूलाई पुनः निरन्तरता दिन मद्दत पुग्ने नाडाको निष्कर्ष छ ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपद्पछि निजी क्षेत्रलाई पुनः उठाउन सरकारले कर, भन्सार, कर्जा, ब्याज र बीमालाई एकसाथ एकीकृत रूपमा सम्बोधन गर्नु अत्यन्तै सराहनीय कदम भएको र यसले प्रभावित व्यवसायीलाई पुनः आफ्नै खुट्टामा उभिन बलियो आधार प्रदान गर्ने बताए ।

नाडाले सरकारको यो राहत निर्णयलाई ढिलाइ नगरी, सरल र प्रभावकारी ढङ्गले तल्लो तहसम्म कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायहरूसँग जोडदार माग गरेको छ । साथै, बाढीबाट भएको वास्तविक क्षतिको विस्तृत अध्ययन गरी आवश्यकताअनुसार प्रभावित क्षेत्रका लागि दोस्रो चरणको पुनरुत्थान प्याकेज समेत ल्याउन नाडाले सरकारको ध्यानाकर्षण गराएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...