विभिन्न मन्त्रालयमा नाडा र सियामका संयुक्त प्रतिनिधिको भेटघाट तथा छलफल
काठमाडौं – नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको एक...
अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौंमा १७औँ संस्करणको नाडा अटो शो आयोजना गर्दैछ । नाडा गठन भएको ५० वर्ष पुरा भएको अवसरसमेत परेका कारण यसपटकको नाडा अटो शोलाई भव्य र सभ्य बनाउन हरसम्भव प्रयास गरिएको नाडा अध्यक्ष करण चौधरी बताउँछन् । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन हुने अटो शोमा १० वर्षपछि प्रयोगमा आउने प्रविधिलाई अहिले नै सोकेस गर्न लागिएको उनको भनाइ छ ।
प्रस्तुत छ अध्यक्ष चौधरीसँग गरिएको कुराकानीको सारसंक्षेप :
नाडा गठन भएको ५० वर्ष पुरा भएको अवसरमा १७औँ संस्करणको अटो शो आयोजना गर्दै हुनुहुन्छ, तयारी कस्तो छ ?
अटो शो यसपटक अलि भिन्न भएकाले हाम्रो तयारी समेत भिन्न तवरबाटै भइरहेको छ । हाम्रो प्रयास तीव्र छ । योजनाहरु वनिसकेका छन् र त्यसलाई पुरा गर्ने अन्तिम तयारीमा छौ । सहभागीहरुले स्टल बनाउन थालिसकेका छन् । नाडा गठन भएको ५० वर्ष पुरा भएको अवसरमा यसपटक सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले एक्सपोको उद्घाटन गर्नुहुनेछ ।
यसअघिका १६ वटा संस्करण सम्पन्न भैसकेको र हरेक संस्करणमा केही न केही नयाँ हुँदै आएकोमा यसपटक हामीले धेरै कुरामा नयाँपन दिनेगरी काम गरिरहेका छौ ।
अटो शोमा खास नयाँ के हुनेछ ?
आउँदो दशकलाई प्रेरित गर्नेगरी हामीले नाडा अटो शोमा प्रविधिलाई उच्च प्राथमिकताका साथ सोकेस गर्दैछौ । नाडा अटो शोलाई व्यावसायिक थलोका रुपमा मात्र नभई नयाँ प्रविधि र भविष्यको मोबिलिटीका बारेमा अहिले नै झल्को दिनेगरी आयोजना गर्न लागेका हौँ । जसअन्तर्गत, हामीले यसपटक रोबोट र फ्लाइङ ट्याक्सी देखाउन लागेका छौ । भिन्टेज कारका लागि विशेष स्टल छुट्याएका छौँ ।
अटो शोलाई कति जनाले अवलोकन गर्ने र कति सवारीसाधनको कारोबार हुने अपेक्षा राख्नु भएको छ ?
यसपटक मैले सवारीसाधनको बुकिङ लक्ष्य निर्धारण गर्ने जिम्मेवारी मेलामा सहभागी व्यवसायी साथीहरुमा नै छाडिदिएको छु । अहिले सवारीसाधनमा कट थ्रोट कम्पिटिसन छ । साना साना कम्पनीले पनि धेरै सवारीसाधन बिक्री गर्ने महत्वकांक्षा राख्न थालेका छन् । हाम्रो जिम्मेवारी भनेको अवलोकनकर्तालाई मेलास्थल सम्म ल्याइदिने हो । अघिल्लो वर्ष ८६ हजारले मेला अवलोकन गरेकोमा यसपटक त्यसलाई बढाएर १ लाख पु¥याउने लक्ष्य छ । अहिलेको परिस्थिति र माहोल हेर्दा दर्शकको उपस्थिति १ लाख सजिलै नाघ्ने देखिन्छ ।

नाडा अटो शोमा सवारीसाधनसँगै कम्पोनेन्टमा आवद्ध व्यवसायी समेत सहभागी हुँदै आएका छन् । सबैलाई समेट्ने गरी मेला स्थललाई व्यवस्थित चाहिं कसरी गर्नु भएको छ ?
नाडा एक बृहत संस्था हो । यस संस्थामा टु ह्विलर देखि स्पेयर पार्ट्स बिक्री गर्ने व्यवसायी समेत आवद्ध हुनुहुन्छ । त्यसैले हाम्रो प्राथमिकता सबैलाई बरावर नै हुन्छ । सबैलाई समेट्नुपर्ने हुन्छ । सवारीसाधनको ब्रान्ड धेरै भएको र सबैले सहभागी हुने इच्छा राख्ने कारण सकेसम्म सबैलाई समेट्नुपर्ने हुन्छ । अहिले ईभीको ब्रान्डमात्रै ५३ वटा छन् । पूर्वाधार अभावका कारण सबै ब्रान्डका सवारीसाधनलाई समेट्न समस्या परे पनि कम्पोनेन्ट्सलाई प्राथमिकता साथ सहभागी गराएका छौ । मेलामा १ रुपैयाँको सानो कम्पोनेन्टदेखि करोडौं मूल्य पर्ने सवारी साधनलाई एकै छानामुनि अवलोकन गर्न सकिन्छ । यसमा हामी गौरवसमेत गर्दछौ ।
स्टलको भाडा महंगो भयो भनेर गुनासो गर्ने व्यवसायीलाई के भन्नुहुन्छ ?
तपाईँले भन्नुभएको गुनासो मैले पनि सुन्दै आएको हुँ । तर गुनासो गर्ने साथीहरुले सबैभन्दा पहिले तथ्यांकलाई पनि हेर्नुपर्ने हुन्छ । यस विषयमा गुनासो गर्ने केही साथीहरुलाई मैले आँकडासहित कन्भिन्स समेत गरेको छु । पछि उहाँहरुले १६ प्रतिशतसम्म सस्तो रहेछ भनेर भन्नुभएको छ । नाडामा आबद्ध व्यवसायीको हकहित र संरक्षणका क्षेत्रमा काम गर्ने संस्था भएका कारण हामीले उहाँहरुलाई मर्कामा पार्ने भन्ने कुरा नै हुँदैन ।
सवारी कर्जामा केही खुकुलो नीति ल्याइदिन नाडाले राष्ट्र बैंकसँग आग्रह गर्दै आएको थियो । तर यस पटकको मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई खासै महत्व दिएन, यस विषयमा के भन्नुहुन्छ ?
हो, हामीले यस विषयमा राष्ट्र बैंक समक्ष केही आग्रह गरेका थियौँ तर नयाँ गर्भनरले हाम्रो मागलाई सम्वोधन गर्न चाहनु भएन । उहाँको प्राथमिकतामा अटोमोबाइल क्षेत्र नपरेको प्रष्टै देखियो । तरपनि, हामी आशाबादी छौ कि अब आउने समीक्षाहरुमा हामीले उठाएका मागहरु सम्बोधन हुनेछन् ।

अटोमोबाइल हाम्रो देशको अर्थतन्त्रका लागि मेरुदण्ड नै हो । यस क्षेत्रको विकासविना अन्य क्षेत्रले गति लिन सक्दैन । मोबिलिटीको विकास वेगर देशको अर्थतन्त्रले गति लिन सक्दैन भन्ने विषयमा सम्पूर्ण सरोकारवाला निकायहरु सचेत बन्नुपर्छ ।
हाइब्रिड कारमा कर घटाउनुपर्छ भन्ने विषयमा नाडाले निरन्तर अवाज उठाउँदै आएको थियो । तर, यसपटकको बजेटले यस विषयमा समेत कुनै सम्वोधन गरेन, के अटो व्यवसायीको माग सरकारले सुन्न छाडेको हो ?
हाम्रा केही मागहरु सम्बोधन नभएपनि नाडाले यसपटकको बजेटलाई निकै ठूलो हर्षोल्लासका साथ स्वागत गरेको छ । अटोमोबाइल क्षेत्रलाई यसअघिका हरेक बजेटमा कुन न कुनै रुपमा चलाइने गरेकोमा यसपटक पुरानै नीतिलाई निरन्तरता दिइएको छ । यसले अब सरकारले यस क्षेत्रलाई नीतिगत स्थिरताका हिसावले हेर्न खोजेको हो कि भन्ने आशा जगाएको छ । सरकारको आफ्नै बाध्यताका कारण पनि हाम्रा सम्पूर्ण मागहरु समेटिन गाह्रो थियो । यसका वावजुद सरकारले हाम्रा धेरै मागलाई सम्बोधन गरेको छ ।
सवारीसाधनको आयातलाई कडाई गर्ने विषयमा सरकारले कडा मापदण्ड सहितको निर्देशिका तयार पारिरहेको छ, यस विषयमा के भन्नुहुन्छ ?
नाडा यातायातको एक अभिन्न अंग हो । सवारीसाधन आयातलाई कडाई गर्ने विषयमा निर्देशिका बन्दै छ भनेर हामीसँग पनि सुझाव मागिएको थियो । हामीले आफ्नो तर्फबाट धेरै कुरा राखेका छौँ । लागु गर्ने विषय सरकारको हो । सरकारले निकै गहिरो अध्ययन गरेर बनाएको यस मापदण्ड लागु हुँदा उपभोक्ता, आयातकर्ता र सरकार तीनवटै पक्ष खुशी हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
नाडा अटो शोमा सुजुकीले आफ्नो पहिलो विद्युतीय मोडल ई–भिटारा लन्च गर्दैछ, यस गाडीबाट कस्तो अपेक्षा राख्नु भएको छ ?
नाडा अटो शोमा बढी नै व्यस्त भएका कारण मैले आफ्नो व्यवसाय हेर्न नै पाइरहेको छैन । त्यसैले यस विषयमा धेरै भन्न सक्दिन । जे होस नेपालमा विद्युतीय गाडीको आयात बढिरहेको छ । सबै ब्रान्डको फोकस ईभीमै छ । सकारले पनि ईभीलाई राम्रैसँग सपोर्ट गरेको छ । यसको लाभ सुजुकी ई–भिटाराले पनि पाउने नै छ ।
काठमाडौं – नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको एक...
काठमाडौं–नाडा आटोमोवाइल एसोसिएसन नेपाल (नाडा)ले भोली (पुष ९ गते)का लागि तय...
काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अन्तर्गत गठीत सीप विकास...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...