नाडाको निर्वाचन आज : सक्षम नेतृत्व चयनको अपेक्षा

नाडा अटोमोबाइल्स एसोसिएसनको ४५औं वार्षिक साधारण सभा प्रारम्भ भएको छ । अर्थमन्त्री जनार्दन शर्माले हिजो साधारण सभा उद्घाटन गर्दै स्वदेशमै गाडीको उत्पादन गर्न अटोमोबाइल ब्यावसायीहरुलाई आग्रह गरेका छन् । साधारण सभालाई सम्बोधन गर्दै उनले अब नेपालमै गाडी उत्पादन थाल्नुपर्ने समय आएको र त्यसका लागि सरकारले सकेको सहयोग गर्ने बताएका हुन् । गाडीको आयातबाट राजस्वमा योगदान गरेको भनेर व्यवसायीले गर्ब गर्नु भन्दा पनि कसरी हुन्छ आयात घटाउन लागिपर्नु पर्ने बताए ।

हिजो प्रारम्भ भएको अधिवेशनको विशेष रौनक आज हुनेछ । आज नयाँ कार्यसमितिको निर्वाचन समेत हुनेछ । यसका लागि करण चौधरी र ध्रुव थापाले अध्यक्षसहित आफ्नो छुट्टाछुट्टै प्यानल घोषणा गरेका छन् । निर्वाचनमार्फत १ जना अध्यक्ष र १७ जना सदस्य चुनिने छन् । विजेता सदस्यहरुबाटै फेरि पदाधिकारी चयन हुने छन् ।

नेपालको निजी क्षेत्रका संघ तथा संगठनहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा वर्तमान र विगतमा पटक पटक नेतृत्वको बागडोर नाडाकै पूर्व अध्यक्षहरुले सम्हालिरहेको इतिहास छ । महासंघका हालका अध्यक्ष शेखर गोल्छा र अन्य पूर्वअध्यक्षहरु कुनै समय कुनै नाडाकै अध्यक्ष थिए । यसले गर्दा पनि नाडामा अबको नेतृत्वको वारेमा धेरैको चासो छ ।

यस्ता छन् दुवै प्यानलमा उम्मेदवार
सुजुकी गाडीको आधिकारिक बितरक सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीको यो प्यानलमा सिप्रदी कम्पनिजका सीईओ राजनबाबु श्रेष्ठ, ज्योति ग्रुपका निर्देशक अभिक ज्योति, नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप कुमार बराल, रिशिक अटोमोबाइल्सका प्रबन्ध निर्देशक मिलन बाबु मल्ल, अग्नि इन्कर्पोरेटेडका निर्देशक बरदान बस्नेत, आइएमई मोटर्सका निर्देशक निशान्त ढकाल, सफल मोटर्सका प्रबन्ध निर्देशक गोपाल भट्टराई र कपुरी ब्रदर्सका प्रबन्ध निर्देशक प्रकाश कपुरीले उम्मेदवारी दिएका छन् ।

चौधरीको प्यानलमा कार्यसमिति सदस्यका लागि उम्मेदवारी दिएका सुनिल रिजाल, सुरेन्द्र कुमार उप्रेती, बिक्रम सिंघानिया, पंकज अग्रवाल, निलमणी पाठक, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, वर्ण न्यौपाने र देवराज भण्डारी विभिन्न ब्रान्डका स्पेयर पार्ट्स, टायर, ब्याट्री र लुब्रिकेन्ट्स व्यवसायमा आबद्ध छन् ।

अटोमोबाइल उत्पादनको कारोबार गर्ने ५ वटा कम्पनी संलग्न हिमालय अर्गनाइजेसनका संस्थापक ध्रुव थापा फोर्स गाडीको आधिकारिक बितरक आयाम इन्टरकिन्टनेन्टलका अध्यक्ष समेत छन् । उनको यो प्यानलमा गोल्छा अर्गनाइजेसनका निर्देशक आकाश गोल्छा, लक्ष्मी ग्रुपका निर्देशक निराकार श्रेष्ठ, जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक कुमार अग्रवाल, पद्मश्री ग्रुपका निर्देशक शुभाशिस थपलिया, साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, लक्ष्मी ग्रुप अन्तर्गतकै एसएमएल इसुजु र टायर, ब्याट्री एबं लुब्रिकेन्ट डिभिजनका सेल्स एन्ड अप्रेसन निर्देशक कपिल शिवाकोटी, परिना इन्टरनेसनलका कार्यकारी निर्देशक दीपक आचार्य र टु ह्विलर रिकिन्डसन ब्यावसायी संघका अध्यक्ष बिएन पाठकले उम्मेदवारी दिएका छन् ।

ध्रुव थापाको यो प्यानलमार्फत उम्मेदवारी दिएका यी सवारी साधनको कारोबारमा संलग्न व्यवसायी वाहेक स्पेयर पार्ट्स तथा कम्पोनेन्टको कारोबार गरिरहेका दिपेन्द्र कुमार मिश्रा, सगुन बिरसिं कंशाकार, रिद्धि कार्की, प्रकाश सिग्देल, नारायण प्रसाद पौडेल, नवराज भुसाल, सञ्जय कुमार खेतान, अमरज्योति रञ्जित र प्रदिपमान प्रधान समेत संलग्न छन् ।

देश संघीयतामा गएसँगै नाडाले समेत आफ्नो संगठन प्रदेश स्तरमा विस्तार गरिसकेको छ । अहिले नाडाको सातवटै प्रदेशमा संगठन विस्तार भैसकेको छ । जसका कारण सदस्य संख्या समेत बढेर ३२ सय हाराहारी पुगेको छ । यसअघि ८ सय हाराहारी व्यवसायीमात्र सदस्य रहेको नाडामा एकैपटक २ हजारभन्दा बढी सदस्य थप भएका कारण पनि यो साधारण सभा नाडाका लागि आफैमा एउटा नयाँ अनुभब हुने देखिएको छ । अघिल्ला अधिबेशनमा सीमित व्यावसायिक घरनाको प्रभाव देखिँदै आएकोमा यसपाली देशभरका ब्यावसायीले नयाँ नेतृत्वका लागि मतदान गर्दैछन् । जसका कारण नेतृत्व कसले हात पार्छ भनेर यसै भन्न सकिने अवस्था छैन ।

सरकारी नीतिमा समस्या
सरकारले निजी सवारी साधलाई आवश्यकता होइन, विलाशीताको साधन मानेको छ । सरकारले यो मान्यतालाई परिवर्तन गराउनका लागि समय समयमा झक्झक्याएको पनि पाइन्छ । तर पनि सरकारले यसलाई राजस्वको गतिलो स्रोतको रुपमा मात्र बुझेको पाइन्छ ।

सरकारले सवारी साधन संसारमा सबैभन्दा धेरै कर लगाएको छ । भन्सार महसुल, सवारी कर त ठीकै छ । स्वदेशमा उत्पादित वस्तुमा मात्रै लाग्ने अन्तःशुल्क पनि आयातित सवारीमा लगाएको छ । सवारी साधनको मूल्यमा २ सय ४० प्रतिशतभन्दा बढी कर लगाइएको छ । यसका कारण नै महंगो मूल्यमा नेपाली उपभोक्ताले सवारी साधन किन्नु पर्ने बाध्यता छ । त्यसैगरी सरकारले विभिन्न क्षमताका गाडी र मोटरसाइकलमा लाग्ने करको दर पनि अस्थिर रुपमा कहिले बढाउने र घटाउने गरेको पाइन्छ ।

त्यसैगरी नेपाल राष्ट्र बैंकले लिने नीतिले पनि व्यवसायलाई असर गरिरहेको हुन्छ । नयाँ सवारी साधन किन्दा शुरुमा तिर्ने डाउन पेमेन्ट कम गरी धेरै रकम बैंकहरुले लगानी गर्नुपर्ने माग व्यवसायीहरुले गर्ने भए पनि यो अस्थिर रहेको छ । हाल विद्युतीय सवारी साधनलाई ८० प्रतिशत सम्म र अन्य सवारीका लागि ५० प्रतिशत मात्र बैंकको लगानी स्वीकार गरिएको छ ।

पछिल्लो समयमा चर्चामा रहेको विद्युतीय सवारीमा सरकारले एउटा वर्ष अन्तःशुल्क बढाउने र अर्को वर्ष फेरि घटाउने गरेको छ । यसले गर्दा व्यवसायीहरुमा पनि सवारी साधन भित्र्याउने वा नभित्र्याउने भन्नेमा अन्योल छ । नेपालमै सवारी साधन एसेम्बल गर्नका लागि मन्त्रीहरुले आग्रह गर्ने भए पनि त्यसै अनुसार नीति निर्माणमा ध्यान दिएको पाइदैन ।

त्यसैगरी नेपाली बजारमा भित्रिने सवारी साधनको प्रदूषण मापदण्ड वारेमा समेत काम हुन बाँकी छ । अन्य देशमा बीएस ६, युरो ६ आदि स्ट्यान्डर्ड लागू हुँदा नेपालमा भएको नेपाल सवारी प्रदूषण मापदण्ड २०६९ लाई स्तरोन्नति गरी बनाइएको २०७५ को मापदण्ड समेत कार्यान्वयनमा आउन सकेको छैन । नेपालमा युरो ४ स्ट्यान्डर्डका गाडी समेत भित्रिन सकेका छैनन् र यसका लागि तयारी गर्नुपर्ने बताइएको छ । त्यसैगरी २० वर्ष पुराना सवारी साधनलाई विस्थापन गर्ने नीति पनि अधुरै छ । यस्ता धेरै कुरामा अबको नाडा नेतृत्वले ध्यान दिनुपर्ने अवस्था छ ।

नाडाले समय समयमा सरकारी अधिकारीहरुसँग भेटघाट गरी विभिन्न नीतिगत सुधारका लागि आग्रह गर्दै आएको पाइन्छ । बजेट प्रस्तुत हुनु भन्दा पहिले पनि विभिन्न सुझाव पेश गरेको पाइन्छ । यद्यपि ती सबै विषयको सुनुवाई प्रभावकारी हुन सकेको छैन । आगामी दिनमा यस्ता सबै कार्यमा हस्तक्षेपकारी भूमिका खेल्नु पर्ने आवश्यकता देखिन्छ ।

पहिलो पटक राणा प्रधानमन्त्री वीर शमशेरको पालामा वि.सं. १९५८ सालमा नेपालमा कार भित्रिएको थियो । त्यसपछि अन्य सवारी साधन समेत विस्तारै भित्रिन र बढ्न थालेका हुन् । यसरी बढ्दै गएको सवारी साधनलाई व्यवस्थापन गर्नका लागि समय समयमा भएका प्रयास भने अहिले सम्म पनि चित्त बुझ्दो भएको छैन ।

नाडाको स्थापना २०३२ सालमा भएको हो । नेपालमा अटोमोबाइल भित्र्याउने र यसको व्यवसायमा लागेकाहरुले यसको स्थापना गरेका हुन् । विशेष गरी निजी सवारी साधन भित्र्याउने व्यवसायीहरुले यसको सुरुवात गरेका थिए । पछि विस्तारै यससँग जोडिएका पार्ट्स र कम्पोनेन्ट लगायतका व्यवसायी पनि जोडिदै गए । सन् १९९८ अर्थात २०५५ सालतिर पहिलो पटक नाडा अटो शो आयोजना गरे पश्चात नाडाको भूमिका पनि फैलिदै गयो । अहिले पनि प्रत्येक वर्ष हुने गरेको सवारी साधन प्रदर्शनी नाडा अटो शो धेरैले सम्झिने गर्छन् । यद्यपि कोभिडका कारण अहिले अटो शो हुन सकेको छैन ।

नेपालको कुल राजस्वमा अटोमोबाइल क्षेत्रले मात्र २० प्रतिशत भन्दा बढी योगदान पु¥याउदै आएको छ । १० लाख भन्दा बढी मानिसहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यही क्षेत्रमा रोजगारी पाएका छन् । नेपालको अटोमोबाइल व्यवसाय नेपालको विकास निर्माणसँग पनि जोडिएको छ । यसको विकास विना नेपालको विकासको कल्पना पनि गर्न सकिदैन । यसले गर्दा ठूलो संख्यामा रोजगारीको समेत सिर्जना गरेको छ । त्यसैले यो क्षेत्रको व्यवस्थापनको आधार तयार गर्नका लागि पनि अब आउने नाडा नेतृत्व सक्षम बन्नु आवश्यक छ ।

यी सबै कुरालाई मनन गरी आज देशभरका करिव ३ हजार २ सय जना अटोमोबाइल व्यवसायीले विचार पुर्याएर नेतृत्व चयन गर्नुपर्ने आवश्यकता छ । यसका लागि अटोमोबाइल व्यवसायीहरु अवश्य पनि सक्षम हुने आशा गर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...