काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार सवारी जाँचका क्रममा नियम उल्लङ्घन गर्ने दुई हजार बढी चालकलाई कारवाही गरेको छ । होलीको अवसरमा उपत्यकाको ९० भन्दा बढी स्थानमा गरेको सवारी जाँचका क्रममा उनीहरूलाई कारवाही गरेको महाशाखाले जनाएको छ ।
सो क्रममा महाशाखाबाट ९०० बढी ट्राफिक प्रहरी खटाएको जनाइएको छ । ट्राफिक व्यवस्थापनको योजना तयार गरी होलीमा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै बिहानदेखि साँझसम्मै सुरक्षा कडा पारी जाँच गरिएको महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिए ।
होली मनाउन उच्छ्रिङ्खल तरिकाले सवारी साधनको प्रयोग गर्ने, तिब्रगति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी हुईक्याउने, तीन जना चढ्ने, हेल्मेट नलगाउनेजस्ता गतिविधिमा संलग्न चालक उपर निगरानी बढाई कारवाही गरिएको उनले बताए । ।
महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउने ५४ जनालाई कारवाही गरेको छ । विना हेल्मेट र तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउनेलगायतका सवारी नियम उल्लङ्घन गर्ने एक हजार ६०९ सवारी चालकलाई कारवाही गरिएको र होहल्ला गरी सवारी चलाउने, जबरजस्ती रङ्ग दल्न खोज्ने, कागजपत्र साथमा नहुने, लापरबाही तरिकाले सवारी चलाउने १३ वटा चार पाङ्ग्रे र ४६८ वटा दुई पाङ्ग्रे सवारी साधन होल्ड गरी कारवाही गरिएको महाशाखाले जनाएको छ ।