मोबिलिटी एक्स्पो, नयाँ सवारीसाधन र नेपाली अटो बजारको दिशा

काठमाडौं–भोलीदेखि आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ ले नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ तरङ्ग र उत्साह थप्ने देखिएको छ । विभिन्न अटोमोबाइल ब्रान्डहरूको सहभागिता, आकर्षक स्टल र अत्याधुनिक मोबिलिटी प्रविधिको प्रदर्शनीले अटोमोबाइल बजारमा नयाँ आशाको सञ्चार गरेको छ । केवल गाडी र बाइक खरिद–बिक्रीको थलो मात्र नरहेर यो एक्स्पो नेपाली यातायात क्षेत्र कुन दिशातिर जाँदैछ भन्ने सङ्केत गर्ने एउटा महत्त्वपूर्ण मञ्च बनेको छ ।

यसपटकको एक्स्पोको मुख्य आकर्षण नयाँ सवारीसाधनको लन्च र विशेष गरी विद्युतीय सवारी (इभी) को वर्चस्व हो । आधा दर्जनभन्दा बढी ब्रान्डहरूले नयाँ मोडलका चारपाङ्ग्रे, दुईपाङ्ग्रे तथा व्यावसायिक सवारीसाधन बजारमा उतारेका उतार्दै छन् । इन्धनबाट चल्ने परम्परागत सवारीसाधनको तुलनामा ब्याट्री प्रविधि, आधुनिक सुरक्षा फिचर र वातावरणीय हिसाबले सुहाउँदा विद्युतीय सवारीप्रति उपभोक्ताको आकर्षण स्पष्ट देखिन्छ । यसले नेपाली उपभोक्ता प्रविधिमैत्री र दिगो मोबिलिटीतर्फ तीव्र रूपमा आकर्षित भइरहेको पुष्टि गर्छ ।

यद्यपि, एक्स्पोले सिर्जना गरेको यो उत्साह र नेपाली अटोमोबाइल बजारको विद्यमान वास्तविक अवस्थाबिच भने केही विरोधाभास र चुनौतीहरू कायमै छन् । पछिल्लो समय सुस्त आर्थिक वृद्धि र बैंक तथा वित्तीय संस्थाको कडा कर्जा नीति जस्ता कारण सवारीसाधनको समग्र बिक्री दर अपेक्षाकृत रूपमा लयमा फर्कन सकेको छैन । सवारीसाधनलाई अझै पनि विलासिताको वस्तुका रूपमा हेर्ने सरकारी दृष्टिकोण र अस्थिर कर नीतिका कारण व्यवसायी तथा उपभोक्ता दुवै अन्योलमा पर्ने गरेका छन् ।

विशेष गरी विद्युतीय सवारीको प्रयोग तीव्र गतिमा बढे पनि त्यसअनुरूपको पूर्वाधार निर्माण हुन सकेको छैन । देशभर पर्याप्त चार्जिङ स्टेसनको अभाव, राजमार्गहरूको दुर्दशा र दक्ष प्राविधिकको कमीले ईभीको दिगो प्रयोगमा चुनौती खडा गरेको छ । साथै, स्वदेशमै सवारीसाधन एसम्बली वा उत्पादनलाई प्रोत्साहन गर्ने नीति प्रभावकारी रूपमा लागू हुन नसक्दा नेपाल पूर्णतः आयातमा निर्भर रहनुपरेको छ ।

नाइमा नेपाल मोबिलिटी एक्स्पोले अटो क्षेत्रको सम्भावनालाई उजागर गर्दै नयाँ प्रविधिसँग जोडिने अवसर प्रदान गरेको छ । तर, यो उत्साहलाई दीर्घकालीन बजार विकासमा बदल्न सरकार र निजी क्षेत्रबिच बलियो सहकार्य आवश्यक छ । सरकारले अटोमोबाइल क्षेत्रलाई केवल कर असुलीको स्रोत मात्र नभई पूर्वाधार र अर्थतन्त्रको संवाहकका रूपमा बुझ्न जरुरी छ । स्थिर कर नीति, चार्जिङ पूर्वाधारको विस्तार, सरल कर्जा सुविधा र स्वदेशी एसम्बली उद्योगलाई प्राथमिकता दिन सके मात्र मोबिलिटी एक्स्पोले देखाएको नयाँ दिशाले सार्थकता पाउनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...