एमएमएससी नेपाल टीभीएस रेसिङ सम्पन्न, श्रीहरि पौडेलको शानदार जित

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को बहुप्रतिक्षित कार्यक्रम ‘एक्सप्लोर द ट्रयाक’ अन्तर्गत सन् २०२६ को पहिलो अन्तर्राष्ट्रिय सहभागिता भारतको चेन्नईस्थित मद्रास इन्टरनेसनल सर्किटमा सफलतापूर्वक सम्पन्न भएको छ । ९ देखि ११ जनवरी २०२६ सम्म आयोजित एमएमएससी नेपाल टीभीएस रेसिङमा नेपाली राइडरहरूले विश्वस्तरीय ट्रयाकमा प्रतिस्पर्धा गर्दै एशियन स्तरको प्रभावशाली प्रदर्शन गरेका छन्।

नासा नेपालको तर्फबाट मद्रास मोटर स्पोर्ट्स क्लबद्वारा आयोजित यस कार्यक्रम अन्तर्गत ९ जनवरीमा ओरियन्टेशन, १० जनवरीमा अभ्यास रेस तथा ११ जनवरीमा फाइनल रेस सम्पन्न भएको थियो । उक्त फाइनल रेसमा सहभागी नेपाली राइडरहरूमध्ये श्रीहरि पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरे। घरेलु रोड रेसिङमा लामो समयदेखि आफ्नो दबदबा कायम गर्दै आएका पौडेलले अन्तर्राष्ट्रिय स्तरको चुनौतीपूर्ण ट्रयाकमा समेत आफूलाई उत्कृष्ट राइडरका रूपमा स्थापित गरे।

कडा प्रतिस्पर्धाका बीच अभिनव राज मल्ल दोस्रो स्थानमा रहँदा दिलिप दनुवार तेस्रो स्थानमा सीमित भए। विजेता तथा सहभागी सम्पूर्ण नेपाली राइडरहरूलाई मद्रास मोटर स्पोर्ट्स क्लबका अधिकारीहरूले विशेष सम्मान तथा पुरस्कार प्रदान गरेका थिए। सो अवसरमा नासा नेपालका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

गत डिसेम्बर २० मा धुलिखेलमा सम्पन्न नेपाल रोड रेसिङ च्याम्पियनसिपका सबै क्याटागोरीका विजेता तथा उत्कृष्ट खेलाडीहरू समेटिएको ११ सदस्यीय नेपाली टिमले यस प्रतियोगितामा सहभागिता जनाएको थियो । टिममा श्रीहरि पौडेल, राजकुमार कार्की, दिलिप दनुवार, सायल गजमेर, प्रशान्त सुतीहार, साइमन चौलागाईं, अभिनव राज मल्ल, दिपेश जैसवाल, अभि रिसाल, वर्षा बस्नेत र नीतिका गजुरेल सहभागी थिए।

टिमको व्यवस्थापन मोटर स्पोर्ट्स नेपाल क्लबले गरेको थियो। क्लबका निर्देशक विनोद तण्डुकार टिम म्यानेजरको भूमिकामा थिए भने बागमती प्रदेश अटोमोबाइल एसोसिएसनकी सदस्य मिना थापा अफिसियलका रूपमा सहभागी थिइन्।

अन्तर्राष्ट्रिय स्तरको यस अनुभवले नेपाली रेसिङ र राइडरहरूको दीर्घकालीन विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै विजेता श्रीहरि पौडेलले नासा नेपाल, अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ, मद्रास मोटर स्पोर्ट्स क्लब र मोटर स्पोर्ट्स नेपाल क्लबप्रति आभार व्यक्त गरे।

यस कार्यक्रमलाई अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ र मद्रास मोटर स्पोर्ट्स क्लबको आर्थिक तथा प्राविधिक सहयोग प्राप्त थियो। नेपालमा अन्तर्राष्ट्रिय स्तरको रेसिङ ट्रयाकको अभाव रहेकाले चेन्नईमा आयोजित यस प्रतियोगितालाई नासा नेपालको राष्ट्रिय प्रतियोगिताको मान्यता दिइएको हो।

उच्चस्तरीय ट्रयाक, मोटरसाइकल, प्रविधि र प्राविधिक व्यवस्थापन रहेको यस इभेन्टमा नेपाली राइडरहरूको प्रदर्शनले आयोजक र प्राविधिक टोलीलाई समेत प्रभावित बनाएको छ। मद्रास मोटर स्पोर्ट्स क्लबका निर्देशक तथा पूर्व फर्मुला–वान प्राविधिक प्रभा शंकरका अनुसार, केही प्राविधिक पक्षबाहेक नेपाली राइडरहरूको रेसिङ स्तर अपेक्षाभन्दा निकै उत्कृष्ट रहेको थियो। नयाँ ट्रयाक र प्रविधिमा सुरुवाती चुनौती देखिए पनि नेपाली राइडरहरूको आत्मविश्वास, अनुशासन र गतिले टीभीएस इन्डियाको टोलीसमेत सकारात्मक रूपमा प्रभावित भएको जनाइएको छ।

यस प्रतियोगितामार्फत नासा नेपाल र टीभीएस रेसिङबीचको पहिलो औपचारिक सहकार्यको सुरुवात समेत भएको छ, जसलाई नेपाली मोटरस्पोर्ट्सका लागि महत्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ। केही वर्षदेखि सञ्चालन हुँदै आएको ‘एक्सप्लोर द ट्रयाक’ कार्यक्रमले अन्तर्राष्ट्रिय महासंघहरूबाट प्रशंसा प्राप्त गर्दै आएको नासा नेपालको दाबी छ।

यही पुष १० गते चितवनमा सम्पन्न नासा नेपालको ११औँ साधारणसभाले ‘एक्सप्लोर द ट्रयाक’ अन्तर्गत यस वर्ष तीन टिमलाई विश्वस्तरीय ट्रयाकमा सहभागी गराउने योजना पारित गरेको छ। नेपालमा मोटरसाइकल रेसिङ लोकप्रिय हुँदै गए पनि व्यवस्थित पूर्वाधार, विधि र कर्पोरेट प्राथमिकताको अभाव अझै चुनौतीका रूपमा रहेको छ।

यस्ता सीमितताबीच पनि नेपाली युवाहरूको साहस, समर्पण र निरन्तर सहभागिताले मोटरस्पोर्ट्सप्रति अन्तर्राष्ट्रिय चासो बढ्दै गएको नासा नेपालको निष्कर्ष छ। अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ, भारतीय मोटरस्पोर्ट्स महासंघ र मद्रास मोटर स्पोर्ट्स क्लबको सहयोगले नेपाली मोटरस्पोर्ट्सलाई नयाँ ऊर्जा र सम्भावनातर्फ अघि बढाएको विश्वास लिइएको छ।

सम्बन्धित समाचारहरू

एसिया प्यासिफिक मोटर स्पोर्ट्समा चार नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

एसिया प्यासिफिक मोटर स्पोर्ट्समा चार नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं– एसिया प्यासिफिक मोटर स्पोर्टस् च्याम्पियनसिपमा नेपालका चार...

‘दिगो विकास र सुरक्षित यात्रा मेरो अधिकार’ विषयक उच्चस्तरीय छलफल कार्यक्रम नेपालगन्जमा सम्पन्न

‘दिगो विकास र सुरक्षित यात्रा मेरो अधिकार’ विषयक उच्चस्तरीय छलफल कार्यक्रम नेपालगन्जमा सम्पन्न

लुम्बिनी प्रदेशको एक प्रमुख सहर नेपालगन्जमा आइतबार ‘दिगो विकास र सुरक्षित...

नासा नेपालले सम्पन्न ग-यो ‘अ सेफ जर्नी टु द स्कुल्स’ अभियान

नासा नेपालले सम्पन्न ग-यो ‘अ सेफ जर्नी टु द स्कुल्स’ अभियान

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले स्टार रेटिङ फर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...