मापसे र स्टेयरिङ : कहिल्यै नमिल्ने जोडी

सडक सुरक्षाको क्षेत्रमा एउटा सर्वमान्य सत्य छ - "मदिरा र सवारी साधनको स्टेयरिङ कहिल्यै पनि सँगै अगाडि बढ्न सक्दैनन् ।" मापसे र स्टेयरिङ एउटै हातमा परेपछि दुर्घटना केवल सम्भावना होइन, प्रायः निश्चित परिणाम बन्छ । त्यसैले यी दुईलाई कहिल्यै नमिल्ने जोडीका रूपमा बुझ्नु आजको अपरिहार्य आवश्यकता हो । विश्वभर हुने सडक दुर्घटनाका प्रमुख कारणहरूमध्ये मापसे एक मुख्य कारण हो ।

मदिराले मानव मस्तिष्कको केन्द्रीय स्नायु प्रणालीमा सिधा असर गर्छ । जब मदिरा रगतमा मिसिन्छ, यसले चालकको निर्णय लिन सक्ने क्षमता (Judgment) लाई कमजोर बनाइदिन्छ । तीव्र गतिमा आएको अर्को सवारीलाई कति दूरीमा छ भनेर ठम्याउन नसक्नु, अचानक ब्रेक लगाउनु पर्ने ठाउँमा ढिलो प्रतिक्रिया दिनु र सडकको मोडहरूमा सन्तुलन गुमाउनु यसका मुख्य परिणाम हुन् । त्यसैले भनिन्छ, मदिराले साहस बढाउँछ तर सीप र होसलाई घटाउँछ ।

यदि तपाईको पनि विभिन्न बहनामा मापसे गर्ने र सवारी हाँक्ने बानि छ भने सम्भावित दुर्घटनाबाट बच्न र सडकलाई सुरक्षित बनाउन निम्न उपायहरू अपनाउनु अत्यन्त आवश्यक छ :-

पहिलो, यदि तपाईँ कुनै समारोह वा जमघटमा जाँदै हुनुहुन्छ, जहाँ मदिरा सेवन हुन सक्छ भने, सवारी चलाएर नजानु नै सबैभन्दा बुद्धिमानी निर्णय हो । जाने बेलामै ट्याक्सी वा सार्वजनिक सवारीको प्रयोग गर्दा फर्कने बेला जोखिम मोल्नु पर्दैन ।

दोश्रो, साथीभाइको समूहमा जाँदा पालैपालो एकजना व्यक्तिलाई 'डेजिग्नेटेड ड्राइभर' तोक्ने संस्कार बसाल्नुपर्छ । उक्त व्यक्तिले त्यस दिन मदिरा सेवन गर्दैन र सबैलाई सुरक्षित घर पुर्‍याउने जिम्मेवारी लिन्छ ।

तेश्रो, घरमा तपाईको प्रतीक्षा गरिरहेका परिवारका अनुहार सम्झिनुस् । तपाईं सुरक्षित फर्कनुहुने आशामा बसेका ती अनुहार नै मापसेबाट आफूलाई रोक्ने सबैभन्दा ठूलो नियन्त्रक हुन् ।

चौथो, साथीभाइको गलत निर्णय वा सामाजिक दबाबलाई रोक्ने साहस देखाउनुहोस् । "एक पेगले केही हुँदैन" भन्ने भ्रम अत्यन्त खतरनाक छ । सडकमा दुर्घटना हुन एक सेकेन्डको लापरवाही नै पर्याप्त हुन्छ । आफ्नो सुरक्षाका लागि ‘नाइँ’ भन्न सिक्नुस् ।

पाँचौ, वैकल्पिक यातायातको प्रयोग गर्नुहोस् । आजकल पठाओ, इनड्राइभ, याङ्गो वा ट्याक्सी जस्ता सेवाहरू सहजै उपलब्ध छन् । आफ्नो सवारीलाई सुरक्षित ठाउँमा पार्किङ गरेर यी सेवाहरू प्रयोग गर्नु जरिवाना तिर्नु वा अस्पताल भर्ना हुनुभन्दा कयौँ गुणा सस्तो र सुरक्षित छ।

छैटाैं, सवारी चालकहरूमा एउटा गम्भीर भ्रम व्याप्त छ । त्यो हो - कडा कफी पिएमा वा चिसो पानीले नुहाएमा मापसेको असर घट्छ । वैज्ञानिक तथ्य यो हो कि कफीले तपाईँलाई केही समय सतर्क बनाउन सक्छ तर रगतमा रहेको अल्कोहलको मात्रा घटाउँदैन । कलेजोलाई मदिरा पचाउन निश्चित समय लाग्छ, जुन समय नदिई सवारी चलाउनु घातक हुन्छ । मदिराको मात उतार्ने एक मात्र वैज्ञानिक औषधि 'समय' हो, कफी वा नुहाउनु होइन ।

नेपालको सन्दर्भमा ट्राफिक प्रहरीले मापसे विरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै आएको छ । मापसेमा पक्राउ पर्दा आर्थिक जरिवाना मात्र होइन, अनिवार्य सचेतना कक्षा र कानूनी कारबाहीको सामना गर्नुपर्छ । तर यसभन्दा पनि गम्भीर कुरा, मापसेका कारण हुने दुर्घटनाले निर्दोष मानिस र तिनका परिवारलाई कहिल्यै निको नहुने चोट तथा पिडा दिन सक्छ ।

सवारी चलाउनु मनोरञ्जन होइन, गम्भीर जिम्मेवारी हो । मदिरा र स्टेयरिङलाई सँगै जोड्ने प्रयासले जीवनको यात्रालाई बीचमै टुङ्ग्याउन सक्छ । त्यसैले, आजै देखि "मापसे र स्टेयरिङ: कहिल्यै नमिल्ने जोडी" भन्ने मन्त्रलाई आत्मसात् गरौँ । घरमा तपाईँको सुरक्षित पुनरागमनकै प्रतीक्षामा परिवारको खुसी अडिएको छ ।

ट्राफिक नियम जानौ पनि, मानौ पनि ।

–प्र.ब.ना.नि. बिष्णु थापा
प्रमुख–जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोक

सम्बन्धित समाचारहरू

नारायणगढ–मुग्लिन सडकः पहिरोको हिसाबले १७ ठाउँ उच्च जोखिममा

नारायणगढ–मुग्लिन सडकः पहिरोको हिसाबले १७ ठाउँ उच्च जोखिममा

चितवन – नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च...

चाबहिल चोक र मित्रपार्कमा आकाशे पुल बन्ने, मेयर शाक्यले गरे शिलान्यास

चाबहिल चोक र मित्रपार्कमा आकाशे पुल बन्ने, मेयर शाक्यले गरे शिलान्यास

काठमाडौं – काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास...

५ करोडको लगानीमा चितवनमा खुल्यो ड्राइभिङ स्कुल

५ करोडको लगानीमा चितवनमा खुल्यो ड्राइभिङ स्कुल

चितवन – सवारी चालक प्रशिक्षण प्रदान गर्न आधुनिक सुविधासहित ‘चितवन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...