महिन्द्रा थारको माग भारतमै अत्यधिक, तत्काल नआउने भयो नेपालमा

भारतीय अटो मेकर महिन्द्रा एन्ड महिन्द्राले उत्पादन गर्ने भारतकै सर्बाधिक शक्तिशाली अफरोडर एसयूभी थार तत्काल नेपाल आउने सम्भावना टरेको छ । भारतीय बजारमा अत्यधिक माग रहेको र माग अनुसार उत्पादन हुन नसकेका कारण यो एसयूभी तत्काल नेपाल आउने सम्भावना टरेको हो ।

सन् २०२१ भित्र यो एसयूभी नेपाल आउने सम्भावना नरहेको नेपालका लागि आधिकारिक बितरक अग्नि इन्कर्पोरेटेड स्रोतले नेपाल अटोलाई जानकारी दिएको छ । उक्त स्रोतका अनुसार भारतीय बजारमै ५० हजारभन्दा बढी बुकिङ रहेका कारण थारलाई नेपाल आउन समय लाग्नेछ । कम्पनीले उत्पादन बढाउँदै लगेको खण्डमा यो एसयूभी सन् २०२२ को पहिलो महिना अर्थात जनवरीभित्र नेपाल भित्रिन सक्ने स्रोतको भनाइ छ ।

भारतीय बजारमा सार्वजनिक भएलगत्तै नेपाली अटो पारखीमाझ समेत चासोको विषय बनेको थारबारे जिज्ञासा राख्ने ग्राहक बढिरहेका छन् । स्रोतका अनुसार यो एसयूभीको बुकिङ लिन चाहने ग्राहक बढिरहे पनि नेपाल भित्रिने मिति टुङ्गो नलागेका कारण कम्पनीले यस बिषयमा कुनै योजना बनाएको छैन । ‘नेपाल भित्रिने मिति टुङ्गो लागेपछि मात्र हामी बुकिङ लिनेतर्फ अघि बढ्छौ । भारतमै यसको बुकिङ अत्यधिक संख्यामा पेन्डिङ रहेका कारण बुकिङको नाममा ग्राहकलाई अलमल्याएर राख्ने अबस्था छैन । त्यसैले हाल यो एसयूभीका बारेमा जानकारी लिन चाहने ग्राहकलाई हामीले सत्यतथ्य कुरा बताइरहेका छौ’ स्रोतले भन्यो ।

थारको मूल्य भारतीय बजारमा १२ लाख ७८ हजार भारुदेखि सुरुवात गरिएको छ । सोही मूल्यलाई आधार मान्दा नेपालमा यसको मूल्य ५५ लाख माथिबाट सुरु हुने देखिन्छ ।

यस्तो छ बहुप्रतिक्षित महिन्द्रा थारका विशेषता
भारतीय बजारमा सर्बाधिक शक्तिशाली अफरोडरको पहिचान बनाएको थार म्यानुअल र अटोमेटिक दुबै अप्सनमा उपलब्ध छ । पेट्रोल इन्जिनमा अटोमेटिक ट्रान्समिसन मात्र र डिजेलमा अटोमेटिक र म्यानुअल दुबै गरी यो ३ भेरिएन्टमा उपलब्ध छ ।

पेट्रोल इन्जिनमा थारलाई २ हजार सीसी क्षमतामा टर्बो सहित उपलब्ध गराइएको छ । जसको अधिकतम पावर १५० बीएचपी र टर्क ३२० एनएम रहेको छ । त्यसैगरी डिजेल इन्जिनमा यो २२ सय सिसी क्षमतामा उपलब्ध छ । जसको अधिकतम पावर १३० बीएचपी र टर्क ३०० एनएम रहेको छ । अफरोडर भएका कारण यसको ग्राउन्ड क्लियरेन्स समेत उच्च छ । यो एसयुभीमा सेग्मेन्टमै सर्बाधिक बढी २२६ एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ । यो एसयुभीले प्रतिलिटर इन्धन खपतमा १५ किलोमिटर बराबर माइलेज दिने दाबी गरिएको छ ।

एउटा आधुनिक र सुरक्षित एसयूभीमा उपलब्ध हुने प्रायः सम्पूर्ण फिचर्स उपलब्ध गराइएको यो एसयूभीले ग्लोबल एनक्यापको क्र्यास टेष्टमा ४ स्टार सेफ्टी रेटिङ हात पारेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...