पोखराको इतिहास : सेनाले ओगटेको त्यो बाटो र सेती कोरिडोरको विकल्प

तस्बिरमा २०२० सालतिर तयार भएको महेन्द्रपुल देख्न सकिन्छ । यो पुल बन्नु अगाडि यो पुलभन्दा केही तल काठेसाँघु थियो । यो नै पोखरा प्रवेश गर्ने बाटो थियो । पहिले पोखराको मुख्य बजार क्षेत्र नै साँघुमुखबाट शुरु हुन्थ्यो । साँघुमुखको पश्चिममा भने राणाहरुको घरघडेरी थियो ।

राजा महेन्द्रले देशमा पञ्चायती व्यवस्थाको शुरुवात गरेपछि २०१८ सालमा देशमा १४ अञ्चल र ७५ जिल्लामा विभाजन गराए । अञ्चलमा अञ्चलाधिशको व्यवस्था भयो । पोखरामा पहिलो अञ्चलाधिशको रुपमा आए भूदेव राई । भूदेव राईलाई २०१५ सालको आमचुनावमा विराटनगरबाट विश्वेश्वरप्रसाद कोइरालाको बिरुद्ध राजा महेन्द्रले उठाएका थिए । तर विपीको बिजय मात्र होइन कांग्रेसको बहुमत आयो, विपी प्रधानमन्त्री बने । २०१७ सालमा जननिर्वाचित सरकारलाई अपदस्त गराई पञ्चायती व्यवस्था लागू भयो ।

भूदेव राई पोखरा आए पछि उनका केही काम कांग्रेसलाई तर्साउने भयो भने केही काम पोखराका लागि यादगार भयो । कुनै कांग्रेसीलाई समाइयो भने टुँडिखेलमा रहेको अञ्चलाधीश कार्यालयको अगाडि चौरमा कुट्न लगाउँथे । कुटाईको पीडा पछिको चिच्याहट सबैले सुनोस् देखोस् भनेर पनि यसो गर्दथे ।

यो देखिएको महेन्द्रपुल पनि उनकै सक्रियतामा बनेको हो । साँघुमुख र रानीपौवामा धेरै कांग्रेस छन् भन्ने थाहा पाएका उनले यहाँका व्यापारीले पुल बनाउन आर्थिक सहयोग गर्न चाहेका थिए । तर यिनले ब्यापारीसँग पैसा लिएनन् उल्टो ढुङ्गा बालुवा बोक्न लगाए । जनश्रमदानको महत्व सिकाउँदै कजाए ।

उनकै समयमा बास्तोलाथर देखि विमानस्थलसम्म जाने बाटो बनाए । साथै सरकारी कार्यालयहरुको व्यवस्थापन एउटै ठाउँमा हुनुपर्छ भन्दै पार्दीको जग्गा अधिग्रहण गरेर सरकारी कार्यालयहरु सबै पार्दीमा सार्ने चाँजोपाँजो मिलाए । तर यो कामको शुरुवात भने उनको सरुवा भइसकेपछि भयो ।

तस्बिरमा देखाउन खोजेको सेती पारी देखिएको बाटो हो । यो बाटोबाट मानिसहरु फूलवारी हिडडुल गर्दथे । छोटो र सजिलो बाटो थियो यो । २०३८ सालमा पोखरामा घटेको दुखद नमिता सुनिता हत्याकाण्ड पछि यो बाटो सेनाले जबर्जस्ती आफ्नो बनायो । काँडे तार लगाएर सार्वजनिक आवतजावत बन्द गरायो ।

त्यो बाटो धेरै समय पहिले देखि नै सार्वजनिक बाटो थियो । तसर्थ भित्री साँघुरा बाटोको विकल्पको रुपमा २ किमी लामो चारलेनको सेती कोरिडोरको सडक बनाउन सकिन्छ । देशमा गणतन्त्र आइसकेको परिस्थितिमा सैनिक मुख्यालयसँग समन्वय गरेर सडकको लागि माग गर्न सकिन्छ ।

व्यापारी बनिसकेको नेपाली सेनाले कुनै दिन महेन्द्रपुल नजिकै विशाल सपिङ कम्प्लेक्स बनाई हाल्यो भने फेरि सेनाले दिने छैन । तसर्थ समयमै सरोकार निकाय तातिनु पर्ने आवश्यकता छ ।

यो तस्बिर कहिले र कसले खिचेको भन्ने जानकारी त भएन तर मसँग यसको फोटो नै छ । फोटो खिचिएको समय २०३५–३६ तिर जस्तो लाग्छ । मेरो अनुमानमा फोटो खिच्नुहुने शम्भुरत्न शाक्य हुनुहुन्छ जस्तो लाग्छ ।

प्रस्तुति : सुनिल उलक

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...