काठमाडौं – मोटर स्पोर्ट्सको प्रवद्र्धनमा कार्यरत नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को उपाध्यक्ष पदबाट मेघराज पौडेलले दिएको राजीनामा स्वीकृत भएको छ । गत चैत ६ गते नासा अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा बसेको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।
मेघराज पौडेल नासाको स्थापनाकालमै संस्थापक सदस्य थिए । त्यसयता उनी लगातार नासामा कार्यरत थिए । सन् २००८ मा नासा स्थापना हुँदाका सस्थापक सदस्य पौडेलले एक कार्यकाल सचिव, एक कार्यकाल सल्लाहकार र एक कार्यकाल उपाध्यक्षको जिम्मेवारी पुरा गरिसकेका छन् । पछिल्लो समयमा उनी उपाध्यक्ष हुँदा नै राजीनामा दिएका हुन् ।
नेपालमा मोटर स्पोर्ट्स खेल सम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्नमा नासाका साथै व्यक्तिगत रुपमा पौडेलको समेत योगदान रहेको छ । उनी पदाधिकारी रहेकै समयमा जगन्नाथपुरी–पशुपतिनाथ र काठमाडौं–दिल्ली कार -याली समेत भएका थिए ।
त्यसैगरी मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय संस्था एफआईको एफआईए स्पोर्ट रिजनल कांग्रेस समेत काठमाडौंमा भएको थियो ।
पौडेल अब क्लाइम्बिङ स्पोर्टमा क्रियाशील रहने बताएका छन् । उनी नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको महासचिव छन् ।
आगामी दिनमा उनी यो क्षेत्रमा क्रियाशील रहने र क्लाइम्बिङ स्पोर्टलाई व्यावसायिकरण गर्नमा तल्लीन रहने बताएका छन् ।