दसैँको यात्रा सुरक्षित बनाउन जीवन बचाउने १० सावधानी

दसैँ परिवारसँग पुनर्मिलन, खुसी साटासाट र आत्मीयता बाँड्ने पर्व हो । रोजगारी, अध्ययन तथा अन्य सिलसिलामा घरबाट टाढा रहेका लाखौँ नेपाली यतिबेला आफ्नो जन्मथलो फर्किने तयारीमा छन् । तर, मनसुनी वर्षाका कारण बाढी, पहिरो, नदी कटान र सडक भासिने समस्या बढेकाले यस वर्षको यात्रा थप जोखिमपूर्ण हुन सक्छ । यस्तो अवस्थामा अग्रिम टिकट काट्नु र यात्रा सुरु गर्नु मात्र पर्याप्त हुँदैन; सुरक्षित रूपमा गन्तव्यमा पुग्न सही निर्णय, संयम र सावधानी आवश्यक हुन्छ ।

गत वर्षको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म देशभर भएका १,४९२ सवारी दुर्घटनामा ११३ जनाको मृत्यु भएको थियो भने ५१८ जना गम्भीर र २,२७९ जना साधारण घाइते भएका थिए । यी तथ्याङ्कले चाडपर्वको यात्रामा सामान्य लापरबाहीले पनि ठूलो मानवीय क्षति निम्त्याउन सक्ने देखाउँछन् । त्यसैले दसैँको यात्रा सुरक्षित बनाउन निम्न सावधानी अपनाऔँ ।

१. यात्रा सुरु गर्नुअघि सडकको अवस्था बुझौँ

बाढी, पहिरो, सडक भासिने वा डाइभर्सन निर्माण भएका सडकखण्डबारे आधिकारिक सूचना लिऔँ । मौसमको पूर्वानुमान र सडकको वर्तमान अवस्था बुझेर मात्र यात्रा तय गरौँ । बाटो खुलेको सूचना पाउँदैमा सडक पूर्ण सुरक्षित छ भन्ने नठानौँ ।

२. अग्रिम टिकट काटौँ, आधिकारिक सवारी प्रयोग गरौँ

सम्भव भएसम्म आधिकारिक काउन्टर वा विश्वसनीय माध्यमबाट टिकट बुक गरौँ । क्षमताभन्दा बढी यात्रु राख्ने, छतमा यात्रु चढाउने वा असुरक्षित सवारीसाधनमा यात्रा गर्ने कामलाई प्रोत्साहन नगरौँ । टिकट र भाडासम्बन्धी समस्या भए सम्बन्धित निकायमा जानकारी गराऔँ ।

३. तीव्र गति होइन, सुरक्षित गति रोजौँ

दसैँमा घर पुग्ने हतारले गति बढाउने वा जोखिमपूर्ण ओभरटेक गर्ने गल्ती नगरौँ । अगाडिको सवारीसँग सुरक्षित दूरी कायम राखौँ। घुम्ती, ओरालो, साँघुरो सडक र भिजेको सतहमा विशेष सावधानी अपनाऔँ ।

४. थकित अवस्थामा सवारी नचलाऔँ

लामो दूरीका चालकले प्रत्येक ६/६ घण्टामा पालो फेर्ने तथा पर्याप्त विश्राम लिनुपर्छ । निद्रा लागेमा वा थकान महसुस भए सुरक्षित स्थानमा रोकेर आराम गरौँ। आवश्यकताअनुसार वैकल्पिक चालकको व्यवस्था गरौँ र लागू हुने कानुनी प्रावधान पालना गरौँ ।

५. जोखिमयुक्त स्थानमा जबर्जस्ती अघि नबढौँ

पहिरो खसिरहेको, बाढी बगिरहेको वा सडक भासिएको स्थानमा सवारी पार गराउने जोखिम नलिऔँ । प्रहरी वा सम्बन्धित निकायले रोक लगाएको अवस्थामा निर्देशन पालना गरौँ । केही समय पर्खनु जीवन जोखिममा पार्नुभन्दा सुरक्षित विकल्प हो ।

६. मौसमअनुसार सवारी चलाऔँ

वर्षा, कुहिरो वा कम दृश्यता हुँदा गति घटाऔँ, आवश्यक बत्ती प्रयोग गरौँ र अगाडिको सवारीसँग बढी दूरी राखौँ । वाइपर, ब्रेक, टायर, बत्ती तथा अन्य आवश्यक उपकरणको अवस्था जाँचौँ ।

७. यात्रुका रूपमा जिम्मेवार बनौँ

चालकलाई छिटो चलाउन दबाब नदिऔँ । मोटरसाइकलमा गुणस्तरीय हेल्मेट प्रयोग गरौँ, कारमा सिटबेल्ट बाँधौँ र बालबालिकालाई सुरक्षित रूपमा राखौँ । सार्वजनिक सवारीमा क्षमताभन्दा बढी यात्रु राखिएको वा चालकले लापरबाही गरेको देखिए सम्बन्धित निकायलाई जानकारी गराऔँ ।

८. ट्राफिक नियम र सुरक्षाकर्मीको निर्देशन पालना गरौँ

सडक जाम, एकतर्फी सञ्चालन वा डाइभर्सनमा अधैर्य नबनौँ । निषेधित स्थानमा ओभरटेक नगरौँ र मादक पदार्थ सेवन गरी सवारी नचलाऔँ ।

९. आपत्कालीन तयारी गरौँ

मोबाइल चार्ज राखौँ, आवश्यक औषधि तथा पिउने पानी साथमा राखौँ र परिवारलाई यात्राको मार्गबारे जानकारी दिऔँ । दुर्घटना वा सडक अवरोधमा परे सुरक्षित स्थानमा रही सम्बन्धित निकायसँग सहयोग मागौँ ।

१०. हतारभन्दा जीवनलाई प्राथमिकता दिऔँ

गन्तव्यमा केही घण्टा ढिलो पुग्नु सामान्य कुरा हो; तर दुर्घटनाले जीवनभरको खुसी खोस्न सक्छ । आफ्नो र अरूको जीवनको मूल्य बुझेर जिम्मेवार व्यवहार गरौँ ।

दसैँको वास्तविक खुसी परिवारसँग सुरक्षित रूपमा पुनर्मिलन हुनुमा छ । सडकको अवस्था अनिश्चित हुन सक्छ, तर हाम्रो सावधानी र जिम्मेवारी निश्चित हुनुपर्छ । यस दसैँमा एउटै संकल्प गरौँ - हतार होइन, सावधानी; प्रतिस्पर्धा होइन, संयमता; जोखिम होइन, सुरक्षित यात्रा ।

ट्राफिक नियम जानौं पनि, मानौं पनि ।

  • विष्णु थापा
    प्रहरी वरिष्ठ नायव निरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...