पोखरा - लक्ष्मी समूहले खेलकुदमार्फत पोखरालाई चिनाउने र प्रवद्र्धन गर्ने प्रतिबद्धताका साथ नेपाल सुपर लिगमा पोखरा थन्डर्समार्फत व्यावसायिक आबद्धता जनाएको छ । यो समूहले पोखरा थन्डर्स नामको क्लबको मताधिकार (फ्रेंचाइजी) लिएर नयाँ खोज र अध्ययन गर्दै पोखरा लगायत देशभर फूटबलको विकास र प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।
नेपाल सुपर लिग देशको पहिलो फ्रेंचाइजी फुटबल प्रतियोगिता हो । जुन अप्रिल २४ देखि मे ८ सम्म आयोजना हुनेछ । यो प्रतियोगिता एन्फाको प्राविधिक सहयोगमा दशरथ स्टेडियममा राउन्ड रोबिन ढाँचामा खेलिने छ ।
लक्ष्मी समूह आफ्नो सुरुवातदेखि विभिन्न उद्योग र व्यापारहरुमा अब्बल रहदै आएको छ । आधा शताब्दीको लामो यात्राका साथ अहिले यस समूह अन्तर्गत २० वटा विभिन्न व्यावसायिक क्षेत्रका उद्योग छन् । अटोसँगै निर्माण, कृषि आधारित डेरी उद्योग, व्यापार, अस्पताल लगायतमा यो समूहको लगानी छ । यो समूह अब पोखरा थन्डर्स मार्फत खेलकुद क्षेत्रमा प्रवेश गरेको छ । खेलकुदको विकास र प्रवद्र्धनमा लक्ष्मी समूहको लामो इतिहास छ ।
समूहले नेपाल सुपर लिगमा लिलामी प्रकियाद्वारा मुख्य कोच तथा अरु सहकर्मी सहित सबल टिमको घोषणासमेत गरेको छ । अनुभवी मुख्य प्रशिक्षक नविन न्यौपानेको मागदर्शनमा उत्कृष्ट खेलाडीहरु नवयुग श्रेष्ठ, अनिल गुरुङ, सुजल श्रेष्ठ तथा तीन विदेशी खेलाडी (क्यामरुन) सहित टिमको घोषणा भएकोछ ।
नयाँ विचार र अवसरहरू खोजी गर्ने क्रममा लक्ष्मी ग्रुपले पोखरा थन्डर्स मताधिकारबाट (फ्रेन्चाइजी) नयाँ सफलताका कोसेढुङ्गाहरु पार गर्दै नेपाली फुटबलको विकासमा टेवा दिने आशा गरेको विज्ञप्तिमा उल्लेख छ ।