नाइमा एक्सपो संयोजक भन्छन् – एक्सपो सुपर सक्सेसफुल हुनेछ, सबैमा खुसीयाली छाउने छ

आगामी साउन २६ देखि ३१ सम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६’ आयोजना हुँदैछ । अटोमोबाइल व्यवसायीहरुको संगठना नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा सम्पन्न हुने उक्त एक्सपो यो वर्ष अझै भव्य हुने अनुमान गरिएको छ ।

नाइमा स्थापना पश्चात गत वर्ष पहिलो पटक एक्सपो आयोजना भएको र अहिले दोस्रो पटक उक्त एक्सपो हुन लागेको हो । यसै सन्दर्भमा एक्सपोका संयोजक गौरव शारडासँग गरिएको कुराकानी :

यस पटकको ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६’ अघिल्लो संस्करण भन्दा के कुरामा फरक र विशेष हुनेछ ?
गत वर्ष हामीले एकदमै छोटो समयमा एक्सपो आयोजना गर्नुपरेको थियो, किनभने हामीसँग कुनै पूर्वतयारी थिएन । यस अनुसार गत वर्ष भएका हाम्रा कमजोरीबाट सिकेर यो वर्ष केही न केही परिवर्तन गरेर यसलाई अझै प्रिमियम बनाउने सोचले अगाडि बढिरहेका छौ । त्यो प्रिमियमनेस स्टलको लेआउट देखि लिएर अवालेकनकर्ताहरुको फ्लो सम्म अनुभव गर्न सकिने छ । हामीले सबै कुरामा धेरै सुधार गर्नेछौ । फुड पार्टनर देखि लिएर स्टल व्यवस्थापन सम्म सबैमा हामीले सुधार गर्ने प्रयास गरेका छौ । यस अनुसार समग्र पक्षमा यो वर्ष विशेष फरक हुनेछ ।

यो एक्सपोले नेपालको समग्र अटोमोबाइल व्यवसाय र मोबिलिटी क्षेत्रलाई कसरी चलायमान बनाउने अपेक्षा गर्नुभएको छ ?
नाइमा नेपाल मोबिलिटी एक्सपोमा व्यापारिक कुरा मात्र हुने छैनन् । प्रदर्शक र ग्राहक बिचको सम्बन्ध त छँदैछ, यो वाहेक लर्निङ सेसन लगायतका फरक पक्ष पनि रहेका छन् । लर्निङ सेसनमा सबै सहभागी बनेर मोबिलिटी र फाइनान्ससँग सम्बन्धित धेरै कुरा जान्न पाउनु हुनेछ । हिजो, आज र भोलिको मोबिलिटीका साथै यसमा भएका चुनौतीको वारेमा पनि थाहा हुनेछ । ब्याट्री म्यानेजमेन्ट लगायत इथानोल र अन्य विभिन्न नयाँ विषयमा अन्तर्राष्ट्रिय वक्ताहरु समेत सहभागी हुनुहुनेछ । यसमा सरकारी निकाय र अटोमोबाइल क्षेत्रमा रहेका विशेषज्ञ र सेलिब्रेटी सम्मको सहभागिता हुनेछ । यसबाट मोबिलिटी क्षेत्रलाई एउटा दिशानिर्देश प्रदान गर्ने अपेक्षा गरेका छौ ।

यस वर्षको एक्सपोमा ‘इलेक्ट्रिक भेइकल’ र दिगो मोबिलिटीका नयाँ प्रविधिहरूलाई कत्तिको प्राथमिकता दिइने छ ?
नेपाल मात्र होइन, अहिले विश्व नै ईभीतिर लम्किरहेको सन्दर्भमा विभिन्न ईभी निर्माता कम्पनीहरुले आफ्ना उत्पादन प्रदर्शन गर्नेछन् । पेट्रोल, डिजेलबाट चल्ने गाडी र ईभीका साथै हाइब्रिड सोलुसनहरु समेत प्रस्तुत हुनेछन् । त्यसैगरी दुईवटा चार्जिङ पार्टनरहरुको समेत सहभागिता हुनेछ । ईभीको सन्दर्भमा सबैभन्दा आवश्यक पूर्वाधार नै चार्जिङ पूर्वाधार हो । यसका लागि आवश्यक सोलुसन समेत त्यहाँ उपलब्ध हुनेछ ।

एक्सपोमा आउने अवलोकनकर्ता तथा सम्भावित ग्राहकहरूका लागि मुख्य आकर्षण र अफरहरू के–के हुनेछन् ?
एक्सपोको मुख्य आकर्षण नै त्यहाँ सार्वजनिक हुने विभिन्न ब्रान्डका उत्पादन हुन् । यसमा ५५ भन्दा बढी ब्रान्ड सहभागी हुनेछन् । समग्रमा २६ वटा चारपांग्रे, १८ वटा दुईपांग्रे र ८ पटा कमर्सियल सवारी साधन ब्रान्डका उत्पादन प्रदर्शन हुनेछन् भने ४० भन्दा बढी नयाँ प्रोडक्ट सार्वजनिक हुनेछन् । यी सबै नै एक्सपोका आकर्षण हुनेछन् ।

अवलोकनकर्ताहरुका लागि छुट्टै केही अफर वा आकर्षण छन् कि ?
यो कम्पनीहरुले आफ्नै तरिकाले गर्ने हो । अहिले यसको वारेमा खासै जानकारी छैन । पछि कम्पनीहरुले नै सार्वजनिक गर्नेछन् । अवलोकनकर्ताहरुका लागि क्युआर कोडमार्फत विभिन्न टिकटमा छुट, राइड सेयरिङमार्फत डिस्काउन्ट लगायतका अफरहरु चाहिं हुनेछन् । यस्तै अफर र छुटका लागि प्रयास हुनेछ ।

बैंकको ब्याजदर, नीतिगत व्यवस्थाहरू र सरकारका रणनीतिहरूले अटोमोबाइल एवं मोबिलिटी क्षेत्रलाई कसरी प्रभावित पारिरहेका छन् ?
देशको आर्थिक अवस्था राम्रो भयो भने हामी पनि त्यसैको भाग भएकाले फाइदा पुग्छ । अटोमोबाइल उद्योग माथिल्लो अवस्थामा पुगिसकेको छ । फेरि यो अस्थिर छ । यो बढ्ने गरेको पनि पाइदैन । कुनै पनि उद्योगले वृद्धि खोज्छ । प्रत्येक वर्ष त्यही संख्यामा यो उद्योग चलिरहेको पाइन्छ । यद्यपि हाल बैंकको ब्याजदर कम भएको अवस्था छ । यो अवस्थामा पनि हामीले प्रगति गर्न सकेनौ भने हाम्रो लागि चुनौती हुनेछ । यो अवस्थामा मोबिलिटी एक्सपोले हाल सुस्त अवस्थामा रहेको आर्थिक क्षेत्रलाई केही न केही सुधार गर्ने अपेक्षा गर्न सकिन्छ ।

जुन ब्याजदरको कुरा गर्नुभयो, यसले सवारी साधनको बिक्रीमा पक्कै पनि असर गर्छ । पछिल्लो समय सवारी साधनको बिक्रीमा आएको उतारचढावलाई नाइमाले कसरी नियालिरहेको छ ?
मैले पहिले नै भने हामी स्थिर अवस्थामा छौ । पहिले ब्याजदर १२ प्रतिशत हुँदा एक वर्षमा जति सवारी साधन आयात भएर बिक्री हुने गरेका थिए, अहिले ६,७ प्रतिशतको अवस्थामा पनि त्यही अवस्था छ । यसका धेरै कारण हुन सक्छन् । यो अवस्थामा अहिले हुन लागेको मोबिलिटी एक्सपो र दशै तिहार जस्ता फेस्टिभ सिजन अगाडि केही राम्रो होला । गाडी र बाइकको व्यापार बढ्ला । अहिले कम ब्याजदरको फाइदा उठाएर ग्राहकले सवारी साधन किन्ने अनुमान गर्न सकिन्छ ।

समग्रमा अहिले सकारात्मक वातावरण नै छ भन्नुप-यो ?
सकारात्मक भएरै चल्नुप-यो ।

अटोमोबाइल र मोबिलिटी क्षेत्रलाई आर्थिक विकासको मेरुदण्डका रूपमा स्थापित गर्न नाइमाले सरकारसँग के कस्ता पहल गरिरहेको छ ?
सबैभन्दा पहिले नीतिगत पक्ष राम्रो हुनुपर्छ । विशेष गरी करका दर वारेमा दीर्घकालीन नीति आवश्यक छ । यस अनुसार नीतिगत फ्रेमवर्कमा हामीले सरकारलाई विभिन्न अनुरोध गरिरहेका छौ । त्यसैगरी विभिन्न प्रकारका वर्गीकरण, जस्तै हाइब्रिडको वर्गीकरण आदिमा ध्यान दिनुप-यो । धेरै नयाँ प्रविधि आइरहेका छन्, ती प्रविधि उपयोगका लागि सरकार तयार हुनुप-यो । त्यसलाई अपनाउन, वर्गीकरण गर्न र कर निर्धारण गर्न आवश्यक व्यवस्था गर्नुप-यो । यी सबै वाहेक अर्को महत्वपूर्ण पक्ष भनेको स्किल डेभलपमेन्ट हो । लाखौ नेपाली देश छोडर गइरहेका छन्, नेपालमा रोजगारी भएन भनेर । यद्यपि हामी रोजगारी वा मौका प्रदान गर्नका लागि तयार छौ, तर उनीहरुमा स्किल ग्याप छ । यो स्किल डेभलपमेन्टमा सरकारको विशेष भूमिका हुन सक्छ । त्यसकारण चाहिं ‘राइट पर्सन फर द राइट जब’ बनाउनका लागि राइट एजुकेसन हुनुपर्छ । यस कुरामा पनि हामी सरकारसँग आवश्यक समन्वय गरिरहेका छौ ।

त्यसैगरी पूर्वाधार निर्माण अर्को आवश्यकता हो । हाम्रा राजमार्गहरुमा आवश्यक पूर्वाधार छैनन् । सरकारले आवश्यक पूर्वाधार निर्माणमा खर्च गरेर छोटो समयमा पुग्न सकिने गरी आवश्यक व्यवस्था गर्नुपर्छ । यसो भयो भने आर्थिक क्षेत्र पक्कै पनि चलायमान हुन्छ । यी सबै कार्यका लागि नाइमाले सरकारसँग आवश्यक पहल गरिरहेको छ ।

नेपालमा ईभीको माग तीव्र गतिमा बढिरहेको छ । तर चार्जिङ स्टेसन र बिक्रीपछिको सेवाको पूर्वाधार अझै पर्याप्त छैन । यसलाई सुधार्न नाइमा र सरकारको सहकार्य कस्तो हुनुपर्छ ?
नाइमा एउटा संस्था मात्र हो । यो कुनै नाफामूलक संस्था होइन । तर पनि सदस्यहरुसँग यसका लागि पहल गरिरहेको छ । सामान्य रुपमा हेर्दा पनि कुनै ब्रान्ड नेपालमा उपलब्ध गराए पश्चात आफ्टर सेल्स सर्भिस नै उपलब्ध भएन भने सो प्रोडक्ट कसले किन्छ ? यत्रो ठूलो लगानी गरे पछि पक्कै पनि सर्भिस लगायतका पक्ष त मजबुत नै बनाउछन् । ग्राहकले पनि लाखौ रुपैयाँ खर्च गरेर सवारी साधन किने पछि पक्कै पनि सर्भिस चेक गर्छन् । आजकालका ग्राहक पक्कै पनि स्मार्ट छन् ।

त्यसैगरी चार्जिङ पूर्वाधारको क्षेत्रमा भने अहिले निजी क्षेत्रले नेतृत्व गरिरहेको छ । अहिले पूर्वदेखि पश्चिमसम्म हाइवेमा गाडी कुदाउदा पच्चीस, तीस किलोमिटरमै एउटा चार्जिङ स्टेसन पाइन्छ । कुनै एप, ब्रान्ड, होटल वा कफिसप सबैले यस्ता स्टेसन चलाइरहेका छन् । दुर्गम विकट स्थानमा समेत राम्रो अवस्था छ ।

अहिले सन्तुष्ट हुन सकिन्छ भन्न मिल्यो ?
अहिलेको अवस्थामा सन्तुष्ट हुन सकिन्छ । समग्र हाइवेको हिसाबले भने गाउँगाउँतिर अलि माथितिर चाहिं छैन । हुन सक्छ, दशैको बेला चाप बढेको बेला समस्या हुन सक्छ । गाडी चार्ज गर्न पाँच मिनेट मात्र लाग्ने होइन । तर समग्र अहिले हाइवेतिर खासै लाइन कुर्नु पर्दैन ।

ईभीको कर नीतिमा आउने पटक-पटकको परिवर्तनले व्यवसायी र उपभोक्ता दुवैमा अन्यौलता सिर्जना गर्छ, यस विषयमा नाइमाको आधिकारिक धारणा के छ ?
मैले पहिले नै भने, एउटा भिजन हुनुप-यो । सरकारले मोबिलिटी क्षेत्रलाई पाँच वर्ष भित्र कहाँ पुगेको देख्न चाहन्छ भनेर भिजन दिनु प-यो । यो भिजन सरकारले दिनुप-यो । कर बढाउदिन भनेर आश्वासन दिनु प–यो भन्न खोजेको पनि होइन । सरकार नै करले चल्ने हो । तर दीर्घकालीन नीति बनाएर हामी करको सन्दर्भमा अब यो तरिकाले जादैछौ भनेर कुनै निश्चित सेगमेन्टको लागि कार्य गरेमा हामीलाई लगानी गर्न पनि सहज हुन्थ्यो । निजी क्षेत्रले त्यही अनुसार जनशक्ति विकास गर्छ । उदाहरणको लागि ईभीको क्षेत्रमा सीप विकास नभएको अवस्थामा निजी क्षेत्रले नै यसमा काम ग-यो नि । निश्चित भिजन भएमा नै डिलर नेटवर्क, सर्भिस सेटअप हुन्छ । हामीले एक दिन वा एक वर्षको लागि मात्र लगानी गरेर भएन । लामो समयका लागि गर्नुपर्छ ।

त्यसैगरी पिक पावरको सन्दर्भ पनि आइरहेको छ । यस सम्बन्धी जुन अन्तर्राष्ट्रिय स्तरको डकुमेन्ट छ, त्यसलाई मान्नु प-यो । पहिलो कुरा त यो पिक पावरमा लाग्ने ड्युटी नै थिएन । हामी त पहाडी राष्ट्र हौ । हामीकहाँ त झन् पावरफुल गाडी आएको राम्रो । यसको वारेमा कुनै सोच भएको होला भन्ने लाग्यो । तर अध्ययन नै भएन । अर्को कुरा यस सम्बन्धी नीति ल्याउदा निजी क्षेत्रसँग कुनै सल्लाह नै भएन । आगामी दिनमा यस्ता कुरामा ध्यान दिनु प-यो । यो क्षेत्रको वारेमा हामी नै जानकार छौ । पिक पावरको सन्दर्भमा पहिले यातायातले र भन्सारले डकुमेन्टको आधारमा गाडी छोडिसके पछि फेरि विरोध निस्क्यो । अहिले त हामीलाई चोरै भन्न थाल्यो । अब कि त्यो डकुमेन्ट सही होइन भन्नु प-यो । युएन, ईयु, चाइनिज गर्भमेन्टको एजेन्सी आदिले दिएको डकुमेन्ट नै गलत भन्नु प–यो । कि यसका लागि आवश्यक चेकजाँचको व्यवस्था गर्नु प-यो । हामीकहाँ यसका लागि आवश्यक पूर्वाधार नै छैन । चोर मात्र भनेर भएन, नैतिकता नै कमजोर हुने गरी काम गर्नु भएन । यसका वारेमा स्पष्ट दृष्टिकोण हुनु आवश्यक छ ।

नेपालमै सवारीसाधन एसेम्बल गर्ने उद्योगहरू खुल्ने क्रम सुरु भएको छ । नेपाललाई ‘मोबिलिटी एसेम्बली हब’ बनाउन कस्ता नीतिगत सहुलियत आवश्यक पर्छ ?
नाइमाको नामै म्यानुफ्याक्चरर्स एसोसिएसन भनेर आएको छ । यस अनुसार हामीले यसमा अवश्य पनि ध्यान दिन्छौ । आयातकर्ता र उत्पादक बनेर । तर चुनौती भनेको फेरि त्यही बजार नै हो । नेपालमा वर्षमा करिव १३, १४ हजार गाडी बिक्री हुन्छन् । विगत चार वर्ष देखि हामी त्यही फिगरमा छौ । हालको सन्दर्भमा हेर्दा नाइमामा संलग्न २६ वटा फोर ह्विलर ब्रान्डका औसतमा दुई तीनवटा मोडल होला । सबैगरी करिव सय मोडल नेपालमा बिक्री हुने अनुमान गर्दा एउटाको भागमा १२०, १३० पर्ला । अब के वर्षमा १२०, १३० मोडल उत्पादन गर्नका लागि नेपालमा एसेम्बल उद्योग खोल्न सम्भव होला ? फेरि भ्याल्यु एडिसनका कुरा पनि छन् । यसकारण यो अलि सान्दर्भिक जस्तो लाग्दैन । तर पनि यस्ता उद्योगका लागि आवश्यक प्रोत्साहनको नीति लिनु पर्छ भन्ने मान्यता छ । बाइकको सन्दर्भ चाहिं अलि फरक छ । नेपालमा वार्षिक रुपमा तीन चार लाख बाइक बिक्री हुन्छन् । यसको एसेम्बल नेपालमा सफल पनि छ । गाडीको केसमा अझै अध्ययनको आवश्यकता देखिन्छ । बरु यो उद्योग अझै बढ्दै गयो भने सम्भव पनि हुन्छ ।

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ समापन पश्चात अर्को दिनको वातावरण कस्तो होला भन्ने अनुमान गर्नुभएको छ ?
यो एक्सपो सुपर सक्सेसफुल होस् भनेर हामी प्रयासरत छौ । गत वर्ष हामीले एक्सपो गर्दा छोटो समय भएकाले हामीलाई धेरैले चिनेकै थिएनन् । यद्यपि गत वर्ष पनि यो सफल रहेको थियो । हाम्रा प्रदर्शक र अवलोकनकर्ता तथा प्रायोजकका साथै हाम्रो सचिवालयको पनि यसमा विशेष भूमिका रहेको थियो । हामी यो वर्ष पनि अझै मेहनतका साथ अगाडि बढेका छौ । यो वर्ष गत वर्ष भन्दा बढी अर्थात ५५ भन्दा बढी प्रदर्शक छन् भने त्यही अनुसार बढी नै स्पोन्सर र एक्सपेरियन्स समेत छ । यसकारण यो वर्ष शतप्रतिशत एक्सपो सफल हुने र समापन पश्चात सबैमा खुसी छाउने अनुमान गरेका छौ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...