जेन–जी प्रदर्शनबाट अटोमोबाइल व्यवसायमा गम्भीर क्षति : व्यवसायीले दिए उच्च अभिव्यक्ति

देशभर जेन–जीले गरेको प्रदर्शनको क्रममा अन्य क्षेत्र जस्तै अटोमोबाइल क्षेत्रमा समेत गम्भीर क्षति पुगेको छ । यो अवस्थामा आफ्नो निजी सम्पत्तिमा क्षति पुगेको अवस्थामा समेत व्यवसायीहरुले निराश र विचलित नभएको अभिव्यक्ति दिएका छन् । तर पनि आफ्नो पहिलेको इतिहासलाई नै भुलेर यसरी सरासर आक्रमण हुँदा चिन्तित रहेको समेत उनीहरुको अभिव्यक्ति छ । यो अवस्थामा नेपालमै केही गरौ भन्नेहरुका लागि थप चिन्ता थपिएको समेत उनीहरुको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छाले जेन–जीले गरेको प्रर्दशनका क्रममा आफ्नो उद्योग र निजी निवासमा आगलागी तथा तोडफोड भएपनि आफू निराश र बिचलित नभएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गोल्छाले आफू र आफ्नो परिवार विचलित नभएको बताएका छन् । देशमा सरकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको सपना पूरा होस् भन्ने उनको कामना छ।

’देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा होस् । केही व्यवसायी माथि भएको विभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो। तर म र मेरो परिवार निरास वा विचलित भएको छैन,’ उनले भनेका छन्,’आजको सुनौलो बिहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामना सहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहन्छु ।’

हालैको आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र लुटपाटका घटनाले चौधरी ग्रुपमा ठूलो क्षति पु¥याएको छ। समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यसलाई कम्पनीको इतिहासकै पीडादायी क्षण भनेका छन्।

उनका अनुसार परिवर्तन र जवाफदेहिताको मागसहित सुरु भएको आन्दोलनलाई असामाजिक तत्व र बाह्य शक्तिले हिंसात्मक रुप दिएपछि दशकौंको मेहनत, त्याग र लगानी केही घण्टामै ध्वस्त भएको छ। यस क्रममा अध्यक्षलाई व्यक्तिगत रूपमा लक्षित गरियो, पारिवारिक घरमा आगजनी गरियो, उद्योग–कारखाना तथा कार्यालयमा क्षति पु¥याइयो र विभिन्न शोरुम लुटपाटमा परे।

तर निराशा र अन्धकारबीच पनि सीजी परिवारको साहस देखिएको उनले उल्लेख गरे। ’आगो र अशान्तिका बीच पनि नेतृत्व, प्रबन्धक र कर्मचारीहरूले आफ्नो सुरक्षा जोखिममा राखेर सम्पत्ति जोगाउने, ग्राहकलाई सेवा निरन्तर गर्ने र कम्पनीको वचनलाई जिउँदै राख्ने काम गरे,’ चौधरीले भने।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का निवर्तमान अध्यक्ष ध्रुव थापा विगत तीन दशकदेखि उद्यमशीलता, सामाजिक सेवा र मानवतावादी योगदानका लागि चिनिँदै आएका नाम हुन्। तर, पोखरास्थित शोरुम र घरमा भएको आगलागीले उनलाई जीवनकै सबैभन्दा ठूलो पीडासँग जुध्न बाध्य बनाएको छ।

‘म कुनै राजनीतिक मान्छे थिइनँ। न भ्रष्ट न त तस्कर,’ जीवन यात्राबारे स्मरण गर्दै थापाले भने, ‘१७ वर्षमै कलेज पढ्दै उद्यम सुरु गरेको थिएँ। आरोह–अवरोह, जोखिम सबै भोग्दै यहाँसम्म आइपुगेको हुँ। नेपालमै सम्भावना धेरै छ भनेर अरुलाई पनि उद्यम गर्न प्रेरित गर्दै आएको छु।’

आगलागीले घर मात्र नभई थापाको आत्मबललाई पनि चोट पु¥याएको छ। बुबाबाजेले आर्जेको जग्गामा बनेको, ३५ वर्षको मेहनत र पसिनासँग जोडिएको घर एकैछिनमा खरानीमा परिणत भएको थापाले बताए।

‘आजसम्म कुनै गलत कार्य गरेको अनुभूति छैन,’उनले भावुक हुँदै भने, ‘तर आफ्नै घर जलाईएको बेला मन पनि जल्दो रहेछ।’

विपत्तिपूर्ण घडीमा साथ र सहानुभूति प्रकट गर्नेहरूलाई थापाले आभार प्रकट गर्दै भने, ‘तपाईंहरूको उत्प्रेरणाले हामीलाई अझ सशक्त भएर अघि बढ्ने हौसला मिलेको छ।’

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष तथा युवा व्यवसायी करण चौधरीले जेन-जी आन्दोलन पछिको परिवर्तनले नयाँ आशा जगाएको बताएका छन् । मानवीय क्षति र भौतिक क्षतिहरु पीडादायी रहेको स्मरण गर्दै उनले थप जिम्मेवार भएर अगाडि बढ्नुपर्ने दिन आएको बताए ।

‘हो, केही पीडादायी क्षणहरू भए, जसलाई हामी सबैले चाहेनौँ । तर विगतलाई हामी पछाडि छोडिसक्यौँ । आजको दिन हाम्रो हातमा छ । अहिलेको जिम्मेवारी हाम्रो काँधमा छ,’ उनी सामाजिक सञ्जालमा आफ्नो सन्देश लेख्दै भन्छन्, ‘यो हाम्रो क्षण हो, नेपाललाई नयाँ उचाइमा पु-याउने अवसर हो । आउनुहोस्, हामी सबैले वाचा गरौँ, सचेत नागरिक बन्ने, अनुशासनलाई आफ्नो धर्म ठान्ने र मातृभूमिको सेवामा आफ्नो सम्पूर्ण शक्ति अर्पण गर्ने ।’

गोल्छा, चौधरी र थापा अन्य व्यवसायका साथै अटोमोबाइल व्यवासयमा समेत जोडिएका छन् । हालको आन्दोलनको क्रममा उनीहरुको व्यवसायमा समेत गम्भीर क्षति पुगेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौं रुपैयाँ बराबरको क्षति भएको जनाएको छ। क्षतिबारे महासंघले थप विवरण संकलन गरिरहेको भए तापनि क्षतिको कारण राजस्व र कुल घरेलु उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आकलन गरेको समेत जनाएको छ।

’पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएका छन्। यसरी व्यक्तिगत एवं व्यवसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासंघ भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ’महासंघ व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताको लागि सम्पूर्ण सबैको ध्यानाकर्षण गराउन चाहन्छ।’

निजी क्षेत्रका गतिविधि निर्वाध रूपमा सञ्चालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजस्वमा समेत नकारात्मक प्रभाव पर्ने महासंघले जनाएको छ। ’त्यसैले सर्वप्रथम आम सर्वसाधारण तथा उद्यमी व्यवसायले निर्वाध रूपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन हुन आग्रह गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पनि क्षतिको विवरण संकलन गरिरहेको र यसको वारेमा जानकारी सार्वजनिक गर्ने जनाएको छ ।

काठमाडौंको थापाथलीस्थित विभिन्न कम्पनीका शोरुमहरु जलेका छन् । सो क्रममा त्यहाँ भएका सवारी साधनमा समेत क्षति पुगेको छ ।

अटो हबको रुपमा परिचित थापाथलीमा रहेका विभिन्न कम्पनीका शोरुमहरु जलेका छन् । आन्दोलनकारीहरुले सुजुकीको आधिकारिक वितरक सीजी मोटोकर्प, चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्स, टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङको शोरुम आगजनी गरेका छन् ।

यस्तै महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक वितरक अग्नि इनकर्पोरेट र हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलको शोरुम तोडफोड गरिएको छ। पोखरास्थित नयाँ बजारका शोरुममा समेत क्षति पुगेको छ ।

सम्बन्धित समाचारहरू

७ वटा ब्रान्डका चार पाङ्ग्रे र १६ व्रान्डका दुई पाङ्ग्रे सहित नाडा इभी एक्स्पोमा ५१ वटा स्टल हुने

७ वटा ब्रान्डका चार पाङ्ग्रे र १६ व्रान्डका दुई पाङ्ग्रे सहित नाडा इभी एक्स्पोमा ५१ वटा स्टल हुने

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्न लागेको पहिलो इभी...

विद्यूतीय सवारी साधनमा लगाइएको करमा पुनर्विचार गर्न नाडाको आग्रह

विद्यूतीय सवारी साधनमा लगाइएको करमा पुनर्विचार गर्न नाडाको आग्रह

काठमाडौं – हालै अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमार्फत १००...

अटो शोमा बीवाईडीले नयाँ कार ‘सिलायन–०७’ प्रदर्शन गर्ने

अटो शोमा बीवाईडीले नयाँ कार ‘सिलायन–०७’ प्रदर्शन गर्ने

काठमाडौं– बीवाईडीले नाडा अटो शो २०२४ मा प्रदर्शनीका लागि नयाँ विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...