अटो मेकानिक्स वर्कशपमा अब डस्टबिन
काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघले काठमाडौं उपत्यकाका विभिन्न...
नेपालका सडकहरूमा गुड्ने ठूला तथा भारी (हेभी) सवारी साधनहरू ट्रक, बस र टिप्पर यातायात प्रणालीका मेरुदण्ड हुन् । तर, पछिल्लो समय सडकमा एउटा डरलाग्दो प्रवृत्ति बढ्दो छ - त्यो हो सडकमा यी भारी सवारी साधनहरु दायाँ किनारा च्यापेर चलाउने । ट्राफिक नियम अनुसार ढिलो/बिस्तारै गुड्ने र ठूला सवारी साधनले सधैँ बायाँ लेन प्रयोग गर्नुपर्ने भए तापनि, बीच सडक वा दायाँतर्फबाट गाडी गुडाउँदा सडक सुरक्षामा गम्भीर चुनौती थपिएको छ ।
सडकको दायाँ भाग सामान्यतया उछिन्ने (Overtaking) प्रयोजनका लागि वा साना र तीव्र गतिका सवारीका लागि छुट्याइएको हुन्छ । जब एउटा ठूला तथा भारी सवारी साधनले दायाँ लेन ओगटेर बस्छ, त्यसले निम्त्याउने समस्याहरू धेरै हुने गर्छन । त्यसैले, सम्भावित दुर्घटना न्यूनीकरण गर्न र आफ्नो तथा अन्य यात्रु समेतको सुरक्षित यात्राका लागि निम्न जीवनोपयोगी उपायहरू अनिवार्य रूपमा अपनाउनुहोस् :-
१. सधैँ बायाँ लेन (Left Lane) को प्रयोग गर्नुहोस्
ट्राफिक नियम अनुसार ढिलो गुड्ने र भारी सवारीले सधैँ बायाँ किनारा च्यापेर चलाउनुपर्छ। दायाँ लेन केवल उछिन्ने (Overtaking) प्रयोजन वा साना र तीव्र गतिका सवारीका लागि मात्र हो । बीच सडकमा गाडी गुडाएर दुर्घटनालाई निम्तो नदिनुहोस् ।
२. 'ब्लाइन्ड स्पट' (Blind Spot) बाट जोगिनुहोस् र साइड मिररको सही सेटिङ गर्नुहोस्
हेभी सवारीको बनावटका कारण यसको बायाँतर्फ चालकले ऐनामा नदेख्ने क्षेत्र (Blind Spot) अन्य सवारीको तुलनामा निकै ठूलो हुन्छ । यदि तपाईँले दायाँ लेन ओगटेर बस्नुभयो भने साना सवारीले बाटो नपाएर बायाँबाट (गलत दिशा) उछिन्ने जोखिमपूर्ण प्रयास गर्छन्, जुन ऐनामा नदेखिने हुँदा अत्यन्तै घातक हुन्छ । साइड मिररको सही सेटिङ र बायाँ लेनको प्रयोग नै यस्ता लुकेका जोखिमबाट बच्ने उत्तम उपाय हो ।
३. आपत्कालीन सवारीलाई प्राथमिकता दिनुहोस्
तपाईँले दायाँ लेन खाली राखिदिँदा एम्बुलेन्स, दमकल जस्ता आपत्कालीन सवारीहरू बिना अवरोध गन्तव्यमा पुग्न सक्छन् । तपाईँको थोरै अनुशासनले कसैलाई नयाँ जीवन मिल्न सक्छ ।
४. सडकमा रिस र अनावश्यक हतारो नगरौँ
बीच सडक वा दायाँ लेन ओगटेर गाडी गुडाउँदा पछाडि सवारीको लामो लाइन लाग्छ, जसले अन्य चालकहरूलाई निराश र क्रुद्ध बनाउँछ । यस्तो अवस्थामा बाटो नपाउँदा अन्य चालकले रिसको आवेगमा गलत ढङ्गले गाडी ओभरटेक गर्न सक्छन्, जुन दुर्घटनाको कारण बन्छ । त्यसैले, सडकमा धैर्यता कायम राखौँ, सबैलाई सम्मान गरौँ र सुरक्षित रूपमा बाटो दिने संस्कार बसालौँ ।
५. मोडहरूमा विशेष सावधानी
मोड काट्दा सधैँ आफ्नो साइड (बायाँ) नै च्याप्नुहोस् । हेभी सवारीले मोडमा दायाँ लेन मिच्दा विपरीत दिशाबाट आउने सवारीसँग सिधै ठोक्किने जोखिम रहन्छ ।
६. ऐना (Side Mirrors) को नियमित प्रयोग
बायाँ किनारामा बसेर गाडी चलाउँदा तपाईँले दाहिनेतर्फको ऐनाबाट पछाडिको ट्राफिक स्पष्ट देख्न सक्नुहुन्छ । पछाडिबाट कुनै तीव्र गतिको वा आपत्कालीन सवारी आएको छ कि छैन भनी नियमित रूपमा ऐना हेर्ने बानी बसाल्नुहोस् । सुरक्षित स्थान देख्नेबित्तिकै दायाँतर्फको संकेत (Side Light) दिएर पछाडिको त्यस्ता सवारीलाई सुरक्षित रूपमा अघि बढ्न अनुमति दिनुहोस् ।
७. अहंकार होइन, जिम्मेवारी बोक्नुहोस्
"मेरो गाडी ठूलो छ, मलाई कसले के गर्छ ?" भन्ने सोच दुर्घटनाको मुख्य जड हो । सडकमा गाडीको आकार जति ठूलो हुन्छ, चालकको जिम्मेवारी पनि त्यति नै बढी हुन्छ । सडक सबैको साझा हो भन्ने कहिल्यै नबिर्सनुहोस् ।
सडक सुरक्षाको पहिलो शर्त नै 'लेन अनुशासन' हो । हेभी सवारी चालकहरूले बायाँ किनारा च्यापेर गाडी चलाइदिने हो भने हाम्रा सडकहरू धेरै सुरक्षित र शान्त हुनेछन् । तपाईँको एउटा सानो सावधानीले कसैको जीवन बच्न सक्छ । त्यसैले, सडकमा "ठूलो" हुनुको अर्थ "जिम्मेवार" हुनु पनि हो । सधैँ बायाँ लेन रोजौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ ।
ट्राफिक नियम जानौँ पनि, मानौँ पनि ।
– प्र.ब.ना.नि. बिष्णु थापा
प्रमुख–जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोक
काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघले काठमाडौं उपत्यकाका विभिन्न...
काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघको आयोजना र ललितपुर...
ब्ल्याक बक्सको प्रयोग विशेषगरी प्लेन र हेलिकप्टरमा गरिन्छ । ब्ल्याक बक्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...