काठमाडौं – थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले ईभी अर्थात इलेक्ट्रिकल भेइकल बनाएका छन् । उनीहरुले यो ईभी मान्छे बोक्न वा सामान ढुवानी गर्नका लागि होइन, आगामी सेप्टेम्बरमा आयोजना हुन लागेको विश्व प्रतिस्पर्धाका लागि बनाएका हुन् ।
अहिले गाडीको चेसिस मात्र तयार भएको छ । सिरेटो टिमका अनुसार कलेजको परीक्षाका कारण ईभीको बाहिरी भाग (फ्रेम) बनाउने काम बाँकी छ । उनीहरुले बाहिरी भाग पनि चाँडै बनाउदै छन् । उनीहरुको टिमको नाम सिरेटो रहेको छ ।
सिरेटो टिम भन्दा सुन्नेहरू अकमकिन्छन् । तर, उनीहरूले नयाँ कामको सुरुवातलाई मौसम परिवर्तन हुँदा चल्ने चिसो बतास (सिरेटो)सँग जोडेर टिमको नामकरण गरेका हुन । अर्थात प्रतियुनिट विद्युतबाट केही किलोमिटर गुड्ने गाडीलाई मौसम परिवर्तन जस्तै अनुभूत गराउँदै धेरैभन्दा धेरै माइलेज दिने योजनामा तन–मनले लागेका छन् ।
सेल इनर्जीले अमेरिका, युरोप र एसियाली मुलुकमा म्याराथन आयोजना गर्दै आइरहेको छ । जहाँ विद्युतीय, पेट्रोलियम र हाइड्रोजन फ्युलबाट चल्ने गाडीबीच प्रतिस्पर्धा हुन्छ । यो प्रतिस्पर्धामा थोरै इनर्जी खपत गरेर धेरै माइलेज दिने आविष्कार उत्कृष्ट ठहरिन्छ ।
सिरेटो टिममा स्नातक तेस्रो वर्षमा अध्ययनरत मेकानिकल, अटोमोबाइल, इलेक्ट्रिकल लगायत विभिन्न विधाका १० विद्यार्थी सहभागी रहेका छन् । फ्याकल्टी एडभाइजर सुबोधकुमार घिमिरेले उनीहरूलाई डोहो¥याइरहेका छन् । घिमिरेको सल्लाह र सुझाब लिँदै मेकानिकल विषय पढिरहेका सौगात पाण्डे, धनप्रसाद प्रधान र ओजश्वी शर्मा अनि अटोमोबाइल विषय पढिरहेका अनिल खड्का, अमन श्रेष्ठ, युगेन महर्जन, भुवनेश्वर दाहाल र विवेक पौडेलका साथै इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन विषय पढिरहेका स्वर्णिम श्रेष्ठ सबैको दिमागले भ्याएसम्म राम्रो र उत्कृष्ट निर्माणमा लागि रहेका छन् ।
गोल्छा ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो इलेक्ट्रिकल भेइकल बनाउन गोल्छा ग्रुपले सहयोग गरेकोे छ । गोल्छा ग्रुपले सधै नयाँ कामको र नयाँ खोजको कदर गर्दै आएको बताएको छ ।
गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलासचन्द एन्ड कम्पनीले नेपालमा बजाज, केटीएम र हस्कभर्ना बाइक बिक्री–वितरण गर्दै आएको छ ।