काठमाडौं – सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार गत पुस महिनामा विभागले कार्यविधि संशोधन गर्न मन्त्रालयलाई प्रस्ताव पेश गरेकोमा मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भएको छ । अब कार्यविधि संशोधन गरिने र यसपछि सानो गल्तीले गर्दा ट्रायल फेल नहुने विभागका महानिर्देशक घिमिरेले बताए ।
कार्यविधिको ड्राफ्ट तयार भइसकेको र पास भए पश्चात यसलाई व्यावहारिक रुप दिइने छ ।
‘पहिले ट्रायल पास वा फेल मोडल थियो। अब पास वा न्युमेरिकल भ्यालुबाट मुल्यांकन हुन्छ,’ उनले भने। अहिलेसम्म ट्राफिकले सिट्ठी फुकेर बोलाएपछि ट्रायल दिन गइन्थ्यो भने अब सवारी साधन चलाउनुभन्दा अगाडि के–के कुरामा ध्यान दिनुपर्छ त्यो पनि हेरिने उनले बताए।
‘कुनै पनि सवारी साधन चलाउँदा डिजेल वा पेट्रोल छ, छैन, ब्रेकको अवस्था, हेलमेट लगाउनुपर्ने लगायत आधारभुत कुरामा ध्यान दिनुपर्छ। अब ट्रायलमा त्यो पनि समावेश हुन्छ,’ उनले भने।
मापदण्डमा कुन–कुन कुरा पुरा गर्नै पर्छ र कुन कुरा पुरा नगर्दा पनि हुन्छ त्योअनुसार नम्बर राखिने उनले बताए ।
उनका अनुसार सुरूमा सबैलाई १ सय अंक नै दिइन्छ। त्यसपछि गल्ती गर्दा नम्बर काटिंदै जान्छ। ६० प्रतिशतभन्दा कम अंक ल्याउने ट्रायल फेल हुन्छ भने सो सम्मको अंक ल्याउने ट्रायल पास हुन्छ। यसबाट सामान्य गल्ती मात्र गर्ने व्यक्ति ट्रायलमा फेल हुने सम्भावना कम हुन्छ ।
उनका अनुसार ट्रायलका विभिन्न चरण अंकका आधारमा पास–फेल निधो गरिनेछ।
ट्रायल सुरूवातकै ‘एट (८)’ मा छिरेदेखि ट्रायल पूरा गरेर ननिस्किउञ्जेलसम्म विभिन्न प्यारामिटरमा अंक बाँडिनेछ।
त्यस्तै, लिखित परीक्षाको ढाँचा पनि केही परिवर्तन हुने र यसका लागि ५ सय वा एक हजार प्रश्नका सेट तयार गरिने छ । यो पनि छलफलको क्रममा रहेको छ ।