अनावश्यक स्वरूप परिवर्तन र ठूलो आवाज: युवाको स्टाइल कि जीवनको जोखिम ?

आजका युवामाझ सवारी साधनलाई “आफ्नो पहिचान” बनाउने नाममा अनावश्यक रूपमा स्वरूप परिवर्तन (मोडिफिकेसन) गर्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएको छ । विशेषगरी मोटरसाइकल र स्कुटरमा साइलेन्सर परिवर्तन गरी अत्यधिक ठूलो आवाज निकाल्ने, बत्ती तथा सिग्नल प्रणालीमा मनपरी फेरबदल गर्ने, ह्यान्डल तथा चक्का–टायरको आकार असन्तुलित बनाउने, तेश्रो आँखाको रुपमा रहेको साइड मिरर झिक्ने जस्ता गतिविधि घातक ‘फेसन’ का रूपमा फैलिरहेका छन् ।

        क्षणिक रोमाञ्च, देखावटीपन र फरक देखिने चाहनाले प्रेरित यी अभ्यासहरूले समाज र स्वयं चालक दुवैका लागि गम्भीर जोखिम निम्त्याइरहेका छन् । सवारी साधन कम्पनीहरूले इन्जिनियरिङ परीक्षणपछि सुरक्षामापदण्ड अनुरूप तयार पारेका संरचनामा गरिने अनधिकृत परिवर्तनले प्राविधिक सन्तुलन बिगार्नुका साथै दुर्घटनाको सम्भावना उल्लेखनीय रूपमा बढाउँछ । सवारी तथा यातायात व्यवस्था ऐन अनुसार सवारीको अनावश्यक स्वरूप परिवर्तन गर्नु दण्डनीय अपराध पनि हो ।

        सवारी साधनबाट निस्कने अस्वाभाविक ठूलो आवाज केवल कोलाहल मात्र होइन, यो एक प्रकारको ध्वनि प्रदूषण हो । अचानक आउने तीव्र ध्वनिले मुटुका बिरामीहरूमा हृदयाघातको जोखिम बढाउन सक्छ, वृद्धवृद्धाहरूको मानसिक शान्ति भंग गर्छ र उनीहरूमा अनिद्रा तथा बेचैनी निम्त्याउँछ ।

         अध्ययनरत विद्यार्थीहरूको एकाग्रता भंग हुनुका साथै साना बालबालिकामा भय र मानसिक असहजता उत्पन्न हुन्छ । लगातारको ध्वनि प्रदूषणले चिडचिडापन, उच्च रक्तचाप तथा श्रवणशक्ति कमजोर हुने जस्ता समस्या समेत निम्त्याउन सक्छ ।

        साइलेन्सर परिवर्तन गरी अत्यधिक आवाज निकाल्दा सवारीको इन्जिन कार्यसम्पादन र सन्तुलनमा समेत असर पर्छ  । त्यस्तै, अत्यधिक तेज वा अनधिकृत प्रकाश प्रयोग गर्दा विपरीत दिशाबाट आउने चालकको दृष्टि अवरुद्ध भई दुर्घटनाको जोखिम बढ्छ । ठूलो आवाजले सडक प्रयोगकर्तालाई अलमल्याउने हुँदा प्रतिक्रिया समय घट्न पुग्छ, जसले गम्भीर सवारी दुर्घटनाको सम्भावना बढाउँछ ।

यस्ता स्वरूप परिवर्तन गर्ने धेरैजसो युवाहरूमा तीव्र गति, स्टन्ट प्रदर्शन र ट्राफिक नियम अवज्ञा गर्ने प्रवृत्ति समेत देखिन्छ, जसले जोखिमलाई अझ भयावह बनाउँछ । सम्झनुहोस् - सडक प्रदर्शनस्थल होइन; यो सबैको साझा जीवनमार्ग हो ।

        यदि तपाईं पनि फरक पहिचानको नाममा सवारीको स्वरूप परिवर्तन गरी सवारी चलाइरहनुभएको छ भने, आफ्नो र अरूको जीवन सुरक्षाका लागि यी जीवन रक्षक सावधानीहरू अवलम्बन गर्नु अत्यावश्यक छ:

१) सवारीको मौलिकता जोगाउनुहोस् -

               कम्पनीले जडान गरेका पार्टपुर्जा र संरचना नै सुरक्षाका दृष्टिले उपयुक्त हुन्छन् । अनधिकृत रूपमा साइलेन्सर, लाइट, ह्यान्डल वा टायर परिवर्तन नगर्नुहोस् ।

२) गति सीमाभित्र सवारी चलाउनुहोस् -

               सडक ‘रेस ट्र्याक’ होइन । तोकिएको गति सीमाको पालना गर्नु नै बुद्धिमानी हो । छिटो पुगेको यात्राभन्दा सुरक्षित पुगेको यात्रा मूल्यवान हुन्छ ।

३) रक्षात्मक चालक बन्नुहोस् -

      अरूले गल्ती गर्न सक्छन् भन्ने सोचेर सधैं सतर्क रहनुहोस् । आफ्नो मात्र होइन, पैदलयात्री र अन्य चालकको सुरक्षाको जिम्मेवारी पनि महसुस गर्नुहोस् ।

४) नियमित मर्मत–सम्भार गर्नुहोस् -

      ब्रेक, टायर, लाइट र इन्जिनको अवस्था नियमित जाँच गर्नुहोस् । प्राविधिक कमजोरीले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।

५) मादक पदार्थ तथा लागू पदार्थ सेवन नगर्नुहोस् -

     ‘मा.प.से.’ वा ‘ला.प.से.’ गरेर सवारी चलाउनु भनेको मृत्युलाई निम्तो दिनु हो । सधैं होस र जिम्मेवारीका साथ मात्र ह्यान्डल समात्नुहोस् ।

६) ट्राफिक नियमको सम्मान गर्नुहोस् -

     ट्राफिक नियम सजायका लागि होइन, सुरक्षित घर फर्काउनका लागि बनाइएका हुन् । लेन अनुशासन, ट्राफिक लाइट र संकेतहरूको सदैव पालना गर्नुहोस् ।

        सवारी चलाउनु केवल मनोरञ्जन वा प्रदर्शनको माध्यम होइन, यो सामाजिक जिम्मेवारी हो । क्षणिक ‘हिरो’ बन्ने चाहनामा अरूको स्वास्थ्यमा असर पार्नु र आफ्नै ज्यान जोखिममा पार्नु बुद्धिमानी होइन । ठूलो आवाजले व्यक्तित्व बढाउँदैन; बरु समाजप्रति गैरजिम्मेवारीपन झल्काउँछ ।

        सभ्य नागरिकको पहिचान शान्त, संयमित र सुरक्षित यात्रामा निहित हुन्छ । आउनुहोस्, सडकलाई कोलाहलमुक्त र सुरक्षित बनाउन परिवर्तन आफैंबाट सुरु गरौँ । तपाईंको सुरक्षा नै तपाईंको परिवारको खुसी हो ।

"ट्राफिक नियम जानौँ पनि, मानौँ पनि ।"

– प्र.ब.ना.नि. बिष्णु थापा

 प्रमुख–जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोक

सम्बन्धित समाचारहरू

सडकमै जरिवाना परियो ? नो प्रोब्लम, अब तत्काल जरिवाना तिरी कागजपत्र लिन सकिने

सडकमै जरिवाना परियो ? नो प्रोब्लम, अब तत्काल जरिवाना तिरी कागजपत्र लिन सकिने

काठमाडौं – उपत्यकामा सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरे पश्चात...

कोटेश्वरमा ४० प्रतिशत घट्यो ट्राफिक जाम, भविष्यमा अण्डरपास र फ्लाइओभर बनाइने

कोटेश्वरमा ४० प्रतिशत घट्यो ट्राफिक जाम, भविष्यमा अण्डरपास र फ्लाइओभर बनाइने

काठमाडौं – राजधानीको कोटेश्वर–जडिबुटी सडक खण्ड विस्तार भएसँगै सवारी...

जापानमा ट्याक्सी चालकले ५० महिलालाई बलात्कार गरेको आशङ्का

जापानमा ट्याक्सी चालकले ५० महिलालाई बलात्कार गरेको आशङ्का

टोकियो – जापानी प्रहरीले एक महिला यात्रुलाई लागुऔषध खुवाएर बलात्कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...