हेटौंडामा अटो भिलेज बन्दै, डीपीआर तयार : अध्यक्ष पौडेल

मकवानपुरको हेटौंडामा अटो भिलेज बन्ने भएको छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा सुविधासम्पन्न अटो ल्याण्ड अर्थात अटो भिलेज बन्ने भएको हो ।

मकवानपुर अटो मेकानिक एण्ड इन्जिनियरिङ एसोसिएसनको नेतृत्वमा हेटौंडामा अटो भिलेज बन्न लागेको मकवानपुर अटो मेकानिक एण्ड इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष तथा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका सदस्य आनन्दराम पौडेल बताउँछन् । ‘वि.सं. २०५४ सालदेखि नै हेटौंडामा अटो भिलेज बनाउने उद्धेश्य राखिएको थियो,’ उनले भने, ‘अहिले आएर हाम्रो सपना साकार भएको छ । अटो भिलेज निर्माण गर्नका लागि बागमती प्रदेश सरकारले हामीलाई ३३ बिघा जमिन उपलब्ध गराएको छ भने तत्काल पूर्वाधार विकासका लागि ४ करोड बजेट समेत विनियोजित भैसकेको छ ।’

मकवानपुर अटो मेकानिक एण्ड इन्जिनियरिङ एसोसिएसनमा यतिबेला मकवानपुरका २ सय ५० वटा वर्कशप अर्थात ग्यारेजहरु आवद्ध छन् । अब अटो भिलेज बनेपछि बजारमा खुलेका तीन पाङग्रेभन्दा माथिका गाडीहरु मर्मत गर्ने अटो वर्कशपहरु एकैठाउँमा व्यवस्थित भएर सेवा दिनेछन् । यसले सहरको वातावरण सफा राख्न, जथाभावी खुुलेका अटो वर्कशपलाई व्यवस्थित गर्न मद्दत गर्ने छ ।

मकवानपुर अटो मेकानिक एण्ड इन्जिनियरिङ एसोसिएसनले बनाउन लागेको अटो भिलेजका लागि बागमती प्रदेश सरकारले नगरपालिकाको स्वामित्वमा रहेको ३३ बिघा जमिन दिइसकेको छ । जसलाई एसोसिएसनले अब ४९ वर्ष भाडामा लिने गरी सम्झौता गर्ने तयारीमा रहेको पौडेल बताउँछन् । त्यसैगरी हालै यसको विस्तृत प्राविधिक प्रतिवेदन (डीपीआर) समेत तयार भएको उनले बताए । ‘हामीलाई जमिन प्राप्त भैसकेको छ,’ उनले भने , ‘अब त्यो जग्गा ४९ वर्षका लागि भाडामा लिने सम्झौता गर्दै छौं ।’ यो जग्गा राप्ती नदी सँगै रहेकाले यसको जमिन व्यवस्थापनको काम भने सरकारले गर्नेछ । ‘जमिनको विकास, विद्युत, नदीको छेउमै जग्गा भएकाले नदी नियन्त्रण लगायातका काम सरकारले गर्छ,’ पौडेलले भने, ‘अटो भिलेजको वर्कशप विल्डिङदेखि सम्पूर्ण भौतिक पूर्वाधारका काम भने हामीले गर्छौं ।’ ५० करोड लगानीमा बन्न लागेको अटो भिलेजको लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भैसकेको उनले बताए । साथै सरकारले पनि यसलाई बहुवर्षिय योजनामा राख्ने आश्वासन दिएको छ ।

अटो भिलेजमा वर्कशपदेखि विद्यालयसम्म
यो अटो भिलेजमा अटो वर्कशपदेखि मेकानिक्सका छोराछोरीलाई पढाउने प्राथमिक तहको विद्यालय बनाउनेसम्मको योजना राखिएको छ । अटो भिलेजमा बजारमा छरिएर रहेका अटो ग्यारेजहरु सबै यही आउँछन् । यस्तै भिलेजभित्र व्यवस्थित वर्कशपका साथै गाडीका पार्ट्स विक्रेताहरु पनि त्यहीँ हुन्छन् । यसमा दीर्घकालीन सोच राखेर गरिएकाले सुलभ मूल्यमा खाना, खाजा खुवाउने क्यान्टिन, व्यवस्थित सार्वजनिक शौचालय, अटो मेकानिक्सलाई तालिम दिने तालिम केन्द्र, अटो मेकानिक्सका बालबालिकालाई पढाउनका लागि प्राथमिक तहको विद्यालय पनि त्यही भित्र हुनेछ । त्यसैले यो एकिकृत अटोल्याण्ड भित्र पसेपछि सबै किसिमका गाडीको मर्मत हुने पौडेल बताउँछन् ।

यसअघि बुटवलको मैनाबगर, दाङको घोराही र तुलसीपुरमा अटो भिलेज सुरु भैसकेको छ । साथै सरकारले पनि पछिल्लो समय अटो मेकानिक्सका पक्षमा चासो दिन थालेको पौडेल बताउँछन् । ‘सरकारले सुरुमा नेपालमा अटो मेकानिक्स पनि छन् भनेर सोच्थ्यो तर अहिले सबैतिर अटो भिलेजको लहर आएकाले सरकारले पनि यसको स्तरोन्नतीमा चासो देखाउन थालेको छ, उनले भने ।

मकवानपुर अटो मेकानिक एण्ड इन्जिनियरिङ एसोसिएसनले लामो समयदेखि अटो मेकानिक्सहरुको हक हितका पक्षमा वकालत गर्दै आएको छ । तर, संस्था आर्थिक संकटमा रहेको अध्यक्ष पौडेल बताउँछन् । ‘हामी यतिबेला चरम आर्थिक संकटमा छौं,’ उनले भने, ‘हामीसँग आवद्ध भएका २ सय ५० वटा अटो वर्कशपहरुसँग मासिक २ सय रुपैयाँ उठाएर संस्था चलिरहेको छ ।’

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...