गोर्खाज फाइनान्सले म्याक्सस, डोङफेङ, ट्राइ–रिङ र फोर्स मोटर्सका गाडी किन्न ८० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने
काठमाडौँ – नेपालमा वातावरणमैत्री, आधुनिक र दिगो यातायात सेवालाई...
काठमाडौं - दशैं र तिहारमा नयाँ सवारी साधन किन्ने सोचमा हुनुहुन्छ ? यदि बैंकबाट ऋण लिएर गाडी चढ्ने योजना बनाउनुभएको छ भने तपाईंका लागि अहिले ब्याजदरका हिसाबले सुनौलो अवसर छ ।
पछिल्लो समय बैंकहरूमा लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा झण्डै ६३ अर्ब रुपैयाँ थप कर्जा प्रवाह भएसँगै यस्तो संकेत देखिएको छ ।
भदौ मसान्तसम्म २० वटा वाणिज्य बैंकहरूबाट कुल ५३ खर्ब ५० अर्ब ६५ करोड रुपैयाँ ऋण प्रवाह भएको छ । यस्तो कर्जा प्रवाह साउन मसान्तमा ५२ खर्ब ८७ अर्ब रुपैयाँ रहेको थियो । बैंकहरूको आधार दर इतिहासकै न्यून विन्दु अर्थात् औसत ४.७५ प्रतिशतमा झरेको छ ।
बैंकको आधार दर अहिलेसम्मकै सस्तो भएपछि बैंकहरूबीच चाडपर्वमा सस्तो ब्याजमै अटो कर्जा प्रवाह गर्ने तीव्र प्रतिस्पर्धा चलेका छन् । बैंकहरूले बेसरेटमा न्यूनतम ०.५ देखि १ प्रतिशतसम्म मात्रै प्रिमियम जोडेर अटो कर्जा दिन थालेका छन् । जसकारण अहिले ग्राहकले ५ प्रतिशतभन्दा पनि कम ब्याजदरमै सजिलै अटो कर्जा पाउने अवस्था बनेको छ ।
३–४ वर्षअघि अटो कर्जाको ब्याजदर १३ देखि १४ प्रतिशतसम्म पुगेको थियो । त्यो तुलनामा अहिले आधाभन्दा पनि सस्तो ब्याजमा कर्जा पाउने अवस्था छ । ब्याजदर जति कम भयो, ऋणीको मासिक किस्ताको भार उति नै घट्छ र गाडी खरिदको कुल लागत समेत निकै कम पर्न जाने अवस्था छ ।
गत नाडा अटो शो र नाइमा मोबिलिटी एक्स्पोमा गाडी बुकिङ गरेकाहरूले चाडपर्व पारेर डेलिभरी लिन थालेसँगै बैंकहरूले ७ वर्षसम्मको दीर्घकालीन लगानी सुरक्षित गर्न सस्तो ब्याजदरका आकर्षक योजना ल्याएका हुन् ।
कुन बैंकमा कति छ ब्याजदर र सहुलियत ?
अटो कर्जा कति सस्तोमा पाइन्छ भन्ने मुख्य आधार सम्बन्धित बैंकको बेसरेटलाई नै मान्न सकिन्छ । बेसरेट कम भएका बैंकबाट कर्जा लिँदा ब्याजदर निकै कम पर्छ ।
नेपाल बैंक – ४.९० प्रतिशत ब्याज र निःशुल्क क्रेडिट कार्ड
सरकारी स्वामित्वको नेपाल बैंकले चाडपर्व विशेष अफर अन्तर्गत ४.९० प्रतिशत ब्याजदरमै अटो कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । हाल बैंकको बेसरेट ४.४१ प्रतिशत छ, जसमा बैंकले ०.४९ प्रतिशत मात्र प्रिमियम जोडेको हो।
बैंकले कर्जा अवधि ५ वर्ष दिएको छ । प्रशासनिक शुल्क ०.५ प्रतिशत मात्र लाग्ने छ । कर्जा लिने ग्राहकलाई कुनै पनि शुल्क नलिई आजीवनका लागि ३ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड निःशुल्क प्रदान गरिनेछ ।
राष्ट्रिय वाणिज्य बैंक– ४.९० प्रतिशत ब्याजमै १ करोडसम्म कर्जा
सबैभन्दा सस्तो बेसरेट पछिल्लो तीन महिनाको औसत ४.०१ प्रतिशत भएको राष्ट्रिय वाणिज्य बैंकले पनि चाडपर्व लक्षित गरी ४.९० प्रतिशत ब्याजदरको अटो लोन स्कीम ल्याएको छ । जसमा कर्जा सीमा अधिकतम १ करोड रुपैयाँसम्म दिने छ । कर्जा अवधि अधिकतम ७ वर्षसम्म र स्वीकृत कर्जा सीमाको ०.५ प्रतिशत मात्र लाग्ने बैंकले जनाएको छ ।
नबिल बैंक– ५.१७ प्रतिशत ब्याजदर र ६० प्रतिशत सम्म फाइनान्सिङ
निजी क्षेत्रको अग्रणी नबिल बैंकले पनि सवारीसाधन किन्नेहरूका लागि ५.१७ प्रतिशत ब्याजदरमै कर्जा दिने योजना सार्वजनिक गरेको छ ।
फाइनान्सिङ सीमामा गाडीको कुल मूल्यको ६० प्रतिशतसम्म बैंकले कर्जा दिने बैंकले जनाएको छ । त्यस्तै, कर्जा अवधि ७ वर्षसम्म र सेवा शुल्क ०.५० प्रतिशत मात्रै लाग्ने छ ।
तीन बैंकबाहेक अन्य अधिकांश बैंकहरूबाट पनि ग्राहकले ५ देखि ६ प्रतिशत हाराहारीमै कर्जा लिन्छन् । ५.५ प्रतिशतको हाराहारीमै कर्जा पाइने बैंकहरूमा एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक , ग्लोबल आइएमई, कृषि विकास, सानिमा, माछापुच्छ्रे, सिद्धार्थ, प्राइम, प्रभु र लक्ष्मी सनराइज बैंक रहेका छन् ।
यी बैंकहरुको पनि बेसरेट ५ प्रतिशतभन्दा तल छ ।
त्यस्तै, सिटिजन्स, नेपाल एसबीआई र हिमालयन बैंकको बेसरेट ५.२५ प्रतिशतभन्दा कम छ। यी बैंकबाट ६ प्रतिशत हाराहारीमा अटो कर्जा पाइन्छ । वाणिज्य बैंकहरूमध्ये एनआईसी एशिया बैंकको बेसरेट सबैभन्दा बढी ५.६९ प्रतिशत रहेको छ ।
बैंकहरूले ६.५ प्रतिशतदेखि ९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा ७ वर्षसम्मका लागि अटो कर्जा दिइरहेका छन् । यस्तो कर्जामा बजारमा जस्तोसुकै उतारचढाव आए पनि तोकिएको अवधिसम्म ब्याजदर बढ्दैन।
दशैं–तिहारको समयमा एकातिर अटोमोबाइल कम्पनीहरूले लाखौंसम्मको नगद छुट, सित्तैमा बीमा, सडक कर र होम चार्जर दिइरहेका छन् भने अर्कोतर्फ बैंकहरूले सस्तो ब्याजदरमा ऋण दिइरहेका छन् । यो दोहोरो फाइदाका कारण गाडी किन्ने सपना बुनेका मध्यमवर्गीय तथा उच्च वर्गका ग्राहकका लागि यो चाडपर्व साँच्चिकै सुनौलो अवसर बन्न सक्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...