बढ्दो पेट्रोलको मूल्य बीच इलेक्ट्रिक स्कुटर बन्न सक्छ उचित विकल्प

कोरोना महामारी शुरु भएयता नेपालमा पेट्रोलियम पदार्थको मूल्य आकाशिंदै गएको छ । नेपाल आयल निगमले हिजोमात्र पेट्रोलमा ३ रुपैयाँले मूल्य वृद्धि गरी प्रतिलिटर १३९ रुपैयाँ पु¥याएको छ । पेट्रोलको मूल्य बढेसँगै सवारीसाधनको सञ्चालन खर्च समेत बढ्ने र यसले उपभोक्तामा आर्थिक व्यायभार थप्ने निश्चित प्रायः बनेको छ ।

यस्तो परिस्थितिमा कतिपय उपभोक्तालाई इन्धनबाट चल्ने सवारीसाधनको विकल्पका बारेमा सोच्न बाध्य समेत पारेको छ भने अर्कोतर्फ यस्ता साधनको विकल्पका रुपमा लिइने विद्युतिय सवारी साधनमा झट्ट मन गैहाल्ने मनस्थितिमा आम उपभोक्ता रहेको पाइदैन । यस्ता साधन संचालन गर्न नेपालमा अझै पर्याप्त पूर्वाधार नबनेको भन्दै उनीहरुले संशय व्यक्त गर्ने गरेका छन् ।

पेट्रोलको मूल्य बढ्दा सबैभन्दा बढी मार निम्न मध्यम आय भएका टु ह्विलर राइडरमा पर्ने देखिन्छ । गाडी चढ्ने हैसियत बनाएका उपभोक्ताहरु आर्थिक रुपले सम्पन्नशाली हुने हुँदा उनीहरुलाई थोरैमात्र रकमले वृद्धि भएको पेट्रोलको मूल्यले खासै असर नगर्ने भएपनि मोटरसाइकल र स्कुटर प्रयोग गर्ने अधिकांश कामकाजीका उपभोक्तालाई भने प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा समेत अहिले कच्चा तेलको मूल्य बढिरहेका कारण भोलिका दिनमा पेट्रोल अझै थप महंगो हुने निश्चित प्रायः छ । त्यसमाथि नेपाल आयल निगमको घाटा हरेक दिन करोडौ रुपैयाँले बढिरहेको छ । उक्त घाटालाई समायोजन गर्नका लागि पनि सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगरी सुख छैन ।

यसरी पेट्रोलको मूल्य बढ्दै जाने हो भने उपभोक्तालाई ढिलोचाँडो विद्युतीय साधनमा जानैपर्ने बाध्यता आइपर्न सक्छ । जसका कारण इलेक्ट्रिक टु ह्विलरको माग बढ्दै जाने देखिन्छ । टु ह्विलर सेग्मेन्टमा अहिले एकसय किलोमिटर माथि रेन्ज दिने स्कुटर पर्याप्त मात्रामा उपलब्ध छन् । एकाध ब्रान्डले मोटरसाइकल समेत उपलब्ध गराएपनि प्रयोगकर्ताको आवश्यकता र आकांक्षालाई यी साधनले पूर्ति गर्ने अवस्था दिन सकेको छैन ।

स्कुटरको सम्भावना बलियो
सामान्यतया स्कुटरलाई सिटी राइडकै लागि भनेर निर्माण गरिएका कारण छोटो दुरीमा छिटो यात्रा गर्न सहज हुने साधनका रुपमा यसलाई लिने गरिन्छ । नेपालमा स्कुटरको प्रयोग महिला राइडरले बढीमात्रामा गर्ने गर्छन् । कार्यालय आउँजाउँ गर्न र सपिङ गर्ने प्रयोजनमा स्कुटरको प्रयोग बढीमात्रामा हुने गरेको पाइन्छ । कतिपय राइडरले भने स्कुटरमै हाइवेको लामो यात्रा समेत तय गर्ने गर्छन् ।

जे होस्, नेपालमा एउटा स्कुटरले दैनिक औसतमा ५० किलोमिटरभन्दा बढी यात्रा तय नगर्ने विभिन्न अध्ययनहरुले देखाएको छ । यति यात्रा तय गर्न डेढ लिटरसम्म पेट्रोल खर्च हुने गरेको पाइन्छ । जुन लागतको हिसावले २ सय रुपैयाँभन्दा बढी हो । तर इलेक्ट्रिक स्कुटरमा उक्त दुरीको यात्रा तय गर्न जम्मा २० रुपैयाँ पनि नलाग्ने यस्ता स्कुटर आयात गर्ने व्यवसायी बताउँछन् ।

एक व्यवसायीका अनुसार नेपालमा इलेक्ट्रिक स्कुटरको प्रयोग जुनमात्रामा बढ्नुपर्ने हो, त्यस मात्रामा हुन सकिरहेको छैन । संचालन खर्च एकदमै न्यून आउने विशेषताका बावजुद नेपालमा इलेक्ट्रिक स्कुटरले बजार लिन नसक्नुलाई उनी उपभोक्ताहरुमा रहेको परम्परागत सोच दोषी रहेको ठहर गर्छन् । उनी भन्छन, ‘हिजो बजारमा चलेको नराम्रो हल्लालाई आधार मानेर भोलिका दिनमा पनि त्यस्तै त हुने होला नी भन्ने जुन सोचाई उपभोक्तामा गढेर बसेको छ, यसले नेपालमा इलेक्ट्रिक स्कुटरको बजार विस्तार गर्न रोकावट पैदा गरिरहेको छ ।’ विगतमा यस्ता स्कुटर खरिद गर्ने ग्राहकलाई केही आयातकर्ता कम्पनीले शर्त बमोजिम सर्भिस दिन नसकेका कारण हालसम्म पनि यस्ता स्कुटरमा उपभोक्ताहरु सकारात्मक बन्न सकिरहेका छैनन् ।

घरमा उपलब्ध सामान्य प्लगबाटै ब्याट्री चार्ज गर्न मिल्ने विशेषताका कारण इलेक्ट्रिक स्कुटरमा चार्जिङको समस्या त्यति ठूलो रहेको पाइदैन । एकपटक फूल चार्ज गरेपछि १ सय किलोमिटरसम्म यात्रा गर्न सकिने हुँदा छोटो दुरीमा यात्रा तय गर्न कुनै चिन्ता गर्नुपर्ने समेत देखिँदैन । हाल बजारमा उपलब्ध केही यस्ता स्कुटरमा उत्पादक कम्पनीले अत्याधुनिक लिथियम आयोन ब्याट्री प्याक दिएका कारण ब्याट्री समेत लामो समयसम्म टिक्ने देखिन्छ । जसका कारण छोटो समयावधिमै ब्याट्री फेर्नु पर्ने समस्या समेत दुर भएको छ ।

यी र यस्ता विशेषताका कारण नेपालमा इलेक्ट्रिक स्कुटर पेट्रोलबाट चल्ने स्कुटरको राम्रो विकल्प बन्ने देखिएको छ ।

सम्बन्धित समाचारहरू

८ मिनेटमा खेल खत्तम : मूल्य ५० प्रतिशत बढाउँदा पनि ४८० सेकेण्डमा सबै कार बिक्रीको रेकर्ड

८ मिनेटमा खेल खत्तम : मूल्य ५० प्रतिशत बढाउँदा पनि ४८० सेकेण्डमा सबै कार बिक्रीको रेकर्ड

फक्सवागनले सबैभन्दा लोकप्रिय ह्याचब्याक गल्फको स्पेसल एडिसन गल्फ आर ३३३...

विद्युतीय सवारीमा अब मूल्यका आधारमा कर लाग्ने

विद्युतीय सवारीमा अब मूल्यका आधारमा कर लाग्ने

काठमाडौं–विद्युतीय सवारीमा अब मूल्यका आधारमा कर लाग्ने ब्यवस्था लागु...

शाओमीको दोस्रो इलेक्ट्रिक कार वाईयू७ सार्वजनिक, यस्तो छ विशेषता

शाओमीको दोस्रो इलेक्ट्रिक कार वाईयू७ सार्वजनिक, यस्तो छ विशेषता

शाओमीले आफ्नो दोस्रो इलेक्ट्रिक कार शाओमी वाईयू७ ग्लोबल डेब्यु गरेको छ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...