हालसम्म सरकारले बनायाे ३४ हजार दुई सय ६७ किलोमिटर सडक
काठमाडौं – आर्थिक सर्वेक्षण २०८०/८१ का अनुसार हालसम्म सङ्घीय सरकारबाट...
सडक दुर्घटना, आगलागी, प्राकृतिक विपत्ति वा अन्य आकस्मिक घटनाको समयमा हामीमध्ये धेरैजना घटनास्थलमा उपस्थित हुन्छौँ । तर दुःखको कुरा, पछिल्ला वर्षहरूमा दुर्घटनापछि घाइतेलाई सहयोग गर्नुभन्दा मोबाइल निकालेर भिडियो खिच्ने, सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गर्ने वा फोटो पोस्ट गर्ने प्रवृत्ति बढ्दो छ । यस्तो व्यवहारले मानवीय संवेदनशीलताको मात्र होइन, जीवन बचाउन सकिने बहुमूल्य समयको पनि क्षति गरिरहेको छ ।
धेरै दुर्घटनामा मृत्युको प्रमुख कारण दुर्घटना आफैँ होइन, समयमै उपचार नपाउनु हो । चिकित्साशास्त्रमा दुर्घटनापछि पहिलो एक घण्टालाई "गोल्डेन आवर (Golden Hour)" अर्थात् जीवन र मृत्यु निर्धारण गर्ने महत्वपूर्ण समय मानिन्छ । यही अवधिमा उचित प्राथमिक उपचार तथा अस्पतालसम्मको पहुँच सुनिश्चित गर्न सकिएमा धेरै घाइतेको ज्यान बचाउन सकिन्छ ।
विगतमा घाइतेलाई अस्पताल पुर्याउँदा प्रहरी अनुसन्धान, कानुनी झन्झट वा साक्षी बस्नुपर्ने डरले धेरै नागरिक सहयोग गर्न हिच्किचाउँथे । तर वर्तमान अवस्थामा मानवीय उद्धारलाई प्राथमिकता दिँदै सहयोगी नागरिकलाई प्रोत्साहन गर्ने वातावरण क्रमशः विकसित हुँदै गएको छ। त्यसैले दुर्घटनास्थलमा उपस्थित प्रत्येक नागरिकको पहिलो दायित्व भिडियो बनाउनु होइन, सम्भव भएसम्म जीवन बचाउने प्रयास गर्नु हो । कुनै दुर्घटना वा आकस्मिक घटना देखेमा एक जिम्मेवार नागरिकका रूपमा निम्न व्यवहार अपनाऔँः
१. आफ्नो सुरक्षा सुनिश्चित गर्नुहोस् :
सबैभन्दा पहिले आफू सुरक्षित हुनु आवश्यक छ । दुर्घटनास्थलमा पुग्दा अन्य सवारीको जोखिम, आगलागी, विद्युत् चुहावट वा अन्य सम्भावित खतरा छ कि छैन भन्ने सुनिश्चित गर्नुहोस् । असुरक्षित अवस्थामा बिना तयारी उद्धारमा लाग्दा थप दुर्घटना हुन सक्छ ।
२. तत्काल आपत्कालीन सेवामा खबर गर्नुहोस् :
दुर्घटना देख्नेबित्तिकै नेपाल प्रहरी (१००), ट्राफिक प्रहरी (१०३) वा एम्बुलेन्स सेवा (१०२) मा तुरुन्त फोन गरेर जानकारी दिनुहोस् । दुर्घटनाको स्थान, घाइतेको अवस्था र आवश्यक सहयोगबारे स्पष्ट जानकारी दिन सके उद्धार कार्य प्रभावकारी हुन्छ ।
३. घाइतेको अवस्था जाँच गर्नुहोस् :
घाइते सचेत छ कि छैन, सास फेरिरहेको छ कि छैन र अत्यधिक रक्तश्राव भइरहेको छ कि छैन भन्ने प्रारम्भिक अवलोकन गर्नुहोस् । यदि अत्यधिक रक्तश्राव भैरहेको छ भने सफा कपडाले थिचेर रगत रोक्ने प्रयास गर्नुहोस् । यदि घाइतेले श्वास फेरेको छैन र तपाईंलाई सीपीआर (CPR) सम्बन्धी आवश्यक ज्ञान तथा तालिम छ भने मात्र उक्त प्राथमिक उपचार प्रदान गर्नुहोस् ।
४. अनावश्यक भिडभाड रोक्नुहोस् :
दुर्घटनास्थलमा भीड जम्मा हुँदा उद्धार कार्य प्रभावित हुन्छ । आवश्यक सहयोगी बाहेक अरूलाई सुरक्षित दूरीमा रहन आग्रह गर्नुहोस् । यसले उद्धार टोलीलाई सहज रूपमा काम गर्न मद्दत पुर्याउँछ ।
५. भिडियो खिच्नुभन्दा सहयोगलाई प्राथमिकता दिनुहोस् :
घाइतेको पीडा, रगत वा मृत्युका दृश्य सामाजिक सञ्जालमा प्रसारण गर्नु मानवीय संवेदनशीलताविपरीत कार्य हो । यस्ता दृश्यले पीडित र परिवारको गोपनीयता तथा सम्मानमा समेत असर पुर्याउन सक्छ । त्यसैले भिडियो खिच्नुभन्दा उद्धार, ट्राफिक व्यवस्थापन वा आपत्कालीन सेवासँग समन्वयमा योगदान दिनु नै जिम्मेवार नागरिकको परिचय हो ।
६. आवश्यक परे अस्पताल पुर्याउन सहयोग गर्नुहोस् :
यदि एम्बुलेन्स तत्काल उपलब्ध छैन र अवस्था गम्भीर छ भने सुरक्षित तरिकाले नजिकको स्वास्थ्य संस्थामा पुर्याउन सहयोग गर्न सकिन्छ । तर मेरुदण्ड, टाउको वा घाँटीमा गम्भीर चोट लागेको आशंका भएमा अनावश्यक रूपमा चलाउने वा तान्ने काम गर्नु हुँदैन ।
दुर्घटनामा परेका व्यक्ति हाम्रो आफ्नै परिवार, आफन्त वा साथी पनि हुन सक्थे भन्ने भावना प्रत्येक नागरिकमा हुनुपर्छ । घटनास्थलमा उपस्थित व्यक्तिको एक फोन, एक सहयोगी हात वा केही मिनेटको सक्रियताले कसैको जीवन बचाउन सक्छ । त्यसैले आजको आवश्यकता दर्शक बन्ने होइन, जिम्मेवार र संवेदनशील नागरिक बन्ने संस्कारको विकास गर्नु हो ।
मानव जीवनभन्दा ठूलो कुनै भिडियो, फोटो वा सामाजिक सञ्जालको सामग्री हुन सक्दैन । याद गरौँ, हामीले खिचेको भिडियोले होइन, हामीले गरेको समयमैको सहयोगले कसैको घरको खुसी जोगाउन सक्छ, कसैको सिउँदो बचाउन सक्छ र कसैको काख रित्तिनबाट रोक्न सक्छ ।
त्यसैले, दुर्घटना देख्दा मोबाइल होइन, मानवता सक्रिय बनाऔँ - दर्शक होइन, उद्धारकर्ता बनौँ ।
ट्राफिक नियम जानौं पनि, मानौं पनि ।
प्रहरी बरिष्ठ नायव निरीक्षक
जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन
काठमाडौं – आर्थिक सर्वेक्षण २०८०/८१ का अनुसार हालसम्म सङ्घीय सरकारबाट...
काठमाडौँ । देशका विभिन्न स्थानमा परेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका...
चितवन – नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...