बीवाईडीले ल्यायो ड्यासबोर्डमै स्टेयरिङ ह्विल फोल्ड हुने विश्वकै पहिलो गाडी

चिनियाँ अटोमोबाइल निर्माता कम्पनी बीवाईडीले आफ्नो नयाँ एसयूभी ‘फाङ चेङ बाओ टी९’ सार्वजनिक गरेको छ। प्लग–इन हाइब्रिड प्रविधिमा आधारित यो एसयूभीको सबैभन्दा आकर्षक विशेषता यसको फोल्ड हुने स्टेयरिङ ह्विल हो। पार्किङ अवस्थामा करिब १० सेकेन्डमै स्टेयरिङ ह्विल १८० डिग्री फोल्ड भएर ड्यासबोर्डभित्र लुक्न सक्छ। यसले चालकका लागि थप खाली ठाउँ उपलब्ध गराउने कम्पनीको दाबी छ।

५ हजार २७० एमएम लामो यो एसयूभी ६ सिट क्षमताको छ। बक्सी डिजाइनमा तयार गरिएको यसको इन्टेरियरमा ३० इन्चको प्यानोरामिक डिस्प्ले र पछाडिका यात्रुका लागि २१.४ इन्चको इन्टरटेनमेन्ट स्क्रिन दिइएको छ। तीनवटै पङ्क्तिका सिटमा मसाज र भेन्टिलेसन सुविधा उपलब्ध छ।

यसको फोल्ड हुने स्टेयरिङ प्रणालीले करिब २५० एमएम अतिरिक्त खाली ठाउँ सिर्जना गर्छ। चालकले पार्किङ अवस्थामा सिटलाई १६५ डिग्रीसम्म पछाडि ढल्काएर आराम गर्न सक्ने व्यवस्था पनि छ। यसबाहेक कारमा प्रयोग गर्न मिल्ने टेबल र ११.५ लिटर क्षमताको रेफ्रिजरेटरसमेत दिइएको छ।

५४४ एचपी पावर, १ हजार ६३० किलोमिटर रेन्ज

फाङ चेङ बाओ टी९ मा १.५ लिटर टर्बो पेट्रोल इन्जिन र दुईवटा इलेक्ट्रिक मोटरको संयोजन रहेको प्लग–इन हाइब्रिड पावरट्रेन दिइएको छ। यसले संयुक्त रूपमा ५४४ एचपी पावर उत्पादन गर्छ। यस एसयूभीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ४.८ सेकेन्डमा प्राप्त गर्न सक्ने दाबी गरिएको छ।

यसमा ६६.४८ किलोवाट आवर क्षमताको बीवाईडी ब्लेड ब्याट्री प्रयोग गरिएको छ। कम्पनीले यसलाई फुल इलेक्ट्रिक मोडमा ४०० किलोमिटर र इन्धन तथा ब्याट्री दुवैको प्रयोगबाट कुल १ हजार ६३० किलोमिटर रेन्ज दिने दाबी गरेको छ।

प्रविधिका हिसाबले यसमा स्टियर–बाइ–वायर प्रणाली, लाइडारमा आधारित चालक सहायता प्रविधि र रियर ह्विल स्टेयरिङ उपलब्ध छन्। चार्जिङका सन्दर्भमा उपयुक्त अवस्थामा ब्याट्रीलाई १० देखि ९७ प्रतिशतसम्म चार्ज गर्न ९ मिनेट मात्रै लाग्ने दाबी गरिएको छ।

मूल्य ३९ लाख रुपैयाँदेखि

चीनमा फ्याङ चेङ बाओ टी९ को सुरुवाती मूल्य २ लाख ७९ हजार ९०० युआन तोकिएको छ। यो नेपाली रुपैयाँमा करिब ६५ लाख रुपैयाँ हुन्छ। फोल्ड हुने स्टेयरिङ ह्विलसहितको उच्च भेरियन्टको मूल्य ३ लाख २९ हजार ९०० युआन अर्थात् करिब ७५ लाख रुपैयाँ पर्नेछ।

फोल्ड हुने स्टेयरिङ ह्विल, अत्याधुनिक कनेक्टिभिटी, प्लग–इन हाइब्रिड पावरट्रेन र लामो रेन्जका कारण फाङ चेङ बाओ टी९ चिनियाँ एसयूभी बजारमा नयाँ प्रविधिसहितको मोडलका रूपमा आएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...