नेपाल भिडियो जर्नालिष्ट एसोसिएसनको ११ सदस्यीय तदर्थ समिति गठन, नेपाल अटोका श्रेष्ठ बने सदस्य
काठमाडौँ – विश्व टेलिभिजन दिवसको अवसरमा काठमाडौंमा कार्यरत भिडियो...
सडकमा यात्रा गर्दा हामीसँग समयको हतार हुन्छ । कतै पुग्न ढिला भइरहेको हुन्छ, अगाडि जाम लागेको हुन्छ, कुनै सवारी बिस्तारै चलिरहेको हुन्छ वा अर्को चालकले हाम्रो अपेक्षाअनुसार सवारी चलाइरहेको हुँदैन । यस्ता अवस्थामा कतिपय चालकमा रिस, अधैर्य र आक्रोश उत्पन्न हुन्छ । त्यसपछि अनावश्यक हर्न बजाउने, जोखिमपूर्ण ओभरटेक गर्ने, लेन काट्ने, तीव्र गतिमा अघि बढ्ने वा अर्को चालकसँग विवाद गर्ने जस्ता व्यवहार देखिन सक्छन् । तर सडकमा केही सेकेन्डको रिसले निम्त्याउने परिणाम जीवनभरको पीडा हुन सक्छ ।
सवारी चलाउनु केवल हात र खुट्टाको नियन्त्रण मात्र होइन, मन र भावनाको नियन्त्रण पनि हो । चालक तनाव, रिस वा आक्रोशमा हुँदा निर्णय गर्ने क्षमता, ध्यान र प्रतिक्रिया दिने तरिकामा समेत असर पर्न सक्छ । त्यसैले सुरक्षित यात्राका लागि सडकमा धैर्य राख्नु ट्राफिक नियम पालना गरेजत्तिकै महत्वपूर्ण हुन्छ ।
सडकमा धैर्य कायम राख्न अपनाउनुपर्ने केही महत्वपूर्ण सुरक्षा उपाय यस्ता छन् :
१. जामलाई व्यक्तिगत समस्या नठानौँ
ट्राफिक जाम कसैलाई लक्षित गरेर सिर्जना गरिएको हुँदैन । सडकको क्षमता, सवारीको चाप, दुर्घटना, निर्माणकार्य वा अन्य कारणले जाम हुन सक्छ । जाममा फसेपछि पटक–पटक हर्न बजाउँदै वा अगाडिको सवारीलाई दबाब दिँदैमा बाटो छिटो खुल्दैन । जाममा समय बचाउने प्रयासभन्दा सुरक्षित रूपमा घर पुग्ने लक्ष्यलाई प्राथमिकता दिनुहोस् ।
२. ढिलो चल्ने सवारी देख्दा धैर्य गरौँ
अगाडिको सवारी अपेक्षाभन्दा ढिलो चल्न सक्छ । त्यसलाई देखेर लगातार हर्न बजाउने, नजिकैबाट पछ्याउने वा हतारमा ओभरटेक गर्ने प्रयास गर्नु जोखिमपूर्ण हुन्छ । ओभरटेक गर्नुअघि सडकको अवस्था, दृश्यता, विपरीत दिशाबाट आउने सवारी र आफ्नो सवारीको गति विचार गर्नुहोस् । केही सेकेन्ड ढिलो हुनु दुर्घटनामा पर्नुभन्दा धेरै सुरक्षित हुन्छ ।
३. अरू चालकको गल्तीलाई आफ्नै जोखिम नबनाऔँ
कहिलेकाहीँ अर्को चालकले अचानक लेन परिवर्तन गर्न सक्छ, बाटो काट्न सक्छ वा संकेत नदिई मोडिन सक्छ । यस्तो अवस्थामा रिसाएर पछ्याउने, बाटो छेक्ने वा बदला लिने शैलीमा सवारी चलाउनु झन् खतरनाक हुन्छ ।
अरूको गल्ती सच्याउने जिम्मेवारी आफैँ नलिनुहोस् । पहिले आफ्नो सवारी नियन्त्रणमा राख्नुहोस् र सम्भावित दुर्घटना टार्नुहोस् ।
४. अनावश्यक हर्न र विवादबाट बचौँ
लगातार हर्न बजाउनु, गालीगलौज गर्नु, हातको इशाराबाट आक्रोश व्यक्त गर्नु वा सवारी रोकेर विवादमा उत्रिनु सडक सुरक्षाको उपाय होइन । यसले चालकको ध्यान सडकबाट हटाउन सक्छ र तनाव झन् बढाउन सक्छ । समस्या उत्पन्न भएमा शान्त रहनु, दूरी कायम गर्नु र आवश्यक परे ट्राफिक प्रहरीको सहयोग लिनु सुरक्षित विकल्प हो ।
५. रिस आएको महसुस भए केही क्षण रोकिऔँ
आफू अत्यधिक आक्रोशित वा तनावमा भएको महसुस भए सवारीको गति घटाउनुहोस् । सुरक्षित स्थान उपलब्ध भए सवारी छेउ लगाएर केही समय रोकिनुहोस्, गहिरो सास लिएर मन शान्त बनाएपछि मात्र यात्रा अघि बढाउनुहोस् ।
६. समयको दबाबलाई सडकमा नल्याऔँ
कार्यालय पुग्ने हतार, बैठकको समय, घर पुग्नुपर्ने चटारो वा अन्य व्यक्तिगत दबाब सडकमा जोखिमपूर्ण निर्णयको कारण बन्न सक्छ । केही मिनेट ढिलो हुनु स्वीकार्य हुन सक्छ, तर त्यसलाई पूर्ति गर्न तीव्र गति, गलत ओभरटेक वा लेन अनुशासन उल्लङ्घन गर्नु उचित हुँदैन ।
सडकमा सबै चालक हाम्रो इच्छाअनुसार चल्दैनन् । कसैले ढिलो चलाउन सक्छ, कसैले गल्ती गर्न सक्छ र कतै जाम पनि हुन सक्छ । हामी अरूको व्यवहार नियन्त्रण गर्न सक्दैनौँ, तर त्यसप्रतिको आफ्नो प्रतिक्रिया र निर्णय भने नियन्त्रण गर्न सक्छौँ । गाडीलाई गियर र ब्रेकले नियन्त्रण गरेझैँ चालकको व्यवहारलाई धैर्य, संयम र विवेकले नियन्त्रण गर्छ ।
केही मिनेट ढिलो पुग्नु कुनै ठूलो क्षति होइन, तर हतार र आक्रोशमा गरिएको एउटा गलत निर्णयले जीवनभर पछुताउनुपर्ने अवस्था निम्त्याउन सक्छ। त्यसैले सडकमा छिटो पुग्नुभन्दा सुरक्षित पुग्नु महत्वपूर्ण छ । रिसलाई नियन्त्रण गरौँ, धैर्यलाई रोजौँ – किनकि सडकमा केही क्षणको संयमले दुर्घटना रोक्न र अमूल्य जीवन बचाउन सक्छ ।
ट्राफिक नियम जानौँ पनि, मानौँ पनि ।
प्रहरी वरिष्ठ नायव निरीक्षक
जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...