फेरारीलाई टक्कर दिन जीडब्लूएमको हाइब्रिड सुपरकार आउँदै

काठमाडौं–चिनियाँ अटोमोबाइल निर्माता ग्रेटवाल मोटर (जीडब्लूएम) ले आफ्नो पहिलो हाइब्रिड सुपरकार सन् २०२७ मा बजारमा ल्याउने तयारी गरेको छ ।

कम्पनीले विश्वप्रसिद्ध स्पोट्र्स कार निर्माता फेरारीलाई चुनौती दिने लक्ष्यसहित नयाँ सुपरकार विकास गरिरहेको हो ।

कम्पनीका अध्यक्ष वेई जियानजुनले हालै सार्वजनिक गरेको भिडियोमा जीडब्लूएमको नयाँ सुपरकारलाई फेरारी एसएफ९० सँग ट्रयाकमा परीक्षण गरेको देखाइएको छ । उक्त भिडियो चीनको बाओडिङस्थित कम्पनीको परीक्षण केन्द्रमा खिचिएको हो । भिडियोमा जीडब्लुएमको नयाँ सुपरकार देखिए पनि यसको डिजाइन गोप्य राख्न ब्लर गरिएको छ ।

वेईले परीक्षणपछि आफ्नो सुपरकार अझै पनि फेरारी एसएफ९० भन्दा समग्र प्रदर्शनमा पछाडि रहेको स्वीकार गरेका छन् । विशेषगरी ह्यान्डलिङ स्थिरता, एक्सेलेरेटरको प्रतिक्रिया र इन्जिनको आवाजमा फेरारी उत्कृष्ट रहेको उनको भनाइ छ । कम्पनीले यी पक्षमा सुधार गर्दै सन् २०२७ मा बजारमा आउँदा फेरारीलाई उछिन्ने लक्ष्य राखेको छ ।

कम्पनीले नयाँ सुपरकारमा ४.० लिटर ट्विन टर्बोचाज्र्ड भी८ इन्जिन प्रयोग गर्ने तयारी गरेको छ । यसलाई प्लग–इन हाइब्रिड (पीएचईभी) प्रविधिसँग जोडिनेछ । जीडब्लुएमले यसअघि सार्वजनिक गरेको इन्जिनको आधारभूत शक्ति करिब ५०० हर्सपावर रहेको बताएको थियो ।

नयाँ सुपरकार जीडब्लूएमको जीएफ (ग्रेट फेथ) उच्च प्रदर्शनयुक्त प्लेटफर्ममा आधारित हुनेछ । यसमा कार्बन फाइबर मोनोकोक चेसिस प्रयोग गरिनेछ, जसको तौल १३० किलोग्रामभन्दा कम हुने कम्पनीको दाबी छ ।

यसअघि सार्वजनिक भएका अपुष्ट विवरणअनुसार नयाँ सुपरकारको संयुक्त पावर १ हजार २०० हर्सपावरभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ । यसले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति २.५ सेकेन्ड वा त्यसभन्दा कम समयमा हासिल गर्ने र अधिकतम गति ३५० किलोमिटर प्रतिघण्टाभन्दा बढी हुने लक्ष्य राखिएको बताइएको छ । यद्यपि, कम्पनीले यी प्रदर्शनसम्बन्धी विवरण पुष्टि गरिसकेको छैन ।

जीडब्लूएमले नयाँ सुपरकारलाई विश्व बजारमा समेत बिक्री गर्ने लक्ष्य राखेको छ । कम्पनीले यसै प्लेटफर्ममा आधारित जीटी३ रेसिङ कार र सडकमा चलाउन मिल्ने जीटी३ संस्करणसमेत विकास गर्ने योजना बनाएको छ । यस परियोजनामा पूर्व म्याक्लारेन जीटी प्रमुख इन्जिनियर एडम थमसनसहितका अनुभवी इन्जिनियरहरू संलग्न छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...