दशैंमा विद्युतीय कारबाट सुरक्षित र सहज गाउँ यात्रा, यी ५ कुरामा सजग बनौँ

दशैंको रमझम सुरु भएसँगै शहरबाट गाउँघरतर्फ जाने मानिसहरूको चहलपहल बाक्लो बनेको छ । पछिल्लो समय नेपालमा विद्युतीय गाडीको प्रयोग ह्वात्तै बढेकाले धेरैजसो मानिसहरू यसपालिको दशैंमा आफ्नै विद्युतीय कार चढेर गाउँ जाने तयारीमा छन् ।

शहरका समथर र पक्की सडकमा विद्युतीय गाडी हाँक्नु र दशैंको बेला ग्रामीण भेगका उकालो, ओरालो अनि कच्ची बाटोमा यात्रा गर्नु निकै भिन्न कुरा हो । बाटोको जाम, चार्जिङ पूर्वाधारको सीमितता र बाटोको अवस्थालाई ध्यान नदिँदा खुसीको यात्रा सास्तीमा परिणत हुन सक्ने भएकाले यात्रा अघि केही महत्त्वपूर्ण कुरामा सजग हुन आवश्यक छ ।

रुट प्लानिङ र चार्जिङ स्टेसनको पूर्वतयारी
लामो दूरीको यात्रामा निस्कनुअघि पहिलो काम भनेको रुटको राम्रो अध्ययन गर्नु हो । आफ्नो यात्राको बाटोमा पर्ने फास्ट चार्जिङ स्टेसनहरू कहाँ छन् भन्ने पूर्वजानकारी राख्नुपर्छ ।

नेपाल विद्युत् प्राधिकरण तथा विभिन्न गाडी ब्रान्डका चार्जिङ एपहरू मोबाइलमा डाउनलोड गरी तिनका डिजिटल वालेटमा पर्याप्त ब्यालेन्स राख्नु बुद्धिमानी हुन्छ । दशैंको समयमा चार्जिङ स्टेसनमा गाडीको लामो लाइन हुन सक्ने वा बिजुली जाने र चार्जर बिग्रिने सम्भावना रहने भएकाले एउटा मात्र स्टेसनको भर नपरी वैकल्पिक चार्जिङ प्वाइन्ट पनि सोचेर राख्नुपर्छ ।

ब्याट्री व्यवस्थापन र वास्तविक रेन्जको हिसाब
गाडीको ब्याट्री र रेन्ज व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ । घरबाट निस्कँदा गाडी पूर्ण रूपमा चार्ज गर्नुपर्छ र यात्राका क्रममा ब्याट्रीको चार्ज निश्चित प्रतिशतभन्दा तल झर्न दिनु हुँदैन ।

गाउँ जाने बाटोमा अचानक जाम हुने वा पहिरोका कारण बाटो बन्द हुने जोखिम हुने भएकाले कम्तीमा ३० प्रतिशत चार्ज बाँकी छँदै नजिकैको चार्जिङ स्टेसनमा चार्ज गरिहाल्नुपर्छ ।

कम्पनीहरूले दाबी गर्ने रेन्जभन्दा नेपालका उकालो–ओरालो र खाल्डाखुल्डी सडकमा वास्तविक रेन्ज २० देखि ३० प्रतिशतसम्म कम पाइने हुनाले सोही अनुसार दूरीको हिसाब गर्नुपर्छ ।

गाउँ पुगेपछि होम चार्जिङको तयारी
गाउँ पुगेपछि फास्ट चार्जर नहुन सक्ने भएकाले घरमै चार्ज गर्ने पूर्वतयारी गर्नुपर्छ । गाडीसँग आउने पोर्टेबल चार्जर र गाडी अलि पर पार्क गर्नुपरेमा काम लाग्ने राम्रो गुणस्तरको एक्सटेन्सन कोड साथमै बोक्नुपर्छ ।

गाउँको घरमा प्रयोग गरिने थ्री–पिन सकेट बलियो भएको र मुख्य कुरा विद्युतीय गाडीका लागि उचित अर्थिङ छ वा छैन भन्ने सुनिश्चित गर्नुपर्छ, नत्र चार्जरले काम नगर्न सक्छ ।

कच्ची सडक, गाडीको सुरक्षा र लोड व्यवस्थापन
नेपालका ग्रामीण सडकहरू प्रायः कच्ची र खाल्डाखुल्डी हुने भएकाले गाडीको भौतिक सुरक्षाको ख्याल राख्नुपर्छ । विद्युतीय गाडीको मुख्य र महँगो ब्याट्री प्याक गाडीको तल्लो भागमै हुने भएकाले तल्लो भाग ढुंगा वा माटोमा नठोकियोस् भनी होसियारीपूर्वक गाडी हाँक्नुपर्छ ।

दशैंमा धेरै सामान र मानिस बोक्ने गरिन्छ, तर अत्यधिक लोडका कारण गाडीको ग्राउन्ड क्लियरेन्स घट्ने र गाडी तल ठोकिने जोखिम बढ्छ । साथै लामो यात्राअघि टायरको हावाको प्रेसर सही राख्नका साथै पन्चर किट वा एयर पम्प बोक्दा यात्रामा आउने सानातिना समस्याबाट जोगिन सकिन्छ ।

सजग ड्राइभिङ र आपतकालीन पूर्वतयारी
ड्राइभिङ गर्दा पहाडी बाटोमा ओरालो झर्दा रिजनेरेटिभ ब्रेकिङको प्रयोग गर्नाले गति नियन्त्रण हुनुका साथै ब्याट्री थप चार्ज हुन मद्दत पुग्छ ।

सम्म बाटोमा अनावश्क गति नबढाई निश्चित गतिमा गाडी हाँक्दा ब्याट्रीको बचत हुन्छ । यात्रा अघि आफ्नो गाडीको रोडसाइड एसिस्टेन्स र सोरुमका प्राविधिकहरूको आपतकालीन सम्पर्क नम्बर सेभ गरेर राख्नुपर्छ ।

थोरै पूर्वतयारी, धैर्यता र सजगता अपनाउन सकेमा विद्युतीय कारको दशैं यात्रा निकै आरामदायी, वातावरणमैत्री र आनन्ददायक बन्न सक्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...