दसैं नजिकिँदै गर्दा पनि खुलेन अग्रिम टिकट बुकिङ : यात्रु अन्योलमा, आज निर्णय हुन सक्ने

काठमाडौं - बडादसैं सुरु हुन अब केही दिन मात्र बाँकी छ । तर, काठमाडौं उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणका लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ अझै खुल्न सकेको छैन । सरकार र यातायात व्यवसायीबीचको अनिर्णयका कारण दसैंमा घर जाने लाखौं यात्रु अन्योलमा परेका छन्।

सामान्यतया दसैं आउनुभन्दा दुई–तीन साताअगावै यातायात व्यवस्था विभागले देशभरका लागि रुट इजाजत खुला गर्दै अग्रिम टिकट बुकिङ खुलाउने परम्परा थियो । यसपटक दसैं सुरु हुन ९ दिन मात्र बाँकी रहँदासम्म विभाग सरोकारवाला निकायहरूसँग छलफलमै अल्झिएको छ । टिकट बिक्री सुरु हुने मिति तय नहुँदा दुर्गम तथा लामो दूरीका यात्रुहरू सबैभन्दा बढी मारमा परेका छन् ।

यातायात समितिहरुले धमाधम टिकट भने दिइरहेको जानकारी बाहिर आएको छ ।तर मिति तोकेर टिकट बुकिङ खुला भने गरेको छैन् ।

अहिले पोखरा, चितवन, भैरहवाजस्ता सुगम र धेरै सवारी साधन चल्ने गन्तव्यका लागि केही निजी कम्पनीहरूले अनलाइनमार्फत टिकट बुकिङ गरिरहेका छन् । तर, यातायातको सहज पहुँच नभएका र दुर्गम क्षेत्रका लागि भने अग्रिम टिकटको कुनै टुंगो छैन ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार सरकारी निकायसँग दैनिकजसो छलफल भए पनि बुकिङ खुलाउनेबारे अझै निर्णय भइसकेको छैन । ‘दुई–तीन दिनपछिका लागि सामान्य रूपमा टिकट बिक्री भइरहेकै छ। तर, दसैं सुरु भएपछिका दिनका लागि औपचारिक रूपमा बुकिङ खुलेको छैन,‘ अध्यक्ष सिटौलाले भने, ‘अनलाइन प्ल्याटफर्मबाट आफूखुसी बुकिङ गरिएको भए त्यसको जिम्मा सम्बन्धित कम्पनीहरूले नै लिनुपर्छ ।’

यातायात व्यवसायीहरूले बाढी–पहिरोले बिग्रेका सडकहरू मर्मत गरी सञ्चालनयोग्य नबनाएसम्म अग्रिम टिकट खोल्न नसकिने अडान राख्दै आएका छन । यता सडक विभागले भने दसैं अगावै मुख्य सडकहरूको सुधार गरिसक्ने र पुल बगेका जिल्लाहरूमा वैकल्पिक मार्ग तयार पारेर सवारी सञ्चालन सहज बनाउने प्रतिबद्धता जनाएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले आउने सोमबार सरोकारवाला निकायहरूसँग निर्णायक छलफल गरेर अग्रिम टिकट बुकिङ खोल्ने मिति तय गरिने जानकारी दिएका छन् ।

पूर्वाधार विकास समितिको अनुमान अनुसार यस वर्ष दसैं मनाउन काठमाडौं उपत्यकाबाट कम्तीमा १० लाख यात्रु बाहिरिने छन् । व्यवसायीहरूका अनुसार यो संख्या अझै बढ्न सक्छ । सडक यातायातमा देखिएको अन्योलका बीच हवाई टिकट भने लगभग शतप्रतिशत बुकिङ भइसकेको छ ।

ट्राफिक प्रहरीको यात्रु सहायता कक्ष स्थापना
दसैंको समयमा यात्रुहरू नठगिउन् र सहज रूपमा यात्रा गर्न पाउन् भन्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रु सहायता कक्ष स्थापना गर्न थालेको छ । सबैभन्दा बढी यात्रुको चाप हुने नयाँ बसपार्कमा सहायता कक्षको औपचारिक उद्घाटन गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार उपत्यकाका मुख्य १४ स्थानमा सहायता कक्ष सञ्चालन गरिनेछ। नयाँ बसपार्कसहित कलंकी, नागढुंगा, बल्खु, चापागाउँ, कोटेश्वर, साँखु, चाबहिललगायत यात्रुको अत्यधिक भीडभाड हुने नाकाहरूमा यस्ता कक्षहरू रहनेछन् ।

यी सहायता कक्षमा ट्राफिक प्रहरी र यातायात कर्मचारीहरू खटिनेछन् । टिकटमा बढी भाडा लिएमा, कालोबजारी गरेमा वा यात्रुलाई कुनै पनि प्रकारको सास्ती दिएमा यात्रुले सोझै सहायता कक्षमा उजुरी दिन सक्नेछन् । प्रहरीले यात्रुका गुनासा तत्काल समाधान गर्ने र कालोबजारी तथा ठगी गर्नेलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउने जनाएको छ ।

सुरक्षा र सहजीकरणका लागि सहायता कक्ष खडा गरिए पनि मुख्य सरोकारको विषय बनेको अग्रिम टिकट बुकिङ कहिलेबाट खुल्छ भन्ने विषय भने अब सोमबार हुने सरकार र व्यवसायीबीचको बैठकले नै तय गर्ने व्यवसायीको भनाई छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...