भोटेकोशी बाढीः यातायात तथा सवारी साधनमा मात्रै पौने १३ अर्बको क्षति, ३१ करोडभन्दा बढीको सेवा नोक्सानी

काठमाडौँ - भोटेकोशीमा आएको बाढीले उत्तरी छिमेकी मुलुक चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी भन्सार र सडकमा रहेका सवारी साधन तथा यातायात क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा सार्वजनिक गरिएको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीका कारण रसुवागढी भन्सार कार्यालयमा आई पुगेका वा सडकमा रहेका यातायात र सवारी साधन क्षेत्रमा मात्रै झन्डै १३ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ ।

प्रतिवेदनको सार्वजनिक भवन तथा सुविधा सम्बन्धी विवरण अनुसार, गोसाइँकुण्ड गाउँपालिकास्थित रसुवागढी नाकामा रहेका दुईवटा मुख्य भन्सार भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । भन्सारका दुईवटा भवन र भित्र रहेका उपकरण तथा कार्यालय सामग्रीमा गरी कुल ९३ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ ।

प्रतिवेदन अनुसार बाढीले गल्छी–बेत्रावती–स्याफ्रुबेँसी–रसुवागढी सडक खण्डमा गुडिरहेका, पार्किङमा राखिएका तथा सामान ढुवानीमा रहेका सवारी साधनहरूमा ठूलो विनाश निम्त्याएको छ ।

बाढी र गेग्रान बहावले बगाएका, पुरिएका र क्षतिग्रस्त भएका सवारी साधन तथा यातायातसम्बद्ध सम्पत्तिमा मात्रै १२ अर्ब ९० करोड २५ लाख रुपैयाँ (करिब ८ करोड ५० लाख अमेरिकी डलर) बराबरको प्रत्यक्ष क्षति पुगेको प्रतिवेदनले जनाएको छ ।

बाढीका कारण सडक सञ्जाल विच्छेद भई सवारी साधन सञ्चालन हुन नसक्दा ढुवानी र यातायात व्यवसायतर्फ थप ३१ करोड ४५ लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको छ । प्रभावित यातायात व्यवसायमा सामान ढुवानी, कन्टेनर र सार्वजनिक यातायात सञ्चालन गर्ने कम्तीमा ८७ वटा यातायात प्रतिष्ठान/व्यवसायहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

व्यावसायिक क्षेत्रमा भएको कुल भौतिक क्षतिमा सवारी साधन तथा यातायात सम्पत्तिको हिस्सा होटेल व्यवसायसँगै सबैभन्दा ठूलो करिब ७३.६ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ।

चीनबाट आयात गरिएका विद्युतीय सामग्री, सवारी साधन, तयारी पोसाक, जुत्ता–चप्पल, औद्योगिक उपकरण तथा मेसिनरी बोकेका कैयौँ मालवाहक ट्रक र कन्टेनरहरू बाढीको लेदोमा पुरिएका तथा बगेका कारण यो क्षेत्रमा यति ठूलो परिमाणको वित्तीय नोक्सानी भएको प्रतिवेदनमा उल्लेख छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...