नर्वेमा ९८.७ प्रतिशत बजार विद्युतीय गाडीको, प्रमुख खेलाडी कुन ?

काठमाडौं–नर्वेको कार बजार इतिहासमै पहिलोपटक पूर्ण रूपमा विद्युतीय बन्ने दिशामा सबैभन्दा नजिक पुगेको छ ।

नर्वेजियन रोड ट्राफिक इन्फर्मेसन काउन्सिलले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गत अगस्ट महिनामा दर्ता भएका नयाँ कारमध्ये ९८.७ प्रतिशत विद्युतीय सवारी साधन रहेका छन्, जुन अहिलेसम्मकै नयाँ रेकर्ड हो ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा कुल कार बिक्रीमा केही गिरावट आए पनि विद्युतीय गाडीको हिस्सा भने उल्लेख्य रूपमा बढेको छ ।

अगस्ट महिनामा नर्वेमा कुल १३ हजार ४५१ युनिट नयाँ कार दर्ता भएका थिए, जसमध्ये अधिकांश विद्युतीय थिए । सोही अवधिमा परम्परागत इन्धनबाट चल्ने पेट्रोल कार भने मात्र ३० युनिट बिक्री भएका छन् ।

त्यस्तै ३१ युनिट हाइब्रिड र ४५ युनिट प्लग–इन हाइब्रिड गाडी बिक्री भएका छन् भने डिजेल गाडीको संख्या ६४ रहेको छ । यस तथ्याङ्कले नर्वेमा पेट्रोल तथा डिजेल गाडीको माग लगभग शून्यको स्थितिमा पुगेको देखाउँछ ।

सवारी निर्माता कम्पनीहरूको प्रतिस्पर्धामा अगस्ट महिनामा फक्सवागन पहिलो स्थानमा रहन सफल भएको छ । फक्सवागनले १ हजार ४५७ युनिट गाडी बिक्री गर्दै कुल बजारको १०.८ प्रतिशत हिस्सा ओगटेको छ ।

त्यसैगरी दोस्रो स्थानमा टोयोटा रहेको छ, जसले १ हजार ३२८ युनिट गाडी बिक्री गरेर ९.९ प्रतिशत बजार ओगटेको छ । वर्षभरिको समग्र बिक्रीमा अझै पनि टेस्ला अगाडि रहेतापनि अगस्ट महिनामा भने टेस्ला सातौँ स्थानमा झरेको छ । अगस्टमा टेस्लाले ६२७ युनिट मात्र कार बिक्री गर्न सक्यो ।

गाडीका मोडलहरूको कुरा गर्दा फक्सवागनको ‘आईडी.४’ नर्वेमा सबैभन्दा बढी बिक्री हुने मोडल बनेको छ । दोस्रो स्थानमा टोयोटाको ‘बीजेड४एक्स’ र तेस्रो स्थानमा बीएमडब्ल्यूको ‘आईएक्स३’ रहेका छन् ।

यसैबीच नर्वेको बजारमा चिनियाँ ईभी ब्रान्डहरू एक्सपेङ र बीवाईडीको उपस्थिति पनि तीव्र रूपमा बढिरहेको छ । चिनियाँ ब्रान्डहरूले आफ्नो बजार हिस्सा बढाएर ११.४ प्रतिशत पु¥याएका छन् ।

नर्वेले आफ्ना नागरिकहरूलाई पेट्रोलियम पदार्थका गाडीबाट विद्युतीय गाडीतर्फ आकर्षित गर्न लामो समयदेखि कर छुट र विभिन्न प्रोत्साहन सुविधाहरू दिँदै आएको छ । सरकारी नीतिकै कारण अहिले व्यक्तिगत सवारी साधन मात्र नभई व्यापारिक काममा प्रयोग हुने भ्यानहरूमै पनि विद्युतीय भ्यानको हिस्सा ५३ प्रतिशतभन्दा बढी पुगिसकेको छ ।

नयाँ कारको बजार लगभग पूरै विद्युतीय भइसकेकाले अब वातावरणमा हुने उत्सर्जन घटाउन पुराना पेट्रोल र डिजेल गाडीहरूलाई विस्थापित गर्नेतर्फ नर्वेको ध्यान केन्द्रित भएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...