मलेसियामा पहिलोपटक विद्युतीय गाडीको बिक्रीले उछिन्यो हाइब्रिडलाई, प्रोटोन ‘ई.मास’ सिरिजको मुख्य भूमिका

मलेसियाको विद्युतीय सवारी अर्थात इभी बजारले नयाँ रेकर्ड हासिल गरेको छ । सन् २०२६ को पहिलो छ महिनामा पहिलोपटक फुल इलेक्ट्रिक सवारी साधन अर्थात ईभीको बिक्री हाइब्रिड गाडीको बिक्री भन्दा बढी भएको छ। पछिल्ला केही वर्षसम्म कम उत्सर्जनयुक्त सवारीको बजारमा हाइब्रिड गाडीको वर्चस्व रहे पनि नयाँ विद्युतीय मोडलको आगमन, किफायती मूल्य र चार्जिङ पूर्वाधारको विस्तारसँगै उपभोक्ताको रोजाइ तीव्र रूपमा ईभीतर्फ सरेको देखिएको छ।

यो परिवर्तनको सबैभन्दा ठूलो श्रेय मलेसियाको राष्ट्रिय अटो निर्माता कम्पनी प्रोटोनको ‘ई.मास’ सिरिजलाई दिइएको छ। विशेष गरी ई.मास ५ र ई.मास ७ ले छोटो समयमै उल्लेखनीय व्यापारिक सफलता हासिल गरेका छन्। उल्लेखनीय कुरा के छ भने, प्रोटोन ई.मास ५ नेपाली बजारमा पनि उपलब्ध भएकाले मलेसियामा यसको सफलताले नेपालका उपभोक्ताको समेत ध्यान आकर्षित गरेको छ। हालै मात्र नेपाली बजारमा प्रोटोन ई.मास ५ लन्च भएको छ भने ई.मास ७ पहिले देखि नै उपलब्ध छ ।

मलेसियन अटोमोटिभ एसोसिएसन (एमएए) ले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को जनवरीदेखि जुनसम्म विद्युतीय तथा हाइब्रिड सवारीको संयुक्त बिक्री ६९ प्रतिशतले बढेर ५१ हजार ७८२ युनिट पुगेको छ। यसमध्ये फुल इलेक्ट्रिक गाडीको बिक्री १०६ प्रतिशतले वृद्धि भई २६ हजार १९२ युनिट पुगेको छ भने हाइब्रिड गाडीको बिक्री २५ हजार ५९० युनिटमा सीमित भएको छ। यससँगै मलेसियामा पहिलोपटक ईभीले हाइब्रिड गाडीलाई बिक्रीमा उछिनेको हो। कुल सवारी बिक्रीमा विद्युतीय तथा हाइब्रिड सवारीको हिस्सा पनि गत वर्षको ८.२ प्रतिशतबाट बढेर १३.४ प्रतिशत पुगेको छ।

मलेसियामा ईभीको लोकप्रियता बढ्नुमा प्रोटोनको ‘ई.मास’ सिरिज निर्णायक बनेको छ। कम्पनीले सन् २०२४ को अन्त्यमा ई.मास ७ सार्वजनिक गरेको थियो भने त्यसपछि अझ किफायती मूल्यमा ई.मास ५ बजारमा ल्याएको थियो। आम उपभोक्तालाई लक्षित गरी ल्याइएको ई.मास ५ छोटो समयमै मलेसियाको सबैभन्दा धेरै बिक्री हुने विद्युतीय सवारी बनेको छ। त्यस्तै ई.मास ७ दोस्रो स्थानमा रहँदा ई.मास ५ समग्र सवारी बिक्रीको शीर्ष १० सूचीमा समेत स्थान बनाउन सफल भएको छ। यसले विद्युतीय सवारी अब सीमित वर्गको रोजाइ मात्र नभई मुख्यधारको बजारमा स्थापित भइसकेको संकेत दिएको छ।

प्रोटोनले ‘ई.मास’ नाम मलाय भाषाको ‘एमास’ अर्थात् ‘सुन’ भन्ने शब्दबाट प्रेरित भएर राखेको हो। कम्पनीले यो ब्रान्डमार्फत मलेसियाको विद्युतीय सवारी बजारमा आफ्नो दीर्घकालीन उपस्थिति बलियो बनाउने रणनीति अपनाएको छ।

यता प्रोटोन र मलेसियाको अर्को राष्ट्रिय अटो निर्माता पेरोडुआले पनि आफ्नो बजार हिस्सा थप मजबुत बनाएका छन्। यी दुई कम्पनीको संयुक्त बजार हिस्सा एक वर्षअघि ६३ प्रतिशत रहेकामा अहिले बढेर ६७ प्रतिशत पुगेको छ। पहिलो छ महिनामा उनीहरूले संयुक्त रूपमा २ लाख ५६ हजार ३०४ सवारी बिक्री गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ९ प्रतिशत बढी हो। यसमध्ये पेरोडुआको बजार हिस्सा ४१ प्रतिशत र प्रोटोनको २६ प्रतिशत रहेको छ।

यसको विपरीत विदेशी अटोमोबाइल ब्रान्डको बिक्री ६.२ प्रतिशतले घटेर १ लाख २९ हजार ४९ युनिटमा सीमित भएको छ। उनीहरूको संयुक्त बजार हिस्सा पनि ३७ प्रतिशतबाट घटेर ३३ प्रतिशतमा झरेको छ। स्थानीय कम्पनीले प्रतिस्पर्धी मूल्यमा आधुनिक विद्युतीय सवारी उपलब्ध गराएपछि विदेशी ब्रान्डमाथि दबाब बढेको उद्योग क्षेत्रका जानकारहरूको भनाइ छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...