सवारी उद्योगमा लोकप्रिय बन्दै ओटीए प्रविधि

विश्व अटोमोबाइल उद्योग तीव्र रुपमा सफ्टवेयरद्वारा संचालित सवारी साधन प्रयोगतर्फ आकर्षित भइरहेका छन् । यसै सन्दर्भमा चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडी पनि यसतर्फ अगाडि बढेको छ ।

बीवाईडीले वायरलेस सफ्टवेयर अपडेट (ओभर–द–एयर/ओटीए) मार्फत प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्न थालेको छ। कम्पनीले सवारी बिक्रीपछि पनि नियमित सफ्टवेयर सुधार उपलब्ध गराएर गाडीको आयु बढाउने र भविष्यमा नयाँ राजस्व स्रोत सिर्जना गर्ने रणनीति अघि सारेको हो।

गत फेब्रुअरीको मध्यतिर बीवाईडीले बीवाईडी हान एल सेडानमा नयाँ ओटीए अपडेट सार्वजनिक गरेको थियो। यो मोडल सन् २०२५ अप्रिलमा ‘डाइनास्टी’ सिरिजअन्तर्गत सार्वजनिक गरिएको थियो। सार्वजनिक भएको एक वर्ष नपुग्दै उक्त गाडीमा चार पटकसम्म सफ्टवेयर अपडेट उपलब्ध गराइसकिएको कम्पनीले जनाएको छ।

नयाँ अपडेटको मुख्य विशेषता कम्पनीले हालै सार्वजनिक गरेको उन्नत ड्राइभर–असिस्टेन्स प्रणाली हो। एआई आधारित ‘इन्ड–टु–इन्ड’ प्रविधिमा आधारित यो प्रणालीले सडकको अवस्थाबारे बुझ्ने र निर्णय गर्ने प्रक्रियालाई अझ सटीक बनाउने बताइएको छ। यसका कारण जटिल सडक वातावरणमा पनि प्रणाली प्रभावकारी रूपमा प्रयोग गर्न सकिने कम्पनीको दाबी छ।

ओटीए अपडेट गर्न करिब दुई घण्टा लागे पनि प्रयोगकर्ताले गाडीलाई वर्कशपमा लैजानु नपरी घरमै बसेर नयाँ प्रविधिसहितको प्रणाली प्रयोग गर्न सक्ने सुविधा प्राप्त गर्छन्।

अहिले अटो उद्योगमा सवारीको प्रतिस्पर्धा केवल इन्जिन क्षमता वा डिजाइनमा मात्र सीमित नभई सफ्टवेयर क्षमतामा समेत निर्भर हुन थालेको छ। सवारी खरिद गरेपछि पनि नियमित अपडेटमार्फत नयाँ फिचर थप्न सकिने भएकाले यस्तो प्रविधि अटोमोबाइल उद्योगको प्रमुख प्रतिस्पर्धात्मक आधार बन्न थालेको विश्लेषकहरू बताउँछन्।

ओटीए अपडेट प्रविधिको सुरुवात अमेरिकी कम्पनी टेस्लाले गरे पनि हाल चिनियाँ अटो निर्माता कम्पनीहरूले यसलाई निकै सक्रिय रूपमा प्रयोग गरिरहेका छन्। अनुसन्धान संस्था वेजका अनुसार बीवाईडीले सन् २०२५ मा आफ्ना ‘ओसियन’ र ‘डाइनास्टी’ ब्रान्डअन्तर्गतका गाडीहरूका लागि करिब २०० पटक सफ्टवेयर अपडेट जारी गरेको थियो, जुन अन्य अटो निर्माता कम्पनीहरूको तुलनामा निकै बढी हो।

बीवाईडीले यति छिटो अपडेट उपलब्ध गराउन सक्नुको कारण कम्पनीले ओटीए प्रणालीसँग सम्बन्धित सेमिकन्डक्टर, अपरेटिङ सिस्टम तथा हार्डवेयर समेत आफ्नै रूपमा विकास गर्नु रहेको बताइएको छ। कम्पनीका अनुसार सबै प्रणाली स्वदेशमै विकास गरिएकाले आवश्यक सुधार तथा अपडेट छिटो र प्रभावकारी रूपमा लागू गर्न सम्भव भएको हो।

ओटीए प्रविधिले गाडीको जीवनचक्रसमेत परिवर्तन गरिरहेको छ। परम्परागत रूपमा कुनै मोडल सार्वजनिक भएपछि करिब दुई वर्षपछि सामान्य सुधार गरिन्थ्यो भने छदेखि सात वर्षपछि पूर्ण रूपमा नयाँ मोडल ल्याइन्थ्यो। तर सफ्टवेयर–डिफाइन्ड सवारीमा नियमित अपडेटमार्फत निरन्तर नयाँ सुविधा थप्न सकिने भएकाले गाडी लामो समयसम्म आधुनिक र प्रतिस्पर्धी रहन सक्छ।

जापानी कम्पनी टोयोटा मोटरले पनि आफ्ना प्रमुख मोडलहरूको बिक्री चक्र विस्तार गर्न ओटीए प्रविधि प्रयोग गर्ने रणनीति अघि सारेको छ। कम्पनीले भविष्यमा गाडीको पूर्ण नयाँ डिजाइन ल्याउने चक्र सात वर्षबाट बढाएर नौ वर्षसम्म पु¥याउने लक्ष्य राखेको छ।

यससँगै ओटीए भविष्यमा नयाँ व्यापार मोडलको आधार बन्न सक्ने सम्भावनासमेत देखिएको छ। चिनियाँ कम्पनी एक्सपेङले उच्च स्तरको स्वचालित ड्राइभिङ सुविधा उपलब्ध गराउन सकेमा सदस्यता (सब्स्क्रिप्सन) आधारित सेवामार्फत अतिरिक्त शुल्क लिन सकिने बताएको छ।

उता टेस्लाले पनि आफ्नो ‘फुल सेल्फ–ड्राइभिङ’ प्रणालीलाई मासिक सदस्यता मोडलमा उपलब्ध गराउन थालेको छ। यसबाट कम्पनीले गाडी बिक्रीपछि पनि स्थायी आय स्रोत सिर्जना गर्ने अपेक्षा गरेको छ।

विद्युतीय सवारीको माग वृद्धि सुस्त हुन थालेको विश्व बजारमा ओटीए जस्ता प्रविधि अब केवल सुविधा मात्र नभई अटो उद्योगको भविष्य निर्धारण गर्ने महत्वपूर्ण आधार बन्ने विश्लेषकहरू बताउँछन्।

सम्बन्धित समाचारहरू

टोयोटाको सबैभन्दा सस्तो एसयूभी राइज, कस्तो रहला नेपाली बजारमा कारोबार

टोयोटाको सबैभन्दा सस्तो एसयूभी राइज, कस्तो रहला नेपाली बजारमा कारोबार

टोयोटा गाडीको आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले...

एनआईयू इलेक्ट्रिक स्कुटरका लागि बैंकले सस्तो दरमा लोन दिने

एनआईयू इलेक्ट्रिक स्कुटरका लागि बैंकले सस्तो दरमा लोन दिने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनआईयू इलेक्ट्रिक स्कुटरको नेपालका लागि...

गत महिना हिरो इलेक्ट्रिकले बिक्री गर्यो १० हजार बढी स्कुटर, अन्यको अबस्था के ?

गत महिना हिरो इलेक्ट्रिकले बिक्री गर्यो १० हजार बढी स्कुटर, अन्यको अबस्था के ?

गत महिना भारतीय बजारमा हिरो इलेक्ट्रिकले १० हजार बढी युनिट स्कुटर बिक्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...