आकस्मिक बत्ती अर्थात हाजार्ड लाइटको सही प्रयोग: सानो अभ्यास, ठूलो सुरक्षा

नेपालका धेरै सवारी चालकहरूमा आकस्मिक बत्ती (Hazard Light) को प्रयोगबारे स्पष्ट जानकारी नहुँदा यसको जथाभावी प्रयोग भइरहेको पाइन्छ ।  यसले अन्य चालकलाई भ्रममा पार्ने मात्र होइन, दुर्घटनाको जोखिमसमेत बढाउने काम गर्दछ । सडकमा सानो गल्तीले ठूलो दुर्घटना निम्त्याउन सक्छ । यस्तै साना तर महत्वपूर्ण अभ्यासमध्ये एक हो - आकस्मिक बत्ती (Hazard Light) को सही प्रयोग ।

  आकस्मिक बत्ती भनेको सवारी साधनमा जडान गरिएको विशेष संकेत प्रणाली हो, जसले गाडी कुनै असामान्य वा जोखिमपूर्ण अवस्थामा रहेको जानकारी अरूलाई दिन्छ । यस प्रणालीमा अगाडि र पछाडिका चारै वटा मोड संकेत गर्ने (Indicator) बत्तीहरू एकैसाथ बल्छन् । यसको मुख्य उद्देश्य अन्य चालकहरूलाई "मेरो सवारी साधन सडकमा एक खतरा (Hazard) को रूपमा छ" वा "म समस्यामा छु" भन्ने जानकारी दिनु हो ।

दुवै साइडका इन्डिकेटर एकैपटक बल्ने भएकाले यो सामान्य मोड्ने संकेत भन्दा फरक हुन्छ । तर, नेपालका सडकहरूमा यसको प्रयोगलाई लिएर धेरै भ्रम र गलत अभ्यासहरू देखिन्छन् । धेरै चालकहरूले यसलाई 'सिधा जाने संकेत' वा 'झरीमा गुड्दा बाल्नुपर्ने बत्ती' का रूपमा बुझ्ने गरेका छन्, जुन पूर्णतः गलत हो ।

ट्राफिक नियम र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हाजार्ड लाइट निम्न अवस्थाहरूमा मात्र प्रयोग गर्नुपर्छ:

क) सवारी साधन बिग्रिएमा:

               यदि गुड्दागुड्दै सवारी साधन बिग्रियो र त्यसलाई सडकको बीचमा वा किनारामा रोकेर राख्नुपर्‍यो भने अन्य चालकलाई सतर्क गराउन यो बत्ती बाल्नुपर्छ । साथै गाडीभन्दा केही मिटर पछाडि 'रिफ्लेक्टिभ ट्रयाङ्गल' (Reflective Triangle) राख्नुपर्छ ।

ख) आकस्मिक अवरोध देखिएमा:

                सडकमा अचानक पहिरो, दुर्घटना वा अन्य कुनै ठूलो अवरोध देखिएर तपाईंले सवारीलाई एक्कासी रोक्नुपर्ने अवस्था आयो भने पछाडिका सवारीलाई चेतावनी दिन छोटो समयका लागि हाजार्ड लाइट प्रयोग गर्न सकिन्छ ।

ग) अत्यधिक खराब मौसम :

        अत्यधिक खराब मौसम जस्तै घना कुहिरो, भारी वर्षाका कारण कम दृश्यता  भइ रोक्नुपरेको अवस्थामा मात्र प्रयोग गर्नुपर्छ, गुडिरहेको अवस्थामा होइन । धेरैले झरीमा हाजार्ड बाल्छन्, तर यसो गर्दा पछाडिको चालकलाई तपाईंको 'ब्रेक लाइट' बलेको हो कि 'हाजार्ड' भन्ने ठम्याउन गाह्रो हुन्छ । वर्षामा कम दृश्यता हुँदा लो-बीम हेडलाइट वा फग लाइट नै उत्तम विकल्प हो ।

घ) टोइङ (Towing) गर्दा:

               यदि तपाईंको गाडी अर्को गाडीले तानेर लैजाँदै छ भने सावधानीका लागि यसको प्रयोग गर्न सकिन्छ ।

ङ)  शवयात्रा वा विशेष र्‍यालीमा:

               सुरक्षाकर्मी वा ट्राफिकको निर्देशन अनुसार विशेष परिस्थितिमा यसको प्रयोग हुन सक्छ । यी अवस्थाहरूमा आकस्मिक बत्तीले अन्य चालकलाई “सावधान रहनुहोस्” भन्ने स्पष्ट सन्देश दिन्छ ।

हाम्रो सडकमा देखिने केही साझा गल्तीहरू

  • धेरैले कम दृश्यांश (Visibility) भएको बेला यो बत्ती बालेर गुड्छन् । यसो गर्दा तपाईंले मोड्नका लागि दिने 'इन्डिकेटर' अन्य चालकले छुट्याउन सक्दैनन् र दुर्घटना हुन सक्छ । यस्तो बेला 'फग लाइट' वा हेडलाइट बाल्नुपर्छ ।
  • धेरै चालकले चौबाटो काट्दा 'म सिधा जाँदैछु' भन्न हाजार्ड लाइट बाल्छन् । यो सरासर गलत हो । सिधा जानका लागि कुनै बत्ती बाल्नु पर्दैन ।
  • धेरै चालकहरूले सडकको व्यस्त खण्ड, 'नो पार्किङ' क्षेत्र वा मोडहरूमा जथाभावी गाडी रोकेर हाजार्ड लाइट बाल्ने गरेको पाइन्छ । उनीहरूलाई लाग्छ कि यो बत्ती बालेपछि ट्राफिक नियम उल्लंघन गरे पनि छुट पाइन्छ । तर, हाजार्ड लाइट पार्किङ गर्ने अनुमति होइन । वास्तविक प्राविधिक समस्या वा आपतकालीन अवस्थाबाहेक, जथाभावी पार्किङलाई 'वैध' बनाउन यसको प्रयोग गर्नु ट्राफिक नियमको उल्लंघन र गैरजिम्मेवारी हो ।

       आकस्मिक बत्ती सुविधा मात्र होइन, जिम्मेवारी पनि हो । यसको सही प्रयोगले दुर्घटना न्यूनीकरणमा ठूलो योगदान पुर्‍याउन सक्छ भने गलत प्रयोगले जोखिम बढाउँछ । सडकमा गुड्दा नियमको पालना गर्नु केवल जरिवानाबाट बच्नु मात्र होइन, आफू र अरूको जीवन रक्षा गर्नु पनि हो ।

ट्राफिक नियम जानौँ पनि, मानौँ पनि ।

– प्र .ब.ना.नि. बिष्णु थापा       

प्रमुख - जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धपाल्चोक

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...