त्रिपुरेश्वरमा बस आगलागी: चालकले नै आगो लगाएको आशंका
काठमाडौं – काठमाडौंको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफू...
काठमाडौंको कोटेश्वरमा गत मंसिर ७ गते घटेको एक दर्दनाक घटनाले हाम्रो सार्वजनिक यातायातको असुरक्षित व्यवहारतर्फ गम्भीर ध्यानाकर्षण गराएको छ । जडीबुटीबाट बानेश्वरतर्फ जाँदै गरेको बा ३ ख ७३८७ नम्बरको गुडिरहेको बसको ढोकाबाट खसेका परिचालक सुरेन्द्र गोले आफ्नै बसको चक्काले किचिँदा ज्यान गुमाउनु पर्यो । यो घटना केवल एउटा संयोग वा एक व्यक्तिको दुर्भाग्य मात्र होइन, यो हाम्रो यातायात प्रणालीमा व्याप्त लापरवाही र 'के हुन्छ र' भन्ने सोचको घातक प्रतिफल हो ।
सवारी साधनको यात्रालाई सुरक्षित बनाउन चालक जत्तिकै ठूलो जिम्मेवारी परिचालकको पनि हुन्छ । तर व्यवहारमा हेर्दा, धेरैजसो परिचालकहरू गुडिरहेको सवारीको ढोका खुल्लै राख्ने, हतारमा यात्रु चढाउने–ओराल्ने र यात्रु तथा आफू पनि ढोकामा झुन्डिएर यात्रा गर्ने/गराउने जस्ता जोखिमपूर्ण अभ्यासमा देखिन्छन् । यसले यात्रु मात्र होइन, स्वयं परिचालकको जीवनलाई पनि क्षणभरमै अन्त्य गरिदिन सक्छ ।
सडक सुरक्षा केवल नियमको विषय होइन, यो प्रत्यक्ष रूपमा जीवनसँग जोडिएको जिम्मेवारी हो । त्यसैले, यस्ता घटनाबाट पाठ सिक्दै पुन: यस्तै पीडादायी अवस्था दोहोरिन नदिन हामीले निम्न सावधानीहरूलाई तत्काल व्यवहारमा उतार्न आवश्यक छ :
१. ढोका बन्द गर्ने संस्कृति :
पहिलो प्राथमिकता सवारी गुडिरहेको अवस्थामा ढोका सधैँ बन्द हुनुपर्छ । परिचालकले ढोकामा झुन्डिएर यात्रु बोलाउने काम पूर्णतः बन्द गर्नुपर्छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले गुडिरहेको सवारीको ढोका खुल्ला राख्नु वा ढोकामा मानिस राख्नुलाई स्पष्ट रूपमा दण्डनीय अपराध मानेको छ । त्यसैले, सवारी चल्नुअघि ढोका 'लक' गर्ने नियमलाई कडाइका साथ पालना गर्नुहोस् ।
२. हतारमा चढ्ने र ओर्लने बानीको अन्त्य :
सवारी साधन पूर्ण रूपमा स्थिर अवस्थामा नआएसम्म ढोका खोल्नु हुँदैन । परिचालकले हतारमा यात्रुलाई धकेल्ने वा तान्ने गर्नु हुँदैन । कतिपय अवस्थामा यात्रुको खुट्टा भुइँमा नटेक्दै चालकले गाडी हुइँकाउँदा पछाडिको चक्काले किच्ने उच्च जोखिम रहन्छ ।
३. परिचालकको सुरक्षित स्थान: सिँढी होइन, भित्र
परिचालक गाडीको ढोकामा झुन्डिने 'सजावटको वस्तु' होइनन् । उनीहरूको काम सवारी भित्र रहेर यात्रु व्यवस्थापन गर्नु र चालकलाई आवश्यक संकेत दिनु हो । ढोकाको सिँढीमा उभिनु कानुन र सुरक्षा दुवै हिसाबले गलत हो । अचानक ब्रेक लगाउँदा वा मोड लिँदा सन्तुलन बिग्रिएर बाहिर खस्ने सम्भावना सतप्रतिशत रहन्छ ।
४. चालक र परिचालक बीचको स्पष्ट समन्वय
सवारी साधन चलाउँदा चालक र परिचालकबीच स्पष्ट सञ्चार हुनुपर्छ । यात्रु सुरक्षित रूपमा ओर्लिएको वा चढेको सुनिश्चित भएपछि मात्र परिचालकले गाडी गुडाउन संकेत दिनुपर्छ । चालकले पनि 'लुकिङ ग्लास'को प्रयोग गरी ढोकाको अवस्था हेरेर मात्र गाडी अघि बढाउनुपर्छ ।
५. हतार र अस्वस्थ प्रतिस्पर्धालाई नियन्त्रण :
अर्को सवारीसँग यात्रु तान्ने प्रतिस्पर्धाले असुरक्षित व्यवहार बढाउँछ । याद राख्नुहोस् यात्रु वा ट्रिप भन्दा पहिला जीवन महत्त्वपूर्ण हो ।
६. यात्रुको सचेतना र खबरदारी :
यात्रुहरूले पनि गुडिरहेको गाडीमा चढ्ने वा ओर्लने प्रयास गर्नु हुँदैन । यदि परिचालकले ढोका खुल्ला राखेर गाडी चलाउन दबाब दिन्छन् भने त्यसको विरोध गर्नुहोस् । आफ्नो सुरक्षाका लागि यात्रु आफैँ पनि सजग र सचेत हुनुपर्छ ।
कोटेश्वरमा ज्यान गुमाएका परिचालकको घटना एउटा प्रतिनिधि घटना मात्र हो । यस्ता दुर्घटना रोक्न ट्राफिक प्रहरीको सक्रियता मात्र पर्याप्त हुँदैन; सवारी मजदुर र यात्रुको व्यवहारमा परिवर्तन आउनु जरुरी छ । सवारी साधन केवल गन्तव्यमा पुर्याउने साधन मात्र होइन, त्यो यात्रुको जीवन बोकेको माध्यम पनि हो । चालक, परिचालक तथा यात्रुको सानो सचेतनाले धेरै ठूला दुर्घटना टार्न सकिन्छ । कोटेश्वरजस्तो पीडादायी घटना दोहोरिन नदिन आजैदेखि व्यवहार परिवर्तन गरौँ, किनकि एक क्षणको असावधानीले जीवनभरको क्षति निम्त्याउन सक्छ ।
ट्राफिक नियम जानौँ पनि, मानौँ पनि ।
– प्र .ब.ना.नि. बिष्णु थापा
प्रमुख - जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धपाल्चोक
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...