नेपालमै गाडी उत्पादन गर्न सरोकारवालाको सुझाव, अन्य विभिन्न कानुनी अड्चन हटाउने प्रतिबद्धता

काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले विद्युतीय सवारीसाधनहरु नेपालमै उत्पादन गर्न निजी क्षेत्रसँग अनुरोध गरेका छन् । काठमाडौंमा जारी नाडा अटो शो २०२५ को अवसरमा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) र नाडाले आयोजना गरेको ‘ड्राइभिङ द फ्युचर : ईभी एडप्सन इन नेपाल’ विषयक प्यानल डिस्कसन कार्यक्रममा बोल्दै सचिव राउतले यस्तो अनुरोध गरेका हुन् ।

पछिल्लो समय केही उद्योगीहरुले नेपालमै विद्युतीय सवारीसाधनहरु एसेम्बलिङ गर्न थालेको र कतिपय उद्योगीले विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग खोल्न अनुमति मागसमेत गरेको भन्दै यसले सबैलाई राम्रो गर्ने बताए । नेपालमै गाडी उत्पादन हुने हो भने रोजगारी सिर्जना हुने र अहिले देशले भोगिरहेको व्यापार घाटा पनि कम हुने सचिव राउतले बताए ।

‘अहिले हामीले १८ खर्बमाथिको आयात गर्दा ३ खर्ब हारहारीमात्रै निर्यात गरिरहेका छौं, व्यापारघाटा नै १५ खर्ब २७ अर्ब छ’ सचिव राउतले भने, ‘आयात हुने वस्तुको पहिलो नम्बरमा नै पेट्रोलियम पदार्थ र ३/४ नम्बरमै गाडी छ, नेपालमै ईभी उत्पादन गर्न सके हामीले इन्धनको खपत कम गर्न सक्छौं र व्यापारघाटा कम हुन्छ ।’

नेपालमै उत्पादन गर्न सके व्यापारघाटा कम हुने, रोजगारीका अवसरहरु सिर्जना हुने र ठूलो मात्रामा बाहिरिरहेको विदेशी मुद्रा बाहिरिने क्रम पनि कम हुने उनको भनाइ छ । उनले ईभीका विषयमा नयाँ कानुन बन्ने चरणमा रहेको र नयाँ कानुनले अहिले देखिएका समस्याहरु पनि समाधान हुने बताए । अहिले विद्युतीय सवारी साधनका बिक्रेताहरुले दर्ता प्रक्रियादेखि सवारी परीक्षणसम्मको समस्या झेलिरहेका छन् । यी समस्याहरु समाधान गर्नका लागि प्रदेश र स्थानीय सरकार समेतलाई सहभागी गराएर पीपीपी मोडलमा लग्ने सरकारको तयारी रहेको सचिव राउतले बताए ।

काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक डा. विराजसिंह थापाले अब पेट्रोलको मात्रै होइन डिजेलको पनि विकल्पबारे बहस हुनुपर्ने बताए । इतिहासमा इन्धन गाडी भन्दा पहिले नै ईभी गाडी सडकमा गुडेको भए पनि ईभी भन्दा इन्धन नै सहज भएकाले त्यो टिकाउ भएको उनको भनाइ छ । यद्यपि पछिल्लो समय ईभीहरु एड्भान्स भएर आएकाले बजार लिइरहेको उनले बताए ।

तर अहिले निजी सवारी साधन र छोटो दुरीका सवारी साधनहरु ईभी रहेको भन्दै आजको दिनमा पनि लामो र धेरै सामान बोक्ने गाडीहरु डिजेल नै रहेको उनले बताए । अहिले साना र छोटो दूरीका थोरै भारवहन क्षमता भएका सवारी साधनमात्रै ब्याट्रीले चलिरहेका छन् । सयौं टन सामान बोक्ने ट्रक र लामो दूरीका ठूला बसहरु अहिले पनि निकै ठूलो संख्यामा कुदिरहेका छन् । पेट्रोल वा डिजेलको विकल्पका विकल्पका रुपमा हाइड्रोजन हुनसक्ने आफूहरुको अध्ययनले देखाएको उनले बताएका छन् ।

सरकारी अधिकारीहरु भन्छन् – हामी सहजीकरण गर्ने पक्षमै छौं

कार्यक्रममा भन्सार विभागका उपमहानिर्देशक अमृत लम्सालले विद्युतीय गाडी उपयोगका लागि सरकारले सहयोग नै गरेको बताए । उनले विभिन्न नीति नियमबाट सरकारले विद्युतीय गाडी प्रयोग बढाउन सहजता प्रदान गरिरहेको बताए ।

कार्यक्रममा यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीले विद्युतीय सवारीसाधनको संख्या बढ्दै गएको र यसलाई व्यवस्थित गर्न अहिले कानुनको अभाव रहेको बताए । उनले यही भदौभित्रमा नयाँ कार्यविधि जारी हुनेसमेत बताए । ‘कार्यविधिको अन्तिम चरणमा छौं, केही स्टेकहोल्डरहरुको फरक मत छ’ उनले भने, ‘हामी सबै सरोकारवालाहरुको रायसमेत समेटेर कार्यविधि जारी गर्नेछौं ।’ आगामी दिनमा सबै पक्षसँग छलफल गरेर अगाडि बढ्ने र निजी क्षेत्रलाई समेत सवारी परीक्षण गर्न दिने तयारीका साथ अगाडि बढ्ने उनको भनाइ छ ।

ईभीमा बैंकहरुले पनि राम्रै लगानी गरेका छन् : उपाध्यक्ष रेग्मी
नेपाल बैंकर्स संघका उपाध्यक्ष एवं ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विद्युतीय सवारी साधानहरुमा बैंकहरुले राम्रै लगानी गरेको बताए । उनले आगामी दिनमा पनि बैंकले ईभीलाई प्राथमिकतामा नै राख्ने बताए । सन् २००० बाट निजी सवारीसाधनका रुपमा ईभी आयात शुरु भएको तथ्यांक सुनाउँदै उनले अहिले भइरहेको प्रयोगको तथ्यांकले उत्साहित बनाउने बताए । वातावरणीय हिसाबले पनि ईभी धेरै राम्रो भएकाले बैंकहरुले प्राथमिकताका साथ लगानी गरिरहेको उनको भनाइ छ । उपाध्यक्ष रेग्मीका अनुसार ग्लोबल आइएमईले ईभीमा ऋण लगानी गर्न छुट्टै युनिट नै बनाएको छ, अन्य बैंकहरुले पनि बनाएका छन् ।

नीतिगत अस्पष्टताका कारण व्यवसायी मर्कामा
कार्यक्रममा नाडाका कार्यसमिति सदस्य एवं वातावरण समितिका सभापति कपिल शिवाकोटीले नीतिगत स्पष्टता नहुँदा व्यवसायीहरुले अहिले समस्या झेलिरहेको बताए । नाडाको ईभी समितिका सदस्य समेत रहेका उनले दर्ता तथा परीक्षणमा समेत समस्या रहेको बताए । परीक्षण गर्ने उचित विधि नहुँदा आजको मितिमा पनि सेतो गुम्बाको उकालो चढाएर परीक्षण हुनु दुखद भएको उनले सुनाए । शिवाकोटीले व्यवसायीको हक हितका लागि नाडाले निरन्तर रुपमा आवाज उठाइरहेको र लविङ गरिरहेको बताउँदै आगामी दिनमा समेत नाडा यही कार्यमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

नाडाले भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ को सन्दर्भमा प्रत्येक दिन विभिन्न विषयमा प्यानल डिस्कसन गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

हिरो मोटोकर्पले भिडा ब्रान्डमा इलेक्ट्रिक टु ह्विलर ल्याउने

हिरो मोटोकर्पले भिडा ब्रान्डमा इलेक्ट्रिक टु ह्विलर ल्याउने

हिरो मोटोकर्पले भिडा ब्रान्डको नाममा इलेक्ट्रिक टु ह्विलर उत्पादन गर्ने...

नाडामा सदस्यता नविकरण समयमै गरेको अटो पार्ट्स इन्टरनेश्नलको दाबी

नाडामा सदस्यता नविकरण समयमै गरेको अटो पार्ट्स इन्टरनेश्नलको दाबी

काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४७ औं बार्षिक साधरण सभामा...

३० लाख भारु पर्ने म्युजिक सिस्टम, जुन मूल्यमा टोयोटा फर्चुनर खरिद गर्न सकिन्छ

३० लाख भारु पर्ने म्युजिक सिस्टम, जुन मूल्यमा टोयोटा फर्चुनर खरिद गर्न सकिन्छ

भारतमा हालसालै एक नयाँ महंगो म्युजिक सिस्टम लन्च गरिएको छ । दुई प्रख्यात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...