नाडा र नाईमा अटोमेबाइल क्षेत्रको विकासप्रति प्रतिबद्ध, केही कम्पनीलाई दुबै संघको सदस्य बन्न छुट
काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा) र हालै गठन भएको नयाँ...
सवारीसाधनको कुम्भ मेला नाडा अटो शो–२०२४ भोलीदेखी काठमाडौंमा आयोजना हुँदै छ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले हरेक वर्ष आयोजना गर्ने उक्त मेलामा यसपटक विद्युतिय गाडीको बाहुल्यता रहेको संस्थाका महासचिव सुरेन्द्रकुमार उप्रेती बताँउछन् । ६ दिनसम्म चल्ने मेलाको व्यवस्थापन, नयाँ ब्राण्डको उपस्थिती र अटोमोबाइल व्यवसायमा यसले गर्ने योगदानका विषयमा केन्द्रित रही उप्रेतीसंग गरिएको कुराकानी यसप्रकार छ :
अटो शोलाई सफल रुपमा सम्पन्न गर्न नाडाको तयारी कस्तो छ ?
यसपटकको अटो शो हामीले भिन्न तवरले आयोजना गरेका छौ । मेलामा सहभागी हुने ब्राण्डको संख्या बढ्दै जाने तर मेलास्थल उहि पुरानै हुँदा स्थानको व्यवस्थापन निकै चुनौतीपूर्ण हुनेगरेको थियो । तर, यसपटक हामीले प्रदर्शनी हलसंगै रहेको गार्डेनलाई समेत प्रयोगमा ल्याउने भएका छौ । जसका कारण मेलास्थल पहिलेभन्दा व्यवस्थित हुनेछ । मेलालाई भब्य र व्यवस्थित बनाउन हामीले पार्किङमा बिशेष ध्यान दिएका छौ । यसैगरी दर्शकको सुरक्षा र सहजताका लागि पनि विशेष व्यवस्था मिलाएका छौ ।
यसपटकको अटो शो मुलतः ईभी शो हुने देखिन्छ, ईभी बाहेकका ब्राण्डको उपस्थिती कस्तो छ ?
बजारमा अहिले ईभीकै बर्चश्व बढिरहेका कारण सहभागी ब्राण्डहरु पनि अत्याधिक मात्रामा ईभी ब्राण्ड नै छन् । केही कम्पनीले ईभीसंगै पेट्रोलियम कारलाई समेत प्रदर्शन गर्ने तयारी गरेका छन् । कारमा सुजुकी बाहेक अन्य सबै ब्राण्डसंग ईभी मोडल हुनेछ । यसैगरी मोटरसाइकलमा पनि ईभी ब्रान्डकै बर्चश्व छ । कमर्शियल भेइकलमा पनि ईभीको मात्रै सहभागिता हुने भएको छ भने बिभिन्न ब्रान्डका टायर, लुब्रिकेन्ट्स, ब्याट्री, स्पेयर पार्ट्स एबं कम्पोनेन्ट्स र बैंक तथा वित्तिय संस्थाहरुको सहभागिता निकै उत्साहजनक छ ।
सवारीसाधनको तुलनामा स्पेयर पार्ट्स तथा कम्पोनेन्ट्सको सहभागिता निकै न्युन देखिन्छ, यस विषयमा के भन्नुहुन्छ ?
अटो शो मुलतः सवारीसाधनमै केन्द्रित भई आयोजना गरिने हुँदा यस्ता साधनको उपस्थिती ज्यादा हुन कुनै नौलो विषय होइन । यसका बावजुत पनि यसपटक लुब्रिकेन्ट्स, टायर र अन्य कम्पोनेन्ट्सको सहभागिता पनि बढेको छ । कतिपय कम्पोनेन्ट्स ब्राण्डले सहभागी ईच्छा देखाउँदा पनि स्थान अभावका कारण हामीले ती ब्राण्डलाई समेट्न सकेनौ । यो हाम्रो बाध्यता पनि हो ।
स्वदेशी उत्पादनको प्रबद्र्धनका लागी अटो शोमा खास व्यवस्था के गरिएको छ ?
यो विषय अटो शो आयोजक कमिटिको बैठकामा उठेको थियो । कतिपय साथीहरुले स्वदेशी उत्पादनको प्रबद्र्धनका लागि छुट्टै मेड इन नेपाल पेभिलियन हुनुपर्ने माग समेत गरेका थिए । तर, छलफल हुँदै जाँदा पछिल्लो समय अधिकांश ब्राण्डका मोटरसाइकल स्वदेशमै एसेम्वल हुन थालिसकेको र गाडीको समेत उत्पादन शुरु भैसकेका कारण छुट्टै पेभिलियन नचाहिने मत बलियो बन्न गयो । फलस्वरुप हामीले छुट्टै पेभिलियनको व्यवस्था गर्न सकेनौ । स्वदेशी उत्पादन थोरै भएकाले यसअघिका अटो शोमा छुट्टै पेभिलियन राखिएपनि पछिल्लो समय स्वदेशी उत्पादन बढेका कारण यसलाई निरन्तरता दिन सकिएन ।

नाडा अटो शोले सवारीसाधनको बिक्रीमा कस्तो प्रभाव पर्ने अनुमान गर्नुभएको छ ?
सवारी साधन बिक्रीको प्रमुख सिजन दशैँ/तिहारको नजिक पारेर आयोजना हुने कारण पनि अटो शोले गाडी र मोटरसाइकल खरिद गर्न चाहने उपभोक्तामा एक प्रकारको उल्लास नै ल्याउने गरेको छ । उक्त उल्लास यसपटक पनि देखिनेमा हामी ढुक्क छौँ । अटो शोमा यसपटक एक दर्जन बढी नयाँ ईभी लन्च हुने तय भएको छ । यसले पनि दर्शकको ध्यान यस्ता गाडीमा केन्द्रित हुने देखिन्छ । मेला स्थलबाटै यति रकम बरावरको गाडी बिक्री हुन्छ भन्नुभन्दा पनि यसको माहोलले दशैं तिहारमा बिक्री बढाउन निकै ठूलो भुमिका खेल्नेमा सबै व्यावसायी आश्वस्त छन् । अटो शोले गाडी बिक्री गर्न जोड दिने भन्दा पनि त्यस्ता गाडीको प्रबद्र्धन गर्न प्लेटफर्म प्रदान गर्ने हो । त्यसैले यसलाई कारोबार रकमसंग मात्रै जोडर हेर्नु गलत हुन्छ ।
अर्कोतर्फ गाडीसंग जोडिएर आउने बैंक तथा वित्तिय संस्थाहरुले पनि अटो शोमार्फत आफ्नो व्यापार बढाउने रणनिती बनाएका हुन्छन् । त्यसैगरी, भन्सारमा थन्किएका गाडी छुट्ने हुँदा भन्सारका कर्मचारी देखी कम्पोनेन्ट्स बिक्री गर्ने कम्पनीसम्मले समेत यसलाई चाडपर्बकै रुपमा लिने गर्छन् ।
अटोमोबाइल व्यवसायमा देखिएका समस्या समाधानका लागि नाडा नेतृत्वले केही गर्न नसकेको भन्ने आरोप समेत लाग्ने गर्छ । समस्यालाई लिएर सबै निकाय धाउँदा पनि माग सम्वोधन हुन नसक्नुलाई तपाँई कुन रुपमा लिनुहुन्छ ?
हो, अटोमोबाइल क्षेत्रमा अहिले अनगिन्ति समस्याहरु छन् । हामीले ति समस्याको उचित समाधानका लागी आफ्नो तर्फबाट गर्नुपर्ने सबै प्रयास गरिरहेका छौ । बजेट आउनुअघि अर्थ मन्त्रिदेखी प्रधानमन्त्रि सम्मलाई भेटेर आफ्नो कुरा राख्यौ । त्यसैगरी मौद्रिक नितीमार्फत सम्बोधन हुनुपर्ने कतिपय विषयका बारेमा राष्ट्र बैंकका गर्भनरदेखी अर्थमन्त्रि र प्रधानमन्त्रिसम्मै पनि मागहरु राख्यौ । तर, कुनै पनि निकायले हाम्रो माग सम्बोधन गर्न रुची देखाएनन् । हामीले आफ्नो समस्या राख्दै त्यसको उचित सम्बोधन गरिदिन माग गर्ने हो, तर त्यसलाई सम्बोधन गर्ने या नगर्ने सम्वन्धित निकायको कार्यक्षेत्रको विषय हो । यसमा हामीले हस्तक्षेप गर्नसक्ने कुरा पनि भएन ।
हामीले पहल गर्दागर्दै पनि सम्वन्धित निकायले चासो दिँदैन भने यस विषयलाई नाडा नेतृत्वको असक्षमतासंग जोडेर हेरिनु भएन । हामीले आफ्नोतर्फबाट गर्नुपर्ने सबै प्रयासहरु गर्दै आएका छौ । यातायातका साधनलाई कुनै समुहसंग जोडेर हेरिनु नै गलत छ । हामीले राखेका माग केवल अटोमोबाइल व्यवसायीसंग मात्रै सम्वन्धित नभएर आम पब्लिकको पनि सरोकारको विषय भएका कारण यसमा सरकार आँफै गम्भिर बन्नुपर्ने देखिन्छ ।
काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा) र हालै गठन भएको नयाँ...
काठमाडौं–नाडा अटो शोमा यामाहाले आफ्नो नयाँ एडभेन्चर बाचयक डब्लुआर १५५...
वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...