नेपाली बजारमा प्रभाव वढाउँदै चिनियाँ ब्रान्ड, के होला भविष्य

पछिल्लो समय नेपाली बजारमा चिनियाँ ब्रान्डका प्यासेन्जर कार भित्रिने क्रम बढिरहेको छ । पछिल्लो समयमा चीनका प्रख्यात तीन अटोमोबाइल ब्रान्ड नेपाल प्रवेश गरे । चीनको प्रख्यात ब्रान्ड चांगन, ग्रेटवाल र चेरी नेपाल भित्रिएका हुन् ।

यी तीनवटै ब्रान्डलाई नेपालको अटोमोबाइल व्यवसायमा स्थापित भैसकेका एमएडब्लु, विशाल र शारडा ग्रुपले भित्राएका हुन् ।

अटोमोबाइल व्यवसायको विस्तारमा आक्रामक बन्दै गएका यी तीन ग्रुपको रोजाइमा चिनियाँ ब्रान्ड परेपछि अहिले चिनियाँ ब्रान्डको बढ्दो प्रभावका बारेमा बहस शुरु भएको छ । त्यसो त नेपाली बजारमा चिनियाँ ब्रान्डका कार भित्रिएको यो पहिलोपटक भने होइन । डेढ दशक अघि चीनबाट थुप्रै ब्रान्डका यस्ता सवारीसाधन नेपाल भित्रिएका थिए । त्यो समय नेपाल आएका जीली, ग्रेटवाल, चेरी, लिफान, यूएफआ,े बिएडब्लु र ज्योते जस्ता ब्रान्डले एक प्रकारको प्रभाव पारिसकेका थिए । तर पछि बिस्तारै सबै ब्रान्ड बजारबाट बिलय भए । नयाँ गाडी आउन रोकिएपनि डेढ दशक अघि बिक्री भएका यस्ता गाडी अहिले पनि नेपाली सडकमा राम्रै अबस्थामा गुडिएरका छन् ।

आयातकर्ता कम्पनी बिक्रीमा मात्र केन्द्रित हुँदा सर्भिसिङ र स्पेयर पार्ट्समा समस्या देखिएपछि यी ब्रान्ड बजारबाट बिलय भएका हुन् । तर अहिले आयात भैरहेका यस्ता सवारीसाधनमा बिक्रेता कम्पनीले बिक्रीको साथसाथै बिक्री पछिको सेवामा समेत उत्तिकै जोड दिन थालेका छन् । जसका कारण चिनियाँ ब्रान्डमा उपभोक्ताहरुको आकर्षण समेत बढ्दो क्रममा छ । हाल बजारमा कारोबार भैरहेका ग्रेटवाल, एमजी, डीएफएसके, बिवाइडी, फोटोन र अन्य इलेक्ट्रिक कारहरुले सुस्त गतिमै भएपनि प्रभाव बढाउन थालिसकेका छन् ।

बिगतमा भएका कमी कमजोरीबाट पाठ सिकेर आफूहरुले नयाँ ब्रान्डलाई प्रबद्र्धन गरिरहेको यस्ता साधन आयात गर्ने कम्पनीका प्रतिनिधिहरुले बताएका छन् । डिएफएसके आयातकर्ता कम्पनी कुजु नेपालका प्रबन्ध निर्देशक उमिद श्रेष्ठले तत्कालका लागि आफूहरुको जोड बिक्री बढाउनेमा भन्दा पनि ग्राहकलाई बिक्री र बिक्री पछिको सेवामा आश्वस्त पार्नुमा बढी केन्द्रित रहेको बताए । उनले भने, ‘आजको दिनमा गाडी किन्ने ग्राहकहरु ब्रान्ड र गुणस्तरका बारेमा हामीभन्दा बढी जानकार हुनुहुन्छ । यस बिषयमा उहाँहरुलाई बुझाउन हामीले खासै मेहनत गर्नुपर्दैन । गाडी खरिद गरिसकेपछि भोलिका दिनमा सर्भिस र स्पेयर पार्ट्स नपाएर हैरानी खेप्नु नपरोस भन्ने बिषयमा ग्राहकहरु आश्वस्त हुन चाहिरहेका छन् । यस बिषयमा ग्राहकलाई आश्वस्त पार्न सक्नु नै चिनियाँ ब्रान्डका लागि प्रमुख चुनौती बनिरहेको छ ।’

श्रेष्ठको भनाइमा सहमति जनाउँदै चांगन ब्रान्डको आधिकारिक बितरक एमएडब्लु बृद्धि अटोकर्पका डिजिएम प्रशन्न पन्त भन्छन्, ‘एक दशक अघिको तुलनामा अहिले चिनियाँ ब्रान्डले निकै ठूलो फड्को मारिसकेको छ । डिजाइन, प्रविधि र खोज तथा अनुसन्धानमा चिनियाँ ब्रान्डले विश्वका चर्चित र लोकप्रिय भनिएका अन्य ब्रान्डलाई समेत पछि पार्दै गएका कारण यस्ता साधनको गुणस्तरमा ग्राहकले शंका गर्नुपर्ने कुनै कारण नदेखिएपनि बिक्री पछिको सेवामा भने आश्वस्त हुनु जरुरी छ ।’ ठूलो रकम खर्चिएर लिएको गाडीमा सानो समस्या देखिएकै कारण तनाव झेल्नु नपरोस भनेर ग्राहकले चासो व्यक्त गर्नु ठिक भएपनि बिगतलाई आधार मानेर सबै नयाँ ब्रान्डमा पहिलेको जस्तै समस्या पो आउने होकि भनेर शंका गर्नु भने उपयुक्त नहुने उनको ठहर छ । विगतमा भएका कमीकमजोरीलाई राम्रोसँग अध्ययन गरेर नै एमएडब्लुले नयाँ ब्रान्ड चांगन भित्र्याउने निधो गरेको उनले बताए ।

डिजाइन र प्रविधिमा जोड
चीन विश्वको सबैभन्दा ठूलो अटो उत्पादक र बढी सवारीसाधन खपत गर्ने राष्ट्र हो । यहाँ विश्व बजारमा कहलिएका प्रायः सबैजसो युरोपियन, अमेरिकन, जापनिज र कोरियन ब्रान्डका सवारीसाधन उत्पादन हुने गरेका छन् । एक दशक अघिसम्म चीनको बजार यी ब्रान्डका सवारीसाधनको कब्जामा थियो । तर पछि चीनले यी कम्पनीबाट हासिल गरेको प्राविधिक ज्ञानलाई आफ्नै ब्रान्डमा प्रयोग गर्न थाल्यो । साथसाथै ठूलो रकम खर्चिएर खोज तथा अनुसन्धानमा केन्द्रित बन्दै गयो । परिणामस्वरुप अहिले चीन आफ्नै ब्रान्डमा अत्याधुनिक र सुबिधासम्पन्न सवारीसाधन उत्पादन गर्ने स्थानमा पुगेको छ ।

विदेशी ब्रान्डको बर्चश्वलाई कम गर्दै आफ्नै देशको ब्रान्ड प्रवद्र्धनमा जुटेको चिनियाँ सडकमा अहिले स्वदेशी ब्रान्डका सवारीसाधनको बर्चश्व देखिन थालेको छ । यतिमात्र होइन चीनले अहिले आफ्नै देशमा विकास गरिएका नयाँ ब्रान्डलाई विश्व बजारमा बिक्री गर्न बिभिन्न मुलुकमा धमाधम उत्पादन युनिट समेत बिस्तार गर्दै लगेको छ ।

डिजाइन र प्रविधिमा फोकस देखिएको चिनियाँ ब्रान्डले भबिष्यमा बजार लिनसक्ने आँकलन गरेर अहिले नै नयाँ प्रविधिका सवारीसाधन उत्पादन गर्न थालेको छ । यस्तो प्रविधिमा अन्य उत्पादक कम्पनीले समेत जोडबल गरेपनि चिनियाँ कम्पनी बढी आक्रामक देखिएका हुन् । अहिले डिजाइन र प्रविधिको कुरा गर्दा चिनियाँ ब्रान्डको चर्चा बढी हुनेगरेको छ ।

प्रविधिकै कुरा गर्दा पछिल्लो समय चर्चामा रहेको इलेक्ट्रिक कार उत्पादनमा चीनले सबै शक्ति राष्ट्रलाई पछि पार्दै लगेको छ । यस्ता सवारीसाधनको खोज तथा अनुसन्धानमा ठूलो धनराशी खर्च गरेको चीनले अहिले हरेक दिनजसो केही न केही सुखद समचार दिइरहेको छ । चीनको सबैभन्दा ठूलो ईभी उत्पादक बिवाइडी यो मामलामा निकै आक्रमक भएर लागिपरेको छ । बिवाइडीले अहिले ब्याट्रीको क्षेत्रमा नयाँ खोज तथा अनुसन्धान गरिरहेको कारण भोलिका दिनमा यस्ता साधनको प्रयोग ब्यापक बन्ने अनुमान लगाइएको छ ।

त्यसैगरी चांगन अटोमोबाइलले हुवावे र सीएटीएलसँगको संयुक्त साझेदारीमा ‘अविता’ नामक एक उच्चस्तरीय विद्युतीय सवारी साधनको नयाँ ब्रान्ड सार्वजनिक गर्ने तयारीमा छ । यस ब्रान्डको पहिलो गाडीको नमुनालाई ‘अविता ई ११’ नाम दिइएको छ । यो ब्रान्डको गाडीहरुमा उच्चस्तरीय बौद्धिक विद्युतीय सञ्जालको प्रयोग हुनेछ, जुन चांगन, हुवावे र सीएटीएलको संयुक्त सहकार्यबाट सम्भव भएको हो ।
यो सञ्जाललाई ‘सीएचएन’ नाम दिइएको छ, जुन तीन कम्पनीको नामहरुबाट संक्षेपीकरण गरिएको हो । चांगनको सी, हुवावेको एच र निङदेशिदै अर्थात सीएटीएलको एन गरी सीएचएन बनाइएको हो । अविता ई ११ मा चांगनको उच्च स्तरीय ब्रान्ड मेटरियल प्रयोग गरी उत्पादन गरिएको छ भने हुवावेको पूर्ण स्ट्याक स्मार्ट कार सोलुसन र सीएटीएलको ब्याट्री टेक्नोलोजी । यो गाडीको नमुनालाई एक मध्यम आकारको विद्युतीय एसयूभी अर्थात मिड साइज एसयूभीको दर्जा दिइएको छ ।

नेपालमा हाल काराबोर भैरहेका बिवाइडी र एमजी लगायत अन्य ब्रान्डका इलेक्ट्रिक कारले राम्रो चर्चा बटुल्न थालेको छ भने ग्रेटवाल, चेरी र चांगन जस्ता नयाँ ब्रान्डले समेत इलेक्ट्रिक कारमा केन्द्रित भई कारोबार विस्तार गर्ने योजना बनाएका छन् ।

कस्तो रहला अबको बजार
डेढ दशकअघि एक दर्जनकै हाराहारीमा नेपाल भित्रिएर एकाएक गुमनाम बनेका चिनियाँ ब्रान्ड अहिले जुन रफ्तारमा पुनः नेपाल प्रबेश गरिरहेका छन, यसले हाल विद्यमान सवारी बजारको समीकरणमा फेरबदल ल्याउने पक्कापक्की देखाएको छ । भारतीय र कोरियन ब्रान्डको दबदबा रहेको विद्यमान अटोबजारमा चिनियाँ ब्रान्डको बर्चश्व बढ्दै जाने र यसले स्थापित मानिएका पुराना ब्रान्डको बजार हिस्सा गुम्ने अटोमोबाइल क्षेत्रका जानकारहरु बताउँछन् ।

उनीहरुका अनुसार विश्व बजारमै प्रभाव विस्तार गरिरहेको चिनियाँ ब्रान्डलाई नजिकको छिमेकी मुलुक भएको नाताले पनि नेपालमा बजार बिस्तार गर्न सजिलो हुनेछ । सोही कुरालाई मध्यनजर गर्दै नेपालका ठूला अटो ब्यवसायीले धमाधम यस्ता ब्रान्डलाई नेपाल भित्र्याउन थालेका हुन् ।

नेपालमा अबको ५ बर्षभित्र चिनियाँ ब्रान्डले राम्रै गतिमा बजार बिस्तार गर्ने अनुमान गर्न थालिएको छ । जुन विषयमा यस्ता गाडी आयात गर्ने कम्पनीहरु समेत विश्वस्त देखिन्छन । चीनले जुन रफ्तारमा गाडीको डिजाइन र प्रविधिका क्षेत्रमा उपलब्धि हासिल गर्न थालेको छ, यसले छिट्टै विश्व बजारमा प्रभाव पार्ने र यसको असर नेपालको अटोबजारमा समेत पर्ने उनीहरुको ठहर छ । अबको केही समयपछि विश्व बजारमा चिनियाँ ब्रान्डका सवारीसाधनको बर्चश्व बढ्ने निश्चित देखिएको चांगनका प्रशन्न पन्त बताउँछन् । ‘अटोमोबाइल क्षेत्रमा चीनले जुन भिजनका साथ काम गरिरहेको छ, यसले अबको केही समयपछि हाल चर्चामा रहेका युरोपियन, अमेरिकन, कोरियन, जापनिज र भारतीय ब्रान्डलाई ठूलै चुनौती पेश गर्ने देखिन्छ । यसको संकेत चांगन ब्रान्डको बढ्दो प्रभाव र बिस्तारले समेत पुष्टि गरेको छ’ उनले भने, ‘नेपाली बजारमा अबको ५ बर्षभित्र चिनियाँ ब्रान्डको प्रभाव सोचेभन्दा फरक तवरले बिस्तार हुने र यसले हाल स्थापित भनिएका अन्य ब्रान्डको बजारमा राम्रै धक्का दिनेछ ।’

पन्तको भनाइमा सहमति जनाउँदै डिएफएसकेका उमिद श्रेष्ठले चिनियाँ ब्रान्डको बजार बिस्तार गर्न सबै आयातकर्ता एकजुट भएर अघि बढ्नुपर्ने बताए । बिगतमा भएका कमी कमजोरीबाट पाठ सिकेर अघि बढ्नु पर्ने उनको सुझाब छ । कम मुल्यमा अत्यधिक बढी फिचर्स र उत्कृष्ट डिजाइन तथा उच्चतम पावर र पर्फमेन्स प्रदान गर्ने विशेषताका कारण चिनियाँ ब्रान्डलाई विश्ब बजारमै ‘भ्यालु फर मन प्रडक्ट’का रुपमा हेर्न थालिएका कारण नेपालमा समेत आफूले यी ब्रान्डको भबिष्य उज्वल देखेको श्रेष्ठले बताए ।

सम्बन्धित समाचारहरू

यस्तो छ आगामी फेस्टिभ सिजनमा नेपाल भित्रिने नयाँ इलेक्ट्रिक कार

यस्तो छ आगामी फेस्टिभ सिजनमा नेपाल भित्रिने नयाँ इलेक्ट्रिक कार

इन्डोनेसियामा उत्पादन हुने वुलिङ एयर ईभी नेपाली बजारमा भित्रिने भएको छ ।...

भाटभटेनीले सञ्चालनमा ल्यायो ११ तलामा ४४ गाडी पार्किङ गर्न सकिने नेपालकै पहिलो स्मार्ट पार्किङ

भाटभटेनीले सञ्चालनमा ल्यायो ११ तलामा ४४ गाडी पार्किङ गर्न सकिने नेपालकै पहिलो स्मार्ट पार्किङ

काठमाडौं – भाटभटेनी सुपरमार्केटको टंगाल आउटलेटमा आज देखि नेपालकै पहिलो...

एक साता सम्म लिपमोटर सी१० विशेष टेस्ट ड्राइभ कार्यक्रम आयोजना हुने

एक साता सम्म लिपमोटर सी१० विशेष टेस्ट ड्राइभ कार्यक्रम आयोजना हुने

काठमाडौं – लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...