जेठ १ देखि चारपांग्रे ट्रायल सजिलो : आफ्नै गाडी चलाउन पाइने, ७० अंक ल्याए पुग्ने

काठमाडौं – यातायात व्यवस्था विभागले लागू गर्न लागेको नयाँ नियम अनुसार अब चारपांग्रे सवारी साधनको ट्रायलमा सामान्य गल्ती गरेकै कारण परीक्षार्थी फेल नहुने भएका छन् । पुरानो निर्देशिका परिवर्तन गर्दै नयाँ निर्देशिका लागू गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सैद्धान्तिक सहमति दिइसकेको छ। सोही निर्देशिका यातायात व्यवस्था विभागले जेठ १ देखि लागू गर्ने तयारी गरेको हो। प्रयोगात्मक परीक्षामा प्रयोग हुने सवारीसाधन आफैँले व्यवस्था गर्न सक्नेछन्। यसका लागि गाडीको निश्चित मापदण्ड तय गरिएको छ । चारपांग्रे गाडीको ट्रायलमा पास हुनको लागि ७ वटा चरण पार गर्नुपर्नेछ। घुमाउरो आठ परीक्षण, स्पिड ब्रेकर, घुम्ती अर्थात् यु–टर्न परीक्षण, ट्राफिक लाइट परीक्षण, उकालो परीक्षण, ग्यारेज पार्किङ परीक्षण र व्यवहारगत पक्षको समग्र परीक्षण हुनेछ। निर्देशिकाअनुसार २० अंकभार रहेको घुमाउरो आठमा दुई पटकसम्म अंकित रेखा छोएमा फेल हुनेछैन। एकपटक रेखा छोएमा ५ अंक घट्नेछ। घुमाउरो आठमा दुई पटकभन्दा बढी अंकित रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ नबनाएमा, अगाडि बढ्ने क्रममा सवारीलाई पछाडितिर सारेमा अनुत्तीर्ण अर्थात् फेल भएको घोषणा गरिनेछ। १० अंकभार रहेको स्पिड ब्रेकरमा एक पटक स्टार्ट बन्द भएका ५ अंक घट्नेछ तर फेल हुँदैन। स्पिड ब्रेकरमा एक पटकभन्दा बढी स्टार्ट बन्द भएमा फेल हुनेछ। १० अंकभार रहेको यु–टर्नमा टर्निङ इन्डिकेटर लाइट नबालेमा १० अंक नै घट्नेछ। तर अंकित रेखा छोएमा अनुत्तीर्ण हुनेछ। १५ अंकभार रहेको ट्राफिक संकेतको पालना नगरेमा सबै अंक घट्नेछ। र्‍याम्प अर्थात् उकालोमा सामान्य गल्ती भए पनि अनुत्तीर्ण घोषणा हुनेछ। तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा, रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा बढी पछाडि सरेमा फेल हुनेछ। उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा र उकालोमा सवारीको स्टार्ट बन्द भएमा स्वतः फेल हुनेछ। उकालोमा पास भएपछि ग्यारेज पार्किङ परीक्षण पास गर्नुपर्ने हुन्छ। जसको अंकभार २० रहेको छ। ग्यारेज पार्किङको क्रममा सवारीलाई पछाडि गुडाउने क्रममा एक पटकसम्म अगाडि सारेमा १० अंक घट्नेछ। सवारीलाई पछाडि गुडाउने क्रममा एक पटकभन्दा बढी अगाडि सारेमा वा अकिंत रेखा छोएमा अनुत्तीर्ण हुनेछ। परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनको अंकभार १० रहेको छ। सवारी चलाउनुपूर्व सवारीको ब्रेक, टायर र ऐनाहरुको सामान्वय निरीक्षण नगरेमा ३ अंक घट्नेछ। सिट बेल्ट नलगाई सवारी चलाएमा ४ अंक घट्नेछ र अस्वाभाविक गतिमा वा असंयमित रुपमा सवारी चलाएमा ३ अंक घट्नेछ। १०० अंकभारमा सामान्य गल्तीको अंक घटाउँदा ७० भन्दा कम भए स्वतः फेल हुने निर्देशिकामा उल्लेख छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...