बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा चल्न थाले गाडी

म्याग्दी - गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा सवारीसाधन चल्न थालेका छन् । हालै मार्ग खुलेको बेनी–ढोरपाटन–तकसेरा जोड्ने १२२ किलोमिटर दूरीको यो सडक मध्यपहाडी लोकमार्गको बागलुङ–काँक्री खण्डको तुलनामा ५० किलोमिटर छोटो छ । बागलुङदेखि पूर्वीरुकुमको काँक्रीको दूरी १७५ किलोमिटर छ ।

पुथा उत्तरगङ्गा गाउँपालिकाको बा२झ ३५३७ नम्बरको गाडी तकसेरादेखि बिहीबार पहिलोपटक ढोरपाटन–बेनी हुँदै काठमाडौँ गएको छ । पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगर केही दिनअघि सवारी सञ्चालनको सम्भाव्यता अध्ययनका लागि यही मार्ग प्रयोग गरेर बेनी हुँदै काठमाडौँ पुगेका थिए ।

सडक मार्ग नहुँदा पोखरा हुँदै काठमाडौँ जान ढोरपाटन–बेनीको बाटो प्रयोग हुँदै आएको थियो । पुरानो पदमार्गलाई आधार मानेर खोलिएको यो सडकलाई स्तरोन्नति गर्न सकेमा पूर्वी तथा पश्चिम रुकुम, जाजरकोट र डोल्पाका बासिन्दालाई पोखरा–काठमाडौँ आवतजावत गर्न छोटो र सहज हुने अपेक्षा गरिएको छ ।

तकसेरादेखि गाडीमा करिब पाँच घण्टाको यात्रापछि धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा टोली आइपुगेको थियो । टोलीलाई गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले स्वागत गरेका थिए ।

बेनीदेखि मुना–खोरिया–मरेनी–जलजला–गुर्जाघाट हुँदै ढोरपाटन उपत्यका जोड्ने ७५ किलोमिटर सडकको गत पुसमा मार्ग खुलेको थियो । ढोरपाटन र तकसेरा सडकको यही फागुन तेस्रो सातामा मार्ग खुलेपछि हिउँदयाममा जीप र मोटरसाइकलमा यात्रा गर्न सकिने भएको छ ।

सडक स्तरोन्नति गर्न र खोलामा मोटर चल्ने पुल निर्माण गर्न बाँकी रहेको बताइएको छ । यो सडक सञ्चालनमा आएपछि ढोरपाटन, जलजला र तकसेरा घुम्न जाने पर्यटकलाई पनि सहज हुने अपेक्षा गरिएको छ । हाल प्रयोगमा रहेको बागलुङदेखि बुर्तिबाङ हुँदै ढोरपाटन जोड्ने सडकको दूरी १२६ किलोमिटर छ ।

नयाँ मार्ग खुलेको सडक स्तरोन्नति गरिएमा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पका रूपमा छोटो दूरीको सडक बन्ने सम्भावना रहेको छ । बेनीदेखि २०५५ सालमा यो सडक निर्माण सुरु गरिएको थियो ।

बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको तकसेरा जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा करिब ५० किलोमिटर छोटो भएको जनाइएको छ ।

बेनीदेखि तातोपानी–बाबियाचौर हुँदै तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकारमार्फत कालोपत्र भएको छ । प्रदेश सरकारले दरवाङदेखि ताकम–मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नतिका लागि दुईवटा शीर्षकमा योजना सञ्चालन गरेको प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले बताएका छन् ।

मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग तथा पूर्वीरुकुमसम्म जोडिने पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको यो सडकको स्तरोन्नति र कालोपत्रका लागि बजेट व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ ।

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्वीरुकुमबाट निर्वाचित पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत माघ २८ गते बेनीमा आयोजित कार्यक्रममा म्याग्दीदेखि ढोरपाटन हुँदै तकसेरा जोड्ने सडकलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग बनाउने प्रतिबद्धता जनाएका थिए ।

पूर्वीरुकुम, म्याग्दी र बागलुङको एक हजार ३२५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष हो । विश्वभरका साहसी सिकारीहरूको गन्तव्य ढोरपाटन पछिल्लो समय नेपाली पर्यटकको पनि रोजाइमा परेको छ । यो आरक्ष पर्यटनसँगै जैविक, सांस्कृतिक, पर्यटकीय तथा धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।

सम्बन्धित समाचारहरू

बाढी र पहिरोले देशभरका राजमार्ग अवरुद्ध, कुनको अवस्था कस्तो ?

बाढी र पहिरोले देशभरका राजमार्ग अवरुद्ध, कुनको अवस्था कस्तो ?

काठमाडौं – लामोसमयपछि भएको वर्षाका कारण देशभरका राजमार्ग अवरुद्ध भएका...

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन

दमौली (तनहुँ) । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने...

काठमाडौँको चक्रपथ क्षेत्रका साथै ललितपुर र भक्तपुरमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौँको चक्रपथ क्षेत्रका साथै ललितपुर र भक्तपुरमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौँ –  काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ महानगरपालिका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...