काठमाडौं उपत्यकामा सुरुङदेखि एलिभेटेड हाइवेसम्म, यस्ता हुनेछन् २२ आयोजना

काठमाडौं - काठमाडौं उपत्यकाभित्रको बढ्दो सवारी चाप र यातायात अवरोधलाई सम्बोधन गर्न जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले तयार पारेको अध्ययन प्रतिवेदनमा सडक निर्माण, स्तरोन्नति र ट्राफिक व्यवस्थापनसम्बन्धी झन्डै दुई दर्जन आयोजना प्रस्ताव गरिएका छन्। प्रतिवेदनको ‘सडक तथा ट्राफिक व्यवस्थापन’ शीर्षकअन्तर्गत उपत्यकाका चापयुक्त मार्गहरूमा नयाँ सडक निर्माण गर्नुपर्ने, केही खण्डमा नदी करिडोरसहित सडक सुधार गर्नुपर्ने र यसका लागि अल्पकालीनरूपमा नै ट्राफिक व्यवस्थापनका उपायहरू लागू गर्नुपर्ने औंल्याइएको छ।

अध्ययनले प्रस्ताव गरेका आयोजनाहरूलाई छोटो अवधि (सन् २०३२), मध्यमकालीन (सन् २०४०) र दीर्घकालीन (सन् २०५०) गरी तीन चरणमा विभाजन गरिएको छ। यीमध्ये अधिकांश आयोजनाको कार्यान्वयन जिम्मेवारी सडक विभाग (डीओआर) लाई दिइएको छ भने केही आयोजना काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयुक्त वा छुट्टाछुट्टै जिम्मामा राखिएको छ।

छोटो अवधिभित्रै सम्पन्न गर्नुपर्ने प्राथमिकतायुक्त आयोजनाहरूमा महाराजगन्ज अन्डरपास (लम्बाइ ३०८.९ मिटर), रिङरोड फैलावट (गौशाला–तीनकुने खण्ड, २,५१९.७ मिटर), बागमती नदीमा नयाँ करिडोर (थापाथली–त्रिपुरेश्वर, ९५८.३ मिटर), बागमती किनारमा रहेको कच्ची सडकको स्तरोन्नति (८०४ मिटर) र यूएन पार्क पुल फैलावट (७६.५ मिटर) पर्दछन्। यसैगरी विष्णुमती नदी, धोबीखोला र कर्मनासा, ग्वार्को तथा थापाथलीजस्ता क्षेत्रमा नयाँ पुल निर्माण, बालाजु–विष्णुमती नदी करिडोर (१,१०० मिटर) निर्माण पनि यसै चरणमा प्रस्तावित छन्।

मध्यमकालीन योजनाअन्तर्गत चावहिल–गौशाला भूमिगत सुरुङमार्ग (१,५६२.८ मिटर) र प्रमुख शाखा सडकहरूमुनि युटिलिटी करिडोर सञ्जाल (४,१६० मिटर) निर्माण गर्ने उल्लेख छ। दीर्घकालीन चरणमा भने चावहिल–बागमती नदी एलिभेटेड हाइवे (३,४०० मिटर), विष्णुमती नदी करिडोर एलिभेटेड हाइवे (३,६२०.५ मिटर) र मुख्य नोडलाई जोड्ने ११,३०० मिटर लामो सडक निर्माण गर्ने योजना रहेको छ।

प्रतिवेदनले सडक पूर्वाधारमात्र नभई ट्राफिक व्यवस्थापन र सडक सुरक्षासम्बन्धी उपायलाई पनि उत्तिकै जोड दिएको छ। ठमेल, काठमाडौं दरबार स्क्वायर र पाटन दरबार स्क्वायर क्षेत्रलाई सवारीरहित (कार–फ्री जोन) क्षेत्र घोषणा गर्ने, ७,४३४ मिटर साइकल मार्ग निर्माण गर्ने र सडक सुरक्षा आयोजना सञ्चालन गर्ने प्रस्ताव छोटो अवधिमै कार्यान्वयन गर्नुपर्ने देखाइएको छ। साथै, केन्द्रीकृत प्रणालीसहित ट्राफिक सिग्नल जडान र चोकसुधार आयोजनाअन्तर्गत छोटो अवधिमा २३ र मध्यमकालीन अवधिमा ८५ वटा चोक सुधार गरिने लक्ष्य राखिएको छ। ललितपुर महानगरपालिकाअन्तर्गत सडकबाहिर पार्किङ (अफ–स्ट्रिट पार्किङ) स्थापना गर्ने कार्य मध्यमकालीन चरणमा राखिएको छ।

यसबाहेक १,६८,६३५ मिटर लामो आपत्कालीन सडक सञ्जाल विकास गर्ने आयोजना समेत प्रतिवेदनमा समावेश छ, जुन छोटो र मध्यमकालीन दुवै चरणमा क्रमशः अघि बढाइने देखिन्छ। अध्ययनअनुसार महाराजगन्ज अन्डरपास, चावहिल–गौशाला सुरुङ, चावहिल–बागमती एलिभेटेड हाइवे, विष्णुमती करिडोर एलिभेटेड हाइवे, रिङरोड फैलावट, यूएन पार्क पुल, प्राइमरी नोड जोड्ने सडक, आपत्कालीन सडक सञ्जाल लगायतका आयोजनालाई विपद् तथा आपत्कालीन अवस्थामा प्रयोग हुने सडकका रूपमा समेत चिन्ह लगाइएको छ।

समग्रमा, जाइकाको यो अध्ययनले काठमाडौं उपत्यकाको दिगो यातायात प्रणाली निर्माणका लागि अल्प, मध्यम र दीर्घकालीन गरी चरणबद्धरूपमा पूर्वाधार विकास तथा ट्राफिक व्यवस्थापनमा लगानी गर्नुपर्ने आवश्यकतालाई देखाएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...