यसपालीको दशैंमा यातायात क्षेत्रमा देखिदै छन् यी ८ फरक

कोरोना महामारीका कारण यसपालीको दशैं विगतको जस्तो हर्षोल्लास नहुने संकेत छ । सामान्य अवस्था हुँदो हो त यतिबेला परदेशी घर फर्किने र सहरबासी गाउँ फर्कनेको लर्को देखिन्थ्यो । यद्यपि विश्वभर महामारीको रुपमा देखिएको कोरोनाका कारण यसवर्ष न परदेशी घरदेश आउन सकेका छन् नत सहरीयाहरु सहज ढंगले घर फर्कन नै पाएका छन् ।

त्यसो त यसवर्ष हरेक क्षेत्रमा कोरोनाको प्रभाव देखिएको छ । अझै बढी त यातायात क्षेत्रमा यसको प्रभाव बढी देखिन्छ । सामान्य अवस्था हुँदो हो त यतिबेला टिकट काट्नेको भीड बसपार्कका टिकट काउन्टरमा देखिन्थ्यो । यस्तै, यातायात क्षेत्रमा यसपटक देखिन सक्ने भिन्न परिस्थितिलाई यहाँ चित्रण गरिएको छ ।

खाली गाडी, सुनसान टिकट काउन्टर
यसवर्ष विगतमा जस्तो बसपार्कका टिकट काउन्टरहरु भरिभराउ छैनन् । सबै टिकट काउन्टरहरु सुनुसान छन् । सामान्य अवस्थामा दशैंको बेला बसपार्कमा टिकट अग्रिम बुकिङ गर्नेहरुको भीड देखिन्थ्यो । दशैंको टिकट हात पार्नेहरु मानौं युद्ध नै जितेजस्ता देखिन्थे । यद्यपि यसवर्ष भने बसपार्कमा रहेका बसहरु भरिन पनि मुस्किल परेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल बताउँछन् ।

छैन अग्रिम बुकिङ
विगतका वर्षहरुमा यात्रुहरुको चापलाई मध्यनजर गर्दै यातायात व्यवस्था विभाग र यातायात कम्पनीहरुले करिव १ महिना पहिला देखि नै दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिसकेका हुन्थे । तर, यसपाली भने दशैं आउन एक हप्ता बाँकी रहँदा पनि अग्रिम टिकट खुला भएको छैन । यातायात व्यवस्था विभागले २५ असोजबाट अग्रिम बुकिङ खुला गर्ने भनिए तापनि यातायात व्यवसायीहरु भने मौन रहेको देखिन्छ ।

अनलाइन टिकट
यातायात व्यवस्था विभागले यसवर्षबाट लामो तथा मध्यम दुरीका यातायातको टिकट अनलाइनमार्फत काट्ने व्यवस्था मिलाउन लागेको छ । जसले गर्दा अब दशैंमा घर जानका लागि घन्टौंसम्म टिकट काउन्टरमा लाइन बसेर टिकट काट्ने बाध्यताबाट यात्रुहरुले छुटकारा पाउँछन् । यसका लागि विभागले विभिन्न यातायात कम्पनीसँग छलफल सुरु गरिसकेको छ भने अन्य यातायात कम्पनीहरु पनि यसमा सकारात्मक भएको विभागले जनाएको छ ।

भाडामा वृद्धि
कोरोना महामारीका कारण बन्द भएका सार्वजनिक सवारी साधन सरकारले असोज १ गतेबाट खुला गर्यो । साथै, नियमित भाडामा ५० प्रतिशतले वृद्धि गरेको छ । त्यसैले यसवर्षको दशैंमा विगतको भन्दा भाडा बढी पर्न गएको छ । तर, यातायात व्यवस्था विभागले लामा तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधनको भने पुरानै भाडादर कायम गर्ने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ ।

एक लहरमा १–१ जना
सार्वजनिक यातायात खुला गरेसँगै एउटा गाडीमा ५० प्रतिशतमात्र यात्रु राख्नु पर्ने सर्त थियो । त्यसैले दशैंमा पनि एउटा लहरको एउटा सिटमा १ जनामात्रै यात्रु राख्नुपर्ने छ । यसमा भने लामो, तथा मध्यम दूरीमा चल्ने यातायात कम्पनीहरुले यसमा असन्तुष्टि जनाएका छन् ।

राजधानीबाट यसवर्ष १ चौथाईमात्र यात्रु बाहिरिने सम्भावना
कोरोना महामारीका कारण यसवर्ष विगतका दशैंमा भन्दा राजधानी काठमाडौंबाट १ चौथाईमात्र यात्रु बाहिरिने यातायात व्यवस्था विभागको आँकलन छ । विगतका वर्षहरुमा दशैंको अवसरमा करिव २२ लाख मानिसहरु दशैं मान्नका लागि गाउँ जान्थे । तर यसवर्ष भने ४ लाखको हाराहारीमा मानिसहरु काठमाडौं बाहिरिने सम्भावना छ ।

डरैडरमा यात्रा
कोरोना महामारीका कारण सार्वजनिक यातायातमा यात्रा गर्न यात्रुहरुलाई डर छ । दशैं तिहारजस्ता चाडपर्वमा हुने भीडभाडले कोरोनाको जोखिम बढ्न सक्ने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि दशैंमा गाउँघरतिर नजान आग्रह गरेको छ । त्यसैले यसवर्षको दशैंमा गाडीमा यात्रा गर्न विगतको जस्तो ढुक्क छैन ।

दुर्घटनाको जोखिम कम
चाडपर्वका बेलामा हुने अत्यधिक यात्रुका चापका कारण विगतका वर्षहरुमा धेरै दुर्घटनाका खबर सुनिन्थे । तर यसवर्ष विगतको जस्तो सवारी दुर्घटना नहुने देखिन्छ । किनभने यसवर्ष सरकारले गाडीको सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भनेको छ । त्यसैले क्षमताभन्दा बढी यात्रु राखेर हुने दुर्घटनाको जोखिम यसवर्ष कम हुन्छ ।

 

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...