हाम्रै नेपालमा : बीएमडब्ल्युको झल्को दिने चेरी एसयूभी सडकमा…….

ललितपुरको ज्वागल चोकबाट बबरमहलस्थित कार्यलयतर्फ आउँदै गर्दा बुद्धनगर चोकमा रोकेर राखिएको एउटा एसयूभीले ध्यान खिच्यो । उक्त एसयूभी बा ७ च ७७३४ नम्बरको थियो । यो गाडीले ध्यान खिच्नुको मुख्य कारण एउटै थियो, त्यो हो यसको अगाडिको क्रोम र पछाडि बीएमडब्ल्यु ब्रान्डकोे लोगोसँगै एक्स ६ टाँसेर कस्टमाइज गरिनु ।

यो गाडी बीएमडब्ल्यु ब्रान्डकै हो वा हैन भनेर छुट्याउने कौतुहलता जागेपछि मोटरसाइकललाई साइडमा रोकेर झरे । त्यसपछि गाडीको नजिकै गएर हेर्दा थाहा भयो कि यो चाइजिन ब्रान्ड चेरीको टिग्गो एसयूभी पो रहेछ, जसमा टिग्गो लेखेको धमिलो अक्षरमा प्रष्ट देख्न सकिन्थ्यो । त्यसपछि गाडीधनी नजिकै छ कि भनेर यताउती हेरे तर कोही पनि नभेटेपछि फोटो खिचेर कार्यलयतर्फ अघि बढे ।

चिनियाँ ब्रान्डका पुराना एसयूभीहरुमा टोयोटा र डाइहात्सुको लोगो लगाइएको गाडी मैले यसअघि पनि सडकमा नदेखेको त होइन । तर ती गाडीले त्यत्तिसारो ध्यान भने खिच्न सकेको थिएन । तर बीएमडब्ल्युकै लोगो लागेको यो नक्कली एसयूभीले भने मेरो ध्यान खिच्न सफल भयो । यसको प्रमुख कारण थियो बीएमडब्ल्यु हालसालै औपचारिक बिक्रेतामार्फत नेपालमा पहिलोपटक भित्रिनु ।

सडकमा गुड्ने एसयूभीहरुलाई राम्रोसँग नियालेर हेर्ने हो भने सडकमा चिनियाँ ब्रान्ड चेरी, ग्रेटवाल, ज्योते र जोनवेका एसयूभीहरुमा टोयोटा र डाइहात्सु लोगो लागेर गुडेको देख्न सकिन्छ । चेरी ब्रान्डको टियागो र जोनवे ब्रान्डको एसयुभीमा टोयोटाको लोगो सहित ¥याभफोर लेखिएको स्टिकर टांसिएका कस्टमाइज्ड एसयुभी प्रशस्त मात्रामा भेटिन्छन् । यास्ता गाडीलाई टाढाबाट हेर्दा हुबहु सक्कली ब्रान्ड जस्तै लागेपनि नजिकबाट नियाल्दा सक्कली अबतार सहजै पहिचान गर्न कठिन पर्दैन । त्यसैगरी ज्योते ब्रान्डका अधिकांश गाडीमा डाइहात्सुको लोगोमात्र लगाइएको भेटिदैन यसलाई सक्कली टेरियसकै झल्को दिने गरी कस्टमाइज गर्ने गरेको समेत भेटिन्छ ।

चिनियाँ ब्रान्डमै किन गरिन्छ यस्तो
एकदशक अघि नेपाली बजारमा चिनियाँ ब्रान्डका एसयुभी राम्रै संख्यामा भित्रिएका थिए । त्यो समयमा अहिलेको जस्तो सस्तो मूल्यमा खरिद गर्न सकिने भारतिय ब्रान्डका एसयूभीहरु बजारमा उपलव्ध थिएनन् । २० देखि ३० लाख रुपैयाँ हाराहारीमा ग्रेटवाल, चेरी र जोनवे ब्रान्डका एसयूभी सजिलै खरिद गर्न सकिन्थ्यो । यी मध्ये अधिकांश एसयूभीको लुक्स तथा डिजाइन टोयोटाका एसयुभीसँग मेल खाने गरी गरिएको थियो । यस्ता गाडीका कतिपय बिक्रेताले टोयोटा, मित्सुबिसी, इसुजु र डाइहात्सकै इन्जिन जडान भएको भ्रम समेत छर्न भ्याएका थिए ।

कम मूल्यमा आकर्षक लुक्स र त्यसमाथि नाम चलेका जापनिज ब्रान्डकै इन्जिन जडान गरिएको विश्वासमा धेरै ग्राहकले यस्ता गाडी खरिद गरे । पछि विस्तारै गाडीको पर्फमेन्स र बिक्रेता कम्पनीको बद्मासी पत्ता लागेपछि उनीहरु पछुताउन थाले । शुरुवाती समयमा ग्राहकको आँखामा छारो हाल्न सफल व्यवसायी पछि यो व्यवसायबाटै बिस्थापित भए । त्यसपछि ग्राहकले आफूसँग भएका यस्ता गाडीलाई ब्रान्डेड र उच्च स्तरको देखाउन टोयोटा, बीएमडब्ल्यु र डाइहात्सुको लोगो लगाई कस्टमाइज गर्न थाले । यसरी लोगोको खुलेआम दुरुपयोग हुँदा समेत उत्पादक र बिक्रेता कम्पनी कसैले पनि कारबाही गर्न चासो नदेखाएपछि पछिल्लो समय यो प्रवृत्तिले बढावा पाउँदै गएको देखिन्छ ।

कस्तो पर्ला ब्रान्डमा असर
बीएमडब्ल्यु र टोयोटा विश्व बजारमै कहलिएका चर्चित ब्रान्ड हुन् । यसरी अन्य गाडीमा आफ्नो लोगो खुलमखुल्ला प्रयोग हुँदा यसले टोयोटा र बीएमडब्ल्युको ब्रान्ड भ्यालु घटाउनुको साथै ग्राहकमा भ्रम समेत सिर्जना गर्न सक्छ ।

अन्तर्राष्ट्रिय बजारमा यसरी एक कम्पनीले अर्को कम्पनीको लोगो दुरुपयोग गरेको खण्डमा ठूलै कानुनी कारबाही गरिने व्यवस्था भए पनि नेपालमा भने यस विषयमा खासै ध्यान दिइएको पाइदैन । चर्चामा नरहेका ब्रान्डमा चर्चित ब्रान्डको लोगो लगाई गाडीको कस्टमाइज गर्दा यसले ब्रान्डप्रतिको विश्वसनियतामा नै कमी आउने आँकलन गर्न सकिन्छ ।

यसरी लोगो दुरुपयोग भएको ब्रान्डको उत्पादक कम्पनीले जानकारी पाएको खण्डमा यसले ठूलै समस्या सिर्जना समेत गर्नसक्छ । त्यसैले भोलिका दिनमा ठूलो समस्या आउन नदिनका लागि यस विषयमा ग्राहक र सम्वन्धित ब्रान्डको आधिकारिक बिक्रेताहरु नै सचेत बन्नुपर्ने देखिन्छ ।

तोयानाथ पौडेल

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...