जनकपुरधाम–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सञ्चालन, पहिलो दिन ४०० यात्रुले काटे टिकट
जनकपुरधाम । धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै...
सडकमा यात्रा गर्दा अगाडिको बाटो स्पष्ट देखिनु सुरक्षित यात्राको सामान्य आधार हो । तर घुम्ती वा तीव्र मोडमा पुगेपछि सडकको अर्को भाग स्पष्ट रूपमा नदेखिन सक्छ । यस्तो अवस्थालाई सामान्यतः ‘ब्लाइन्ड कर्नर’ अर्थात् अगाडिको सडकको अवस्था स्पष्ट रूपमा नदेखिने घुम्ती भनिन्छ ।
यहाँ सबैभन्दा ठूलो जोखिम के हुन्छ भने चालकले “अगाडि सडक खाली होला” भन्ने अनुमान गर्न सक्छ । तर यस्तो अनुमानमा गरिएको केही सेकेन्डको हतारोले आमनेसामने ठक्कर, सडकबाट खस्ने वा अन्य गम्भीर दुर्घटना निम्त्याउन सक्छ । विशेषगरी नेपालका पहाडी तथा घुमाउरा सडकमा ब्लाइन्ड कर्नरलाई सामान्य मोड सम्झेर तीव्र गतिमा प्रवेश गर्नु घातक हुन्छ । त्यसैले यस्ता स्थानमा देखिएपछि होइन, नदेखिँदै सावधानी अपनाउनु सुरक्षित यात्राको मुख्य नियम हो ।
यस्ता मोडमा अपनाउनुपर्ने केही महत्वपूर्ण सुरक्षा उपाय यस्ता छन् :
१. ब्लाइन्ड कर्नरअघि नै गति घटाउनुहोस्
अगाडिको सडक नदेखिने मोडमा प्रवेश गर्नुअघि नै गति कम गर्नुपर्छ । मोडमा प्रवेश गरिसकेपछि अचानक ब्रेक लगाउनुपर्ने अवस्था नआउने गरी मोडअघि नै सुरक्षित गतिमा सवारी नियन्त्रणमा राख्नु राम्रो हुन्छ । गति जति बढी हुन्छ, अगाडिबाट अचानक आएको सवारी, पैदलयात्री वा अन्य अवरोध देखिएपछि प्रतिक्रिया दिने समय त्यति नै कम हुन्छ । त्यसैले मोडको दृश्यता जति कम, गति पनि त्यति नै कम हुनुपर्छ।
२. आफ्नो लेन नछोड्नुहोस्
ब्लाइन्ड कर्नरमा सबैभन्दा महत्वपूर्ण सुरक्षा उपायमध्ये एक हो—आफ्नो लेनमै रहनु । मोड छोट्याउन वा छिटो पार गर्न सडकको अर्को लेनतर्फ काटेर जाने बानी अत्यन्त जोखिमपूर्ण हुन्छ । अगाडिबाट पनि अर्को सवारी आफ्नै लेनमा आइरहेको हुन सक्छ । दुवै चालकले एक–अर्कालाई नदेखेको अवस्थामा लेन काट्दा आमनेसामने ठक्करको सम्भावना बढ्न सक्छ ।
३. नदेखिने ठाउँमा ओभरटेक नगर्नुहोस्
ब्लाइन्ड कर्नरमा ओभरटेक गर्नु हुँदैन । अगाडिको सवारीलाई उछिन्न खोज्दा विपरीत दिशाबाट आउने सवारी देखिन ढिला हुन सक्छ । सडक खाली छ कि छैन भन्ने निश्चित नभएसम्म ओभरटेक गर्ने प्रयास गर्नु हुँदैन अहिले बाटो खाली होला" भन्ने अनुमानमा होइन, "अगाडि नदेखिएको भागमा कुनै अवरोध वा सवारी हुन सक्छ" भन्ने सोच राखेर सवारी चलाउनुपर्छ ।
४. आवश्यक संकेत दिनुहोस्
मोडमा प्रवेश गर्दा विशेषगरी अगाडिबाट आउने सवारीलाई आफ्नो उपस्थितिको सङ्केत दिनुपर्छ । रातिको समयमा वा कुहिरो लागेको बेला हर्नका साथै हेडलाइटको डिपर अनिवार्य प्रयोग गर्नुपर्छ । तर, हर्न बजाउँदैमा बाटो पूर्ण सुरक्षित भयो भन्ने ठानेर गति भने बढाउनु हुँदैन ।
५. मोड काट्दा धैर्य गर्नुहोस्
मोडमा पुगेपछि अगाडिको सडक नदेखिएसम्म सावधानीपूर्वक अघि बढ्नुहोस् । अगाडिबाट सवारी आएको देखिएमा आफ्नो लेनमै रहेर आवश्यकताअनुसार गति घटाउनुहोस् । रातको समयमा हेडलाइटको प्रकाश, वर्षा, कुहिरो वा धुलोका कारण दृश्यता अझ कम हुन सक्छ । यस्तो अवस्थामा गति थप घटाएर सवारीमाथि नियन्त्रण कायम राख्नुपर्छ ।
६. सडक खाली छ भन्ने अनुमानमा भर नपर्नुहोस्
ब्लाइन्ड कर्नरको सबैभन्दा ठूलो जोखिम नदेखिएको सडकलाई खाली ठान्नु हो । चालकले आफ्नो आँखाले देखेको भाग मात्र सडकको वास्तविक अवस्था होइन । मोडको पछाडि सवारी, पैदलयात्री, साइकल, पशु, रोकिएको गाडी वा अन्य अवरोध हुन सक्छ ।
७. कन्भेक्स मिररको उपयोग गर्नुहोस्
कतिपय जोखिमपूर्ण घुम्ती तथा ब्लाइन्ड कर्नरमा अगाडिबाट आउने सवारीको अवस्था हेर्न कन्भेक्स मिरर राखिएका हुन्छन् । त्यस्ता ऐना उपलब्ध भएमा मोडमा प्रवेश गर्नुअघि त्यसमा देखिएको अवस्थालाई ध्यानपूर्वक हेर्नुहोस् । तर ऐनामा नदेखिएको भन्दै सडक खाली छ भन्ने निष्कर्ष निकाल्नु हुँदैन । साथै, आफ्नो सवारीको साइड मिरर सफा, सही अवस्थामा र उचित रूपमा समायोजन गरिएको हुनुपर्छ ।
सडकमा गतिभन्दा नियन्त्रण र हतारभन्दा धैर्य महत्वपूर्ण हुन्छ । ब्लाइन्ड कर्नरमा सुरक्षित हुनु भनेको सम्भावित खतरालाई पहिले नै अनुमान गरेर सावधानी अपनाउनु हो । “देखिने ठाउँमा गति, नदेखिने ठाउँमा सतर्कता” भन्ने सिद्धान्त अपनाउँदा ब्लाइन्ड कर्नरमा दुर्घटनाको जोखिम धेरै हदसम्म घटाउन सकिन्छ ।
ट्राफिक नियम जानौ पनि, मानौ पनि ।
प्रहरी वरिष्ठ नायव निरीक्षक
जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...