१०२ किलोवाट आवरको ठूलो ब्याट्रीमा आयो डोङफेङको नयाँ विद्युतीय एसयूभी, मूल्य र रेन्ज कति ?

काठमाडौं–चिनियाँ अटोमोबाइल कम्पनी डोङफेङले आफ्नो नयाँ ठूलो विद्युतीय एसयूभी एपिकल्यान्ड एक्स९ सार्वजनिक गरेको छ । नोभेम्बर २७ देखि सुरु भएको २०२६ ग्वाङझाउ अटो शोमा सार्वजनिक गरिएको यो एसयूभी १०२.१५ किलोवाट आवरको एलएफपी ब्याट्रीसहित आएको हो ।

डोङफेङ र हुवावेबीचको सहकार्यमा विकास गरिएको एपिकल्यान्ड ब्रान्डअन्तर्गतको यो एसयूभी दुई भेरियन्टमा उपलब्ध हुनेछ । यसको मूल्य २ लाख ७९ हजार ८०० युआन (करिब ४१ हजार ८०० अमेरिकी डलर) देखि ३ लाख १९ हजार ८०० युआन (४७ हजार ७०० अमेरिकी डलर) सम्म तोकिएको छ ।

एपिकल्यान्ड एक्स९ मा सीएटीएलले उत्पादन गरेको १०२.१५ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्रयोग गरिएको छ । यसमा सिंगल मोटर र डुअल मोटर गरी दुई विकल्प उपलब्ध छन् । यसले सीएलटीसी मापदण्डअनुसार एकपटकको फुल चार्जमा ७०५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

त्यस्तै, डुअल मोटर अल ह्विल ड्राइभ भेरियन्टमा अगाडि १५० किलोवाट र पछाडि ३०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसको रेन्ज ६५० किलोमिटर रहेको छ ।

यसको ब्याट्रीलाई १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न १४ मिनेट मात्रै लाग्ने दाबी गरिएको छ ।

यो एसयूभीमा हुवावे क्वानकुन एडीएस ५ इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र हार्मोनीस्पेस ६ ककपिट सिस्टम उपलब्ध छ । यसमा चारवटा लाइडार सेन्सर, ७५ इन्चको एआर हेडअप डिस्प्ले र दुईवटा १७.२ इन्चका डिस्प्ले दिइएको छ ।

त्यस्तै, २१ वटा स्पिकर भएको हुवावे साउन्ड सिस्टम, वैकल्पिक जिरो ग्राभिटी सिट र २१.४ इन्चको फोल्डिङ रियर स्क्रिनसमेत उपलब्ध छ ।

एपिकल्यान्ड एक्स९ को लम्बाइ ५ हजार ३०१ एमएम, चौडाइ २ हजार १५ एमएम र उचाइ १ हजार ८२० एमएम छ। यसको ह्विलबेस ३ हजार १२० एमएम रहेको छ। यसमा २+२+२ सिट लेआउटसहित ६ जना यात्रु बस्न सक्छन् ।

यसको अर्को विशेषता डुअल चेम्बर एयर सस्पेन्सन र १४ डिग्रीसम्म घुम्न सक्ने रियर ह्विल स्टेयरिङ हो। यसले ठूलो आकारको एसयूभीलाई साँघुरो सडकमा समेत सहजै मोड्न सहयोग गर्छ ।

यसअघि सार्वजनिक भएको एक्स९ रेन्ज एक्सटेन्डेड संस्करणमा पेट्रोल इन्जिन र विद्युतीय मोटर दुवै प्रयोग गरिएको थियो । नयाँ बीईभी संस्करण भने पूर्ण रूपमा विद्युतीय प्रविधिमा आधारित छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...