खानाका कारण यात्रु बिरामी भए कारबाही गरिने

काठमाडौं - सार्वजनिक यात्रुवाहक सवारीसाधनका यात्रुले खाना खाने होटल तथा रेस्टुरेन्टमा सरसफाइको कमी, बासी तथा झिँगा भन्केका खाना, न्यून गुणस्तरका खाद्य पदार्थ र चर्को मूल्य असुलीजस्ता समस्या देखिएपछि सरकारले निगरानी र कारबाही गर्ने निर्णय गरेको छ।

पूर्वाधार विकास मन्त्रालयमा सम्बन्धित निकायका प्रतिनिधिबीच भएको बैठकले यात्रुका गुनासो सम्बोधन गर्न सार्वजनिक यातायातका चालक, होटल तथा रेस्टुरेन्ट सञ्चालक र सरोकारवाला निकायलाई जिम्मेवार बनाउने निर्णय गरेको हो।

यातायात व्यवस्था विभागले जारी गरेको सूचनाअनुसार सार्वजनिक यात्रुवाहक सवारीसाधनका चालकले यात्रुलाई सफा, स्वच्छ र गुणस्तरीय खाना उपलब्ध हुने स्थानका होटल तथा रेस्टुरेन्टमा रोक्नुपर्नेछ। सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकता दिनुपर्ने सूचनामा उल्लेख छ।

होटल तथा रेस्टुरेन्टले उपलब्ध गराउने खाना न्यून गुणस्तरको भएका कारण यात्रु बिरामी परेको पाइएमा सम्बन्धित निकायले निगरानी गरी आवश्यक कारबाही गर्ने विभागले जनाएको छ। त्यस्तो अवस्थामा सम्बन्धित सवारीसाधनका चालक तथा होटल वा रेस्टुरेन्ट सञ्चालकमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने सूचनामा उल्लेख छ।

त्यस्तै, होटल तथा रेस्टुरेन्टमा खाना, नास्ता र अन्य खाद्य पदार्थको स्वच्छता तथा गुणस्तरमा कमी पाइएमा वा मूल्यमा ठगी भएको भेटिएमा यात्रुलाई गुनासो गर्न विभागले आग्रह गरेको छ।

यात्राका क्रममा यस्तो समस्या भोग्नुपरेमा नेपाल प्रहरीको हेल्पलाइन नम्बर १०० मा फोन गरी जानकारी गराउन सकिनेछ। साथै, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा त्यसअन्तर्गतका नजिकका कार्यालयमा सम्पर्क गरेर पनि उजुरी गर्न सकिने विभागले जनाएको छ।

सार्वजनिक यातायातका यात्रुलाई स्वच्छ, गुणस्तरीय र उचित मूल्यमा खाना उपलब्ध गराउने तथा यात्राका क्रममा हुने ठगी र लापरबाही नियन्त्रण गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...